१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

दसैं खर्च जुटाउन कम मूल्यमा अलैंची बिक्री

विद्या राई

भोजपुर — आमचोक गाउँपालिका देवानटारका धनराज राईले ५५ किलो अलैंची प्रतिकिलो ६ सय ५० का दरले घोडेटार बजारका व्यापारी युवराज राईलाई बेचे ।

दसैं खर्च जुटाउन कम मूल्यमा अलैंची बिक्री

देवीमाया राईले पनि उही भाउमा ४१ किलो बेचिन् । भाउ घटे पनि दसैं खर्च जुटाउनकै लागि कम मूल्यमा बिक्री गर्नुपरेको अलैंची कृषक बताउँछन् । दुई वर्षअघि गाउँमा २ हजार ६ सय रुपैयाँसम्म मूल्य पाएको अलैंची यस वर्ष ४ गुणा घटीमा किनबेच भइरहेको छ । ‘परारभन्दा पोहोर भाउ घटयो, बढ्ला कि भनेर आश गरियो यो साल त झन घटयो,’ कृषक गणेश कार्कीले भने, ‘दसैं खर्च छैन । भाउ छैन भनेर अलैंची नबेचे केले दसैं मनाउने ?’ उनले भने । उनले पनि उही दाममा अलैंची बेचेर दसैंका लागि नुनतेल, चामल र चिउरा जोहो गरे ।

दाम पाइएला भनेर अलैंची मौज्दात राखेका कृषकहरू अन्य उपाय नपाएपछि सस्तैमा बिक्री गरेर खर्च जुटाइरहेका छन् । कतिपयको आम्दानीको स्रोत नै अलैंची हो । तर, भाउ नपाउँदा वर्षभरि खानलाउन नपुग्ने चिन्ता त छँदै छ, दसैं खर्च टार्नसमेत गाह्रो छ । गत वर्षसम्म बगानमै किनबेच हुन्थ्यो । भर्खरै टिपेको अलैंचीले पनि राम्रै भाउ पाएको थियो । व्यापारी तथा बिचौलिया घरैमा पुग्थे । अचेल बजारमा ल्याउँदासमेत बिकाउन गाह्रो छ । अलैंची कृषकलाई दसैं खर्चको पिर छ । उनीहरूलाई बजार र दाम नपाउँदाको चिन्ता मात्रै होइन दसैं खर्च नै जुटाउन मुस्किल छ । ‘भाउ पर्खेर नहुने, मूल्य पाइएन भनेर नबेचेर नहुने, दसैंमा परिवारलाई मिठोमसिनो खुवाउनैपर्‍यो, पाहुना टार्‍यो, मुटु मिचेरै भए पनि सस्तैमा बेच्नैपरेको छ,’ अलैंची कृषक चन्द्र राईले भने । उनले १ सय २० किलो अलैंची ६ सय र ७ सयका दरले बिक्री गरेका हुन् ।

उत्तरी क्षेत्रकाले दिंलामा, दक्षिणी भेगकाले घोडेटारबजारमा र पूर्व र पश्चिमकाले सदरमुकाममा व्यापारीहरूकामा बिक्री गरेर दसैं खर्च जुटाइरहेका छन् । सातायता अलैंचीको मूल्यभन्दा बिकाउने कृषकको घुइँचो लागेको छ । घोडेटारका एकजना व्यापारीकहाँ एक दिन ५ सय किलो बिक्री गरेर कृषकले दसैंका लागि सर्जाम जुटाएर घर फर्कन्छन् । ‘घाटाको व्यापार गर्ने मन त हामीलाई नि कहाँ छ र ? वर्षदिनको कमाइलाई बालुवामा बगाएजस्तै सस्तोमा बेच्नुपरेको छ, कामको झन्झट सम्झिँदा के बेचुँजस्तो, नबेचुँ त दसैं कटाउने अरू आयस्ता छैन,’ स्थानीय कृषक विष्णु खडकाले भने ।

अलैंचीले कृषकको आयआर्जन तथा अर्थतन्त्र मजबुत बनाउन टेवा पुगे पनि राज्यको स्पष्ट नीति नबन्दा र कार्यान्वयन नभएका कारण व्यवसाय धराशायी बन्दै गएको छ । अलैंची कृषक समस्यैसमस्याले जेलिएका छन् ।
मूल्यमा आएको उतावचढाव र स्थायी बजारको अभावले गर्दा बढी मात्रामा अलैंची कृषक मारमा परेको गुनासो गर्छन् । कृषि विकास कार्यालयका योजना शाखाका युकमणि भट्टराईका अनुसार जिल्लाभर दोभाने, खार्ताम्छा, मूलपानी, केउरेनीपानी, हेलौछा, श्यामशिला, चम्पे, कोट, गोगने, खावा, रानीबास, बासीखोरा, यु, बालंखा, थिदिंखा, पावलालगायत झन्डै अढाइ दर्जन बढी गाविस २ सय हेक्टर क्षेत्रफलमा अलैंची खेती हुँदै आएको छ । रामसाही, गोल्साही, डम्बरसाही, जिर्मले, चिबेसाहीलगायतका जातका अलैंचीको खेती हुने गरेको छ ।

परारको वर्ष १ सय ८० टन उत्पादन भएको अलैंची गत वर्ष १ सय ८८ टन उत्पादन भएको थियो । यस वर्ष उत्पादन १ सय ९० टन पुग्ने कार्यालयको अनुमान छ । अलैंचीप्रति कृषकको आकर्षण र उत्पादन बर्सेनि बढे पनि भाउमा गिरावट आएको छ । यहाँ उत्पादन भएको अलैंची मुख्य व्यापारिक केन्द्रहरू संखुवासभाको खाँदबारी, धनकुटा, धरान, विराटनगर, काठमाडौंमा तथा छिमेकी राष्ट्रहरू भारत, बंगलादेश, भुटानमा निर्यात हुँदै आएको छ । अलैंची मसला, औषधि, तेल र मद्यपान बनाउन प्रयोग गरिने गरेको छ ।

प्रकाशित : आश्विन १२, २०७४ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?