२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

घोरदह र मुतनीको पुल निर्माणमा ढिलाइ

दिनेश यादव

फकिरा (सप्तरी) — जिल्लाको दक्षिणवर्ती क्षेत्रमा पर्ने घोरदह र मुतनी नदीमा पुल बन्न थालेको करिब ६ वर्ष भइसक्दा पनि निर्माण पूरा हुन सकेको छैन । स्थानीय विकास अधिकारी र ठेकेदारको लापरबाहीले पुन बन्न नसकेको त्यस भेगका सर्वसाधारण बताउँछन् ।

 घोरदह र मुतनीको पुल निर्माणमा ढिलाइ

उनीहरू भन्छन्, ‘यसमा स्थानीय नेता तथा पार्टीका कार्यकर्ताहरू पनि कम दोषी छैनन् । निर्धारित समयमै पुल नबन्नुको अन्य कारणहरूमा बजेटमा दलगत भागबन्डा र सम्बन्धित निकायबाट रकम निकासामा ढिलाइ हुनु पनि हो ।’ तर स्थानीय तहको चुनावपछि नयाँ जनप्रतिनिधिहरू निर्वाचित भइसकेकाले अब पुल बन्नेमा उनीहरू आशावादी देखिएका छन् । फकिरा टोलका सञ्जय राम भन्छन्, ‘नवनिर्वाचित प्रतिनिधिहरूले अब चाहिँ विकास निर्माणमा ध्यान देला भन्ने जनताको अपेक्षा हो । अब यस क्षेत्रमा पुल र बाटोघाटोको निर्माण पक्कै होला ।’ कुरनमा टोलका विन्देश्वर सुतिहारको धारणा पनि उस्तै छ । ‘झन्डै २० वर्षसम्म स्थानीय तह जनप्रतिनिधिविहीन भएकाले विकास निर्माण ठप्प रह्यो, अब त्यसो नहोला,’ उनले भने । 

सप्तरीको दक्षिण भेगमा पर्ने बरदाही, कुरनमा, फकिरा, इनरवा, मोहनपुर, रम्पुरालगायतका गाउँहरू विकास निर्माणमा निकै पछाडि रहेको स्थानीय बुद्धिजीवी भोलाप्रसाद यादव बताउँछन् । ‘यी गाउँका बासिन्दा वर्षादको समयमा वर्षको चार महिना गाउँमै थुनिन्छन् । हिलाम्मे कच्ची बाटो र त्यसमा बग्ने पानीको भेलले बाहिर निस्कनै गाह्रो पर्छ,’ उनी भन्छन्, ‘इमरजेन्सी पर्दा सर्वसाधारणले भगवान् भरोसे बस्नुपर्ने बाध्यता छ । बाँकी महिना जसोतसो बाहिर निस्कने गर्छन् ।’ यादवका अनुसार गाउँमा विकासका लागि आएको बजेट जति उपभोक्ता समितिमा बसेकाहरूले दलगत भागबन्डा गर्छन् । उनी थप्छन्, ‘आर्थिक वर्षको अन्तिम समयमा रकम निकासा हुने र कमिसनको चक्करमा भएभरको बाटोमा बालुवा र गिलो माटो थुपारेर रकम कुम्ल्याउने परिपाटी छ । कतै–कतै कनिका छरेझैं नाममात्रको ग्राभेल हाल्छन्, केही साताभित्रै कच्ची बाटो फेरि जस्ताको त्यस्तै बन्न पुग्छ, सर्वसाधारण पहिले जस्तै सास्ती खेप्न बाध्य हुने गरेका छन् ।’ फकिरा नहर टोलका मोहम्मद लालो शेखका अनुसार गाउँमा रेमिट्यान्स भित्रिएसँगै नयाँ–नयाँ मोबाइल र मोटरसाइकल खरिद गर्नेहरू बढेका छन् । ‘तर बाटोघाटोको समस्याले मोटरसाइकल घरमै थन्क्याउनुपर्ने बाध्यता सर्वसाधारणलाई छ,’ उनी भन्छन्, ‘डेढलाख रुपैयाँभन्दा बढी रकम खर्चेर भित्र्याएको मोटरसाइकल इमरजेन्सी पर्दा समेत बाहिर निकाल्न कठिनाइ छ ।’ 

