२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

बैंक नहुँदा गाउँपालिकामा समस्या

-जिल्लाका अधिकांश गाउँपालिकाको वित्तीय कारोवारलाई हेटौंडा धाउनुपर्ने बाध्यता
-गाउँपालिकामा सुरक्षा, इन्टरनेट सेवा र भौतिक पूर्वाधार नभएकाले बैंक स्थापना गर्न कठिनाइ
कान्तिपुर संवाददाता

हेटौंडा — जिल्लाका अधिकांश गाउँपालिकामा बैंक सेवा पुगेको छैन । बैंक नहुँदा गाउँपालिकालाई आर्थिक कारोवार गर्न समस्या भएको छ ।

जिल्लाका अधिकांश गाउँपालिकाको वित्तीय कारोवारका लागि हेटौंडा धाउनुपर्ने बाध्यता यथावत् छ । कैलाश, राक्सिराङ, इन्द्रसरोवर, मकवानपुरगढी र बागमती गाउँपालिकामा बैंक सेवा छैन । बकैया र मनहरी गाउँपालिकामा एकएक वटा निजी बैक छन् । मनहरीमा स्थानीय तहको निर्वाचनपछि बैंक स्थापना भएको हो । ‘बैंक अभावले गाउँपालिकालाई आर्थिक कारोवार गर्न समस्या भएको छ,’ कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले भने, ‘सानोतिनो कारोवार गर्न पनि हेटौंडा पुग्नैपर्ने अवस्था छ ।’

गाउँपालिकाले सामुदायिक विद्यालयको शिक्षक, कर्मचारी, स्वास्थ्य, कृषि र भेटनरीका कर्मचारीलाई मासिक तलब उपलब्ध गराउनुपर्छ ।

बैंक नभएकाले मासिक तलब होस् वा अन्य आर्थिक कारोवार गर्न सदरमुकाम धाउनुपर्छ । गाउँपालिकाले हेटौंडास्थित राष्ट्रिय वाणिज्य र नेपाल बैंकबाट कारोवार गर्दै आएको छन् । सरकारले गाउँपालिका क्षेत्रमा साउनभित्रमा बैंक स्थापना हुने बताए पनि अधिकांश गाउँपालिकामा असोज बित्न लाग्दा पनि स्थापना भएका छैनन् ।

गाउँपालिका रहेको स्थानमा सुरक्षा, इन्टरनेट सेवा र भौतिक पूर्वाधार नभएकाले बैंक स्थापना गर्न कठिनाइ भएको हो । कैलाश र मकवानपुरगढी गाउँपालिकामा शाखा स्थापना पनि पूर्वाधार नभएकाले हुन सकेको छैन । बैंक अभावले तलबबाहेक आर्थिक कारोवार गर्न घण्टौं हिँडेर हेटौंडा आउनुपर्ने कैलाश गाउँपालिकास्थित कृषिका कर्मचारीले बताए । पूर्वाधार अभावमा अधिकार प्रयोग गर्न गाउँपालिकालाई समस्या छ ।

बैंकले शाखा स्थापना गर्न आवश्यक पूर्वाधारको अभाव भएकाले गर्न नसकेको जनाएको छ ।

प्रकाशित : आश्विन १८, २०७४ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?