१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नवलपरासीमा पनि खरिदबिक्री

नवीन पौडेल

नवलपरासी — यहाँका किसानका खसीबोकाको किनबेच सहकारीबाट हुने गरेको छ । बिचौलियाका कारण खसीबोकाले बजार मूल्य नपाएपछि किसानले सहकारीमार्फत बिक्री वितरण सुरु गरेका हुन् ।

जिल्लाको ग्रामीण क्षेत्र र पहाडी भेगका अधिकांश किसानले व्यावसायिक बाख्रापालन गरे पनि बजार अभावको समस्या रहेको छ । बिचौलिया गाउँगाउँमा पुगेर आफू अनुकूलको मूल्यमा खरिद गर्न थालेपछि किसान मर्कामा परेका हुन् । बिचौलियाले नतौलीकन हचुवाको भरमा किन्ने गरेका छन् ।

कृषि सहकारीले किसानका खसीबोका खरिद गरी बेच्ने गरेका छन् । बाख्रापालनको पकेट क्षेत्र देउरालीमा संगम महिला समूहले देउराली कृषि तथा पशु व्यावसायिक केन्द्र स्थापना गरेर खसीबोकाको बिक्री वितरण सुरु गरेको हो । बिचौलिया ग्रामीण बस्तीमा गएर किसानलाई बजार मूल्यभन्दा कम मूल्य दिने तथा काठमाडौं पोखरा पठाउनका लागि समेत असहज हुँदा किसानहरू आफैं जागरुक भएर खसीबोका संकलन गरेर बेच्न थालेपछि उचित मूल्य पाएको स्थानीय रूपा पाण्डेले बताइन् । ‘पहाडी भेगमा अन्य खेती हँुदैन, आम्दानीको स्रोत भनेकै बाख्रा हो,’ उनले भनिन्, ‘बिचौलियाले किन्दा सस्तो किन्छन् । सहकारी आफैंले खरिद बिक्री गर्न थालेपछि बढी मूल्य पाउन थालिएको छ ।’

आसपासको बजारमा ल्याउन सवारी साधन नचलेपछि समस्यामा परेका किसानलाई सहकारीले सहज बनाइदिएको हो । सहकारीले यस वर्ष अघिल्लो वर्षभन्दा किलोमा २० रुपैयाँ मूल्य बढाएको छ । २० किलोसम्मको खसीबोकालाई प्रतिकिलो ३ सय ३०, २५ देखि ३० किलोसम्मलाई ३ सय ५५ र त्योभन्दा माथिकालाई प्रतिकिलो ३ सय ८० रुपैयाँ निर्धारण गरिएको सहकारीकी व्यवस्थापक सुशीला परियारले बताइन् । सहकारीमार्फत किनबेच हुन थालेपछि ठूला व्यवसायीलाई सहज भएको छ । गाउँमा खसीका लागि भौंतारिन नपर्ने र स्वस्थसमेत हुने भएपछि पोखरा काठमाडौंलगायतका ठूला व्यवसायीले एकै स्थानबाट सयौं खसीबोका किन्ने गरेका छन् ।

प्रकाशित : आश्विन ९, २०७४ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?