पहिले बाटोघाटो अनि मात्रै सवारी साधन खरिद गर्दा राम्रो हुने उनको सुझाव छ । उनी भने नव निर्वाचित जनप्रतिनिधिहरूबाट तत्कालै विकास होला भन्नेबारे कमै आशावादी छन् । ‘लाखौं खर्चेर निर्वाचित भएकाले पहिले आफ्नो खर्च पो उठाउनतिर लाग्छन्, विकास तिनीहरूको प्राथमिकतामा पर्ने कमै सम्भावना छ,’ लालो शेख भन्छन् । विकास–निर्माणका लागि जनता आफैं जागरुक नभएसम्म विकास सम्भव नहुने उनको धारणा छ । गाउँमा सामाजिक अभियानमा सक्रिय मोहम्मद समिम शेख पनि विकास निर्माणमा जनताकै प्रत्यक्ष सहभागिता हुनुपर्ने बताउँछन् । गाउँ/टोलमा शुद्ध पिउने पानीका लागि चापाकल वितरण गर्दै आएका उनी भन्छन्, ‘तराई–मधेसलाई सुगम भनिए पनि सप्तरीको दक्षिणी भेग खासगरी भारतसँग सीमा जोडिएका गाउँहरू शिक्षा, स्वास्थ्य, बाटोघाटो र विकास निर्माणमा निकै पछाडि रहेको एवं दुर्गमको जस्तो अवस्थाबाट गुज्रिरहेका छन् ।’ जागरुक जनता र विकास निर्माणप्रति प्रतिबद्ध नेता/कार्यकर्ताहरूको कमीले सर्वसाधारणले अत्यन्तै कष्टकर जीवन यापन गर्दै आएको उनको तर्क छ । ‘गाउँ/टोलका सामाजिक अगुवाहरू व्यक्तिगत स्वार्थमा लाग्नु, पढेलेखेकाहरू टोलमा कम हुनु तथा युवाजति बिदेसिनुले पनि विकास निर्माणले गति लिन नसकेको हो,’ उनी भन्छन्, ‘स्थानीय निकाय र उपभोक्ता समितिका पदाधिकारीहरूको गलत मनसायलाई चुनौती दिने नभएपछि विकास निर्माणको नाममा मनपरी त हुने नै भयो ।’ 

चार वर्षअघि निर्माण थालिएको मुतनी नदीको पुलका लागि हरेक वर्ष बजेट आउँछ तर निर्माण पूरा नहुँदै बजेट सकिने गरेको अर्का स्थानीय रञ्जीतकुमार यादवले बताए । उनी भन्छन्, ‘विष्णुपर गाउँपालिका अन्तर्गतको कन्कट्टा र बेल्ही चपेना गाउँपालिका अन्तर्गत पर्ने इनरवा, फकिरा, कुरनमा, बरदाही र बनैनियाँसँगै भारतका सीमावर्ती गाउँहरू भरफोडी, अन्धरामन्ठ, डकही, विक्रमशेर, छातापुर, लौकही, महादेवमन्ठलगायत जोड्ने बाटोअन्तर्गत पर्ने मुतनी नदीमा पुल निर्माण नहुँदा यस भेगका सर्वसाधारणलाई वर्षौंदेखि आउजाउमा समस्या छ ।’ अघिल्लो वर्षदेखि फकिरा र इनरवालाई झौहुरा बजार, झुटकी, कमलपुर र नर्घोसँग जोड्नका लागि राजगढ थान नजिकै मुतनी नदी खण्डमा अर्को पुलको निर्माण सुरु गरिएको छ । जिल्ला विकासको बजेटबाट निर्माण हुन लागेको भनिएको उक्त पुल कहिलेसम्म बन्ने भन्नेबारे कुनै टुंगो नभएको झुटकी बलीटोलका खेमराज यादव भन्छन् । ‘वर्षौंअघि थालिएको पुल त अझै बनेको छैन भने पछिल्लो समय सुरु भएको यो पुल तत्कालै बन्ने छाँट तत्कालै छैन,’ उनले भने, ‘स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू आएकाले झिनो आशा गर्ने ठाउँ चाहिँ छ ।

यसैगरी नेपालकै प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती स्थान (सखडा) सँग फकिरा, रम्पुरा, कुरनमा लगायतका गाउँ/टोल जोड्ने बाटोमा पर्ने घोरदह नदीमा पुल निर्माण थालेको ६ वर्षभन्दा बढी भइसक्दा पनि पूरा हुन सकेको छैन । फकिरा टोलका पौदुम ठाकुरका अनुसार पुल निर्माणस्थल नजिकै घोरदहको कटान तीव्र भई नदीले मार्ग नै परिवर्तन गर्ने अवस्था छ । ‘अब त यो पुल नै क्यान्सिल हुने त्रास स्थानीयवासीमा छ,’ उनी भन्छन्, ‘अत: सम्बन्धित निकायले त्यहाँ तटबन्धको निर्माणसँगै तत्काल पुल बनाउनुपर्छ ।’ छिन्नमस्ता गाउँपालिकाका नवनिर्वाचित प्रमुख सूर्यनारायण मण्डल ‘कुरुर’ ले घोरदह नदीको पुल अविलम्ब पूरा गर्ने प्रतिबद्धता सञ्चारकर्मीसँगको भेटमा व्यक्त गरेका छन् । यसैगरी, बेल्हीचपेना गाउँपालिकाका नवनिर्वाचित प्रमुख परमानन्द यादवले पनि यस क्षेत्रको विकास आफ्नो पहिलो प्राथमिकतामा रहेको हालै आयोजित एक कार्यक्रममा बताएका छन् । 

प्रकाशित : आश्विन २०, २०७४ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?