घरदैलोमा खसीबोका

दसैं सुरु भएसँगै दार्चुलाको मार्मा क्षेत्रका व्यापारी बैतडीका घरघरै बोका बेच्दै
खसीभन्दा बोकाको माग बढी
खगेन्द्र अवस्थी

बैतडी — दशरथचन्द नगरपालिका ३ का मोहनसिंह क्षेत्रीले आँगनमै ३ बोका किने । व्यापारी घरआँगनमै बोका बेच्न आएपछि उनले दसैंका लागि बोका किन्न टाढा जानुपरेन ।

दशरथचन्द नगरपालिका ३ का मोहनसिंह क्षेत्रीले आँगनमै ३ बोका किने । व्यापारी घरआँगनमै बोका बेच्न आएपछि उनले दसैंका लागि बोका किन्न टाढा जानुपरेन ।
पाटन नगरपालिका ९ का हरिश विष्टले पनि बोका खोज्न अन्यत्र जानुपरेन । उनले ५ हजार रुपैयाँमा घरमै बोका किने ।

दसैं सुरु भएसँगै दार्चुलाको मार्मा क्षेत्रका व्यापारी बैतडीका गाउँमा बोका बेच्न आएका छन् । दार्चुलाको लटिनाथका भीमबहादुर धामी ९० बोका लिएर गत साता बैतडी आएका थिए । उनीहरूले थरीथरीका बोका ल्याएका छन् । ‘ग्राहकले आफूलाई चाहिएको छान्छन्, ग्राहक र व्यापारी दुवैलाई सजिलो भएको छ,’ धामीले भने, ‘दार्चुलाका गाउँबाट किनेर हाम्रै गाउँबाट ६ जनाले छुट्टै टोली बनाएर बेच्न आएका छौं, अष्टमीसम्म सबै सकिन्छन् ।’

Yamaha

यहाँ दसैंमा खसीभन्दा बोकाको माग धेरै हुन्छ । नवरात्रिका बेला शक्तिपीठमा बोका र राँगाको बलि दिने चलन छ । दसैंका दिन मासुका लागि खसी काट्ने थोरै हुन्छन् । प्रायले मन्दिरमा बोकाको बलि दिएर प्रसादका रूपमा मासु खाने चलन छ । खसीभन्दा बोकाको मूल्य बढी हुन्छ । कालो बोकाको माग बढी हुने भएकाले मूल्य अझै बढी छ । ‘दसैंमा खसी बेच्न समस्या हुन्छ । बोका घरैपिच्छे किन्छन्,’ ८ वर्षदेखि बैतडीमा बोकाको व्यापार गर्दै आएका धामीले भने, ‘गाउँमै बढी मूल्य तिरेर ल्याएकाले यसपालि महँगो भएको हो ।’

सानो बोकाको मूल्य ४ हजार रुपैयाँ घटी छैन । ४ हजारदेखि १० हजार रुपैयाँसम्मका बोका ल्याएको उनले बताए । मूल्य बढी तिर्नुपरे पनि घरआँगनमै किन्न पाउँदा खोज्न जाने खर्च जोगिएको क्षेत्रीले बताए । ‘भनेअनुसार मूल्य तिरे पनि बथानबाट चाहिएको छान्यो,’ क्षेत्रीले भने ।

नवरात्रिमा सबैजसो मन्दिरमा पूजाआजा र निगलासैनी, उदयदेव, डिलासैनीलगायत मन्दिरमा जात्रा र बलि दिइने गरेको छ । बर्सेनि २ हजार बढी राँगा र ५ हजार बोका बलि हुने गरेको पशु सेवा कार्यालयको अनुमान छ ।

बोका प्रसादका रूपमा खाने र राँगा स्थानीय दलित समुदायकाले प्रसादका रूपमा खाने चलन छ । भारतको पिथौरागढ, देहरादूनसम्मका गाउँबाट पूजाआजा र बलि दिन यहाँका शक्तिपीठमा आउँछन् ।

Esewa Pasal

प्रकाशित : आश्विन १२, २०७४ ०९:०८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

दसैं खर्च जुटाउन कम मूल्यमा अलैंची बिक्री

विद्या राई

भोजपुर — आमचोक गाउँपालिका देवानटारका धनराज राईले ५५ किलो अलैंची प्रतिकिलो ६ सय ५० का दरले घोडेटार बजारका व्यापारी युवराज राईलाई बेचे ।

देवीमाया राईले पनि उही भाउमा ४१ किलो बेचिन् । भाउ घटे पनि दसैं खर्च जुटाउनकै लागि कम मूल्यमा बिक्री गर्नुपरेको अलैंची कृषक बताउँछन् । दुई वर्षअघि गाउँमा २ हजार ६ सय रुपैयाँसम्म मूल्य पाएको अलैंची यस वर्ष ४ गुणा घटीमा किनबेच भइरहेको छ । ‘परारभन्दा पोहोर भाउ घटयो, बढ्ला कि भनेर आश गरियो यो साल त झन घटयो,’ कृषक गणेश कार्कीले भने, ‘दसैं खर्च छैन । भाउ छैन भनेर अलैंची नबेचे केले दसैं मनाउने ?’ उनले भने । उनले पनि उही दाममा अलैंची बेचेर दसैंका लागि नुनतेल, चामल र चिउरा जोहो गरे ।

