३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

मेलम्चीको पानी चैतमा

कान्तिपुर संवाददाता

काठमाडौं — बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाले सुरुङ खन्न अझै १६ सय मिटर बाँकी रहेको छ । पुससम्ममा सुरुङ खन्ने काम सम्पन्न गरेर चैत अन्तिमसम्ममा मेलम्चीको पानी उपत्यका ल्याउने आयोजनाको दाबी छ ।

‘दैनिक २०/२५ मिटर सुरुङ खन्ने प्रतिबद्धता ठेकेदारले जनाएको छ,’ आयोजनाका उपनिर्देशक रमाकान्त दुवाडीले भने, ‘यस वर्षभित्रै पानी आउँछ, अब निराश हुने अवस्था छैन ।’ 

पुसभित्र ‘ब्रेक थ्रो’ गरेर सुरुङ ढलान गर्न थप ४ महिना चाहिने उनले बताए । आयोजनाका अनुसार सिन्धु–ग्यालथुम (९ सय मिटर), ग्यालथुम–अम्बाथान (७ सय मिटर) सुरुङ खन्न बाँकी छ । सिन्धु–ग्यालथुम पुस र अम्बाथान–ग्यालथुङ मंसिरभित्रमा ब्रेक थ्रो हुने उनले बताए । 

सिन्धुदेखि ग्यालथुम खण्डको भौगर्भिक अवस्था कमजोर भएकाले सोचेजति गतिमा सुरुङ खन्न नसकिएको उनले बताए । ‘यस खण्डमा (सिन्धु–ग्यालथुङ) भौगर्भिक हिसाबले निकै कठिन छ, चट्टान कमजोर छ,’ उनले भने, ‘अम्बाथान–ग्यालथुम ब्रेक थ्रो चाँडो हुन्छ ।’ सुन्दरीजलदेखि सिन्धुसम्म करिब ९ किमि सुरुङ खन्ने काम ९ महिनाअघि सम्पन्न भइसकेको छ । त्यस खण्डमा ढलान गर्ने काम पनि भइरहेको उनले जानकारी दिए । हाल दैनिक १८ मिटर जति सुरुङ खन्ने काम भइरहेको उनले बताए । 

पुराना औजार, कमजोर भूगोल लगायतका कारणले सुरुङ खन्न ढिलाइ भएको दाबी उनको छ । ‘हाल ठेकेदारले नयाँ औजार ल्याएको छैन, हामीले नयाँ औजार ल्याउन निर्देशन दिएका छौं, अब ल्याउँछ होला,’ उनले भने, ‘सुरुङ खन्नुमात्र ठूलो कुरा होइन, भित्री संरचना बलियो बनाउनुपर्छ, आरसीसी ढलान गरेर मात्र पानी ल्याउनुपर्ने हुन्छ ।’ सुरुङ खन्ने काम सकिनेबित्तिकै पानी नआउने उनको भनाइ छ ।

सिन्धु–सुन्दरीजल खण्ड सबैभन्दा लामो सुरुङ हो । ‘त्यो जोडिइसक्यो, सम्पूर्ण सुरुङको ८८ प्रतिशत काम पूरा भइसकेको छ,’ उनले भने । तीनवटा अडिटमध्ये सुन्दरीजल–सिन्धु (साढे ९ किमि), सिन्धु–ग्यालथुम (८ किमि) र ग्यालथुम–अम्बाथान अडिट (९ किमि) छन् । 

त्यसैगरी ३ स्थानमा सुरुङभित्रको हावा बाहिर निकाल्न भेन्टिलेटर निर्माणका लागि जग्गा मुआब्जा तथा अन्य कानुनी प्रक्रिया पनि पूरा गरिसकिएको उनले बताए । सिन्धु, शिवपुरी वन्यजन्तु आरक्ष र ग्यालथुम खण्डमा भेन्टिलेटर निर्माण हुने आयोजनाले जनाएको छ । 

‘ठेकेदारले भेन्टिलेटर निर्माण गर्न औजार ल्याउँदै छ,’ उनले भने । दोस्रो चरणमा यांग्री र लार्के खोलाबाट पानी ल्याउने तयारीसमेत भइरहेको उनले जानकारी दिए । ‘१ वर्षभित्र यांग्री र लार्के खोलामा सुरुङको डीपीआर तयार हुन्छ,’ उनले भने, ‘डीपीआर तयार हुने बित्तिकै निर्माण अघि बढ्छ ।’

मेलम्चीबाट यांग्रीबीचको सुरुङको लम्बाइ ९ किमि र यांग्री–लार्केबीचको सुरुङको लम्बाइ करिब २ किमि रहेको आयोजनाले जनाएको छ । यांग्रीसम्म सडकको पहुँच भए पनि लार्केमा पुर्‍याउन कठिन रहेको उनले बताए । ‘सडक ट्रयाक खोलिसकेका छौं, पुललगायत सडकको टेन्डर पनि अब चाँडै हुन्छ,’ उनले भने । मेलम्चीदेखि लार्केबीचको सुरुङको लम्बाइ ११ किमि छ । मेलम्चीबाट आउने दैनिक १७ करोड लिटर पानी ट्यांकीमार्फत उपत्यकाका ३५ लाखभन्दा बढी जनतालाई समानुपातिक ढंगले वितरण गरिने उनले बताए ।

१७ करोड मेलम्ची, १७ करोड यांंग्री र १७ करोड लार्के खोलाबाट गरी दैनिक ५१ करोड लिटर पानी उपत्यकामा ल्याइनेछ । 

हाल काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले सुन्दरीजललगायत विभिन्न स्थानबाट ल्याएको पानी वितरण गर्दै आएको छ । केयूकेएलले उपत्यकामा दैनिक ३८ करोड लिटर पानी आवश्यक भए पनि १२ करोड लिटर मात्र आपूर्ति गर्दै आएको छ । बर्खामा भने उपत्यकामा १७ करोड लिटर पानी आपूर्ति हुन्छ । उनका अनुसार ८० हजार धारामध्ये ४० हजार जडान गरिसकिएको छ ।

प्रकाशित : आश्विन २०, २०७४ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?