बिटक्वाइन कारोबार गर्ने ७ पक्राउ, राष्ट्र बैंक ऐन अनुसार कारबाही हुने

कान्तिपुर संवाददाता

काठमाडौं — विट क्वाइनका नामले इन्टरनेट मार्फत पैसाको कारोबार हुने एक प्रकारको साइबर मुद्राको किनबेचमा संलग्न व्यक्तिहरु पहिलोपटक पक्राउ परेका छन । प्रहरीको केन्द्रिय अनुसन्धान विभाग (सिआइबी) ले ७ जना यस्ता कारोबारीलाई पक्राउ गरेको हो ।

बिटक्वाइन कारोबार गर्ने ७ पक्राउ, राष्ट्र बैंक ऐन अनुसार कारबाही हुने

‘विट क्वाइन र ग्य्राभिटि क्वाइन लगायतका क्रिप्टोकरेन्सी वित्तिय उपकरण जारी गरी सोको अवैध किनबेच गरी विदेशी विनिमयसमेत कारोबार गर्ने मानिसहरुलाई मोबाइल तथा ल्यापटप लगायतका उपकरणहरु सहित काठमाडौं र चितवनबाट पक्राउ गरिएको छ,’ सिआइबीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले सिन्धुली घर भएका ज्ञान प्रसाद पौडेल, अर्घाखाची घर भएका माधव खनाल, काठमाडौका प्रशान्त प्रताप शाह, नुवाकोट घर भएकी विन्दा ढकाल, सिन्धुपाल्चोकका मिंगमार तामांग, काठमाडौंकै दमन बस्नेत र रुपन्देही घर भएका मनिष कुमार गिरी पक्राउ गरेकाे हाे ।

सिआइबीका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार विटक्वाइन कारोबारीलाई पक्राउ गरिएको यो पहिलो घटना हो । ‘हामीले अदालतबाट थप म्याद लिइसकेका छौ,’ उनले भने, ‘थप अनुसन्धानपछि कारोबार रकम पत्ता लाग्ला ।’ पक्राउ परेकाहरुलाई राष्ट्र बैंक ऐन अनुसार कारवाही हुने श्रेष्ठले बताए । ‘तीन गुणा बिगो वा ३ बर्ष कैद वा दुवै सजाय हुने व्यवस्था छ,’ उनले भने ।

साइबर मुद्राहरु भनेका सामान्यतया सामान वस्तु वा अन्य भौतिक हस्तान्तरण बिना इन्टरनेटमा पैसाको कारोबार गर्ने एक प्रकारको संयन्त्र हुन । विटक्वाइनलगायतका यस्ता मुद्राको अन्तराष्ट्रिय बजारमा मूल्य तोकिएको हुन्छ । पछिल्लो तथ्यांक अनुसार एउटा विटक्वाइनको मुल्य करिब ४४ सय डलर छ ।

यही मूल्यमा हुने घटबढका आधारमा विटक्वाइन किनबेच हुन्छ । सस्तोमा किनेर महंगोमा बेच्दा फाइदा हुने र यसको मूल्य निरन्तर बढिरहेकाले युवाहरु विटक्वाइनतर्फ आकर्षित भइरहेका छन् । घरमा बसीबसी मूल्य बढ्ने हुँदा सजिलो पनि छ । सन् २००९ मा एक क्वाइनको १० सेन्ट रहेकोमा अहिले ४४ सय डलर पुग्नुले यसको माग अत्यधिक भएको देखाउँछ ।

संसारका करिब एक लाख पसलहरुले विटक्वाइन जस्ता साइबर मुद्रालाई भुक्तानीको माध्यमका रुपमासमेत अपनाइसकेका छन् । तर यो थप पुष्टि गर्नुपर्ने बिषय रहेको विज्ञ बताउँछन् ।

नेपालमा विदेशमा लगानी निषेध गरिएको छ । यसबाट हुने कारोबारको भुक्तानी विदेशी मुद्रामा गर्नुपर्छ । यस्तो कारोबारका लागि पनि विदेश रकम हुन्डीमार्फत गइरहेको छ ।

यससँगै वित्तीय कारोबार सरकारको नियमनमा हुनुपर्छ । तर विटक्वाइनको अनुगमन गर्ने र गर्नसक्ने निकाय छैन । यो विटक्वाइन पत्ता लगाउने व्यक्तिको समेत अहिलेसम्म पहिचान भएको छैन् । सातोसी नाकामोतो भन्ने व्यक्तिले पत्ता लगाएको भनिएपनि उसको पहिचान खुलेको छैन । डिजिटल करेन्सी भनेर पनि कारोबार गर्नेहरु नेपालमा बढ्न थालेका छन् ।

केही बर्षयता नेपालमा यसको कारोबार भइरहेपनि हालसम्म कारबाही भएको थिएन । करिब दुइ महिनाअघि केन्द्रिय बैंकले सूचना मार्फत विटक्वाइन अवैधानिक भएको सूचना जारी गरेपछि प्रहरीले कारोबारी खोज्न थालेको थियो ।

प्रहरीका अनुसार इन्टरनेटको जानकारी भएका र विगतमा यस्तै खाले सजिलो माध्यमबाट रकम कमाउन पल्केकाहरु विटक्वाइनमा पनि संलग्न भेटिएका छन । पक्राउ पर्नेमा दुइ जना विगतमा हर्बो इन्टरनेसनल नामक नेटवर्क व्यवसायमा संलग्न थिए । यसैगरी, दुई जना विदेश बसेर आएका युवाहरु छन् ।

प्रकाशित : आश्विन २०, २०७४ १८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?