दाम पाइएला भनेर अलैंची मौज्दात राखेका कृषकहरू अन्य उपाय नपाएपछि सस्तैमा बिक्री गरेर खर्च जुटाइरहेका छन् । कतिपयको आम्दानीको स्रोत नै अलैंची हो । तर, भाउ नपाउँदा वर्षभरि खानलाउन नपुग्ने चिन्ता त छँदै छ, दसैं खर्च टार्नसमेत गाह्रो छ । गत वर्षसम्म बगानमै किनबेच हुन्थ्यो । भर्खरै टिपेको अलैंचीले पनि राम्रै भाउ पाएको थियो । व्यापारी तथा बिचौलिया घरैमा पुग्थे । अचेल बजारमा ल्याउँदासमेत बिकाउन गाह्रो छ । अलैंची कृषकलाई दसैं खर्चको पिर छ । उनीहरूलाई बजार र दाम नपाउँदाको चिन्ता मात्रै होइन दसैं खर्च नै जुटाउन मुस्किल छ । ‘भाउ पर्खेर नहुने, मूल्य पाइएन भनेर नबेचेर नहुने, दसैंमा परिवारलाई मिठोमसिनो खुवाउनैपर्‍यो, पाहुना टार्‍यो, मुटु मिचेरै भए पनि सस्तैमा बेच्नैपरेको छ,’ अलैंची कृषक चन्द्र राईले भने । उनले १ सय २० किलो अलैंची ६ सय र ७ सयका दरले बिक्री गरेका हुन् ।

उत्तरी क्षेत्रकाले दिंलामा, दक्षिणी भेगकाले घोडेटारबजारमा र पूर्व र पश्चिमकाले सदरमुकाममा व्यापारीहरूकामा बिक्री गरेर दसैं खर्च जुटाइरहेका छन् । सातायता अलैंचीको मूल्यभन्दा बिकाउने कृषकको घुइँचो लागेको छ । घोडेटारका एकजना व्यापारीकहाँ एक दिन ५ सय किलो बिक्री गरेर कृषकले दसैंका लागि सर्जाम जुटाएर घर फर्कन्छन् । ‘घाटाको व्यापार गर्ने मन त हामीलाई नि कहाँ छ र ? वर्षदिनको कमाइलाई बालुवामा बगाएजस्तै सस्तोमा बेच्नुपरेको छ, कामको झन्झट सम्झिँदा के बेचुँजस्तो, नबेचुँ त दसैं कटाउने अरू आयस्ता छैन,’ स्थानीय कृषक विष्णु खडकाले भने ।

अलैंचीले कृषकको आयआर्जन तथा अर्थतन्त्र मजबुत बनाउन टेवा पुगे पनि राज्यको स्पष्ट नीति नबन्दा र कार्यान्वयन नभएका कारण व्यवसाय धराशायी बन्दै गएको छ । अलैंची कृषक समस्यैसमस्याले जेलिएका छन् ।
मूल्यमा आएको उतावचढाव र स्थायी बजारको अभावले गर्दा बढी मात्रामा अलैंची कृषक मारमा परेको गुनासो गर्छन् । कृषि विकास कार्यालयका योजना शाखाका युकमणि भट्टराईका अनुसार जिल्लाभर दोभाने, खार्ताम्छा, मूलपानी, केउरेनीपानी, हेलौछा, श्यामशिला, चम्पे, कोट, गोगने, खावा, रानीबास, बासीखोरा, यु, बालंखा, थिदिंखा, पावलालगायत झन्डै अढाइ दर्जन बढी गाविस २ सय हेक्टर क्षेत्रफलमा अलैंची खेती हुँदै आएको छ । रामसाही, गोल्साही, डम्बरसाही, जिर्मले, चिबेसाहीलगायतका जातका अलैंचीको खेती हुने गरेको छ ।

परारको वर्ष १ सय ८० टन उत्पादन भएको अलैंची गत वर्ष १ सय ८८ टन उत्पादन भएको थियो । यस वर्ष उत्पादन १ सय ९० टन पुग्ने कार्यालयको अनुमान छ । अलैंचीप्रति कृषकको आकर्षण र उत्पादन बर्सेनि बढे पनि भाउमा गिरावट आएको छ । यहाँ उत्पादन भएको अलैंची मुख्य व्यापारिक केन्द्रहरू संखुवासभाको खाँदबारी, धनकुटा, धरान, विराटनगर, काठमाडौंमा तथा छिमेकी राष्ट्रहरू भारत, बंगलादेश, भुटानमा निर्यात हुँदै आएको छ । अलैंची मसला, औषधि, तेल र मद्यपान बनाउन प्रयोग गरिने गरेको छ ।

प्रकाशित : आश्विन १२, २०७४ ०९:०८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT