ऋणबाट थालेको व्यापारले अर्बपति

धनीका कुरा
दिनेश यादव

काठमाडौं — कर्मले मानिसलाई कुन बेला धनाढ्य बनाउँछ, निश्चित छैन तर आफ्नो लगनशीलता, परिश्रम र सकारात्मक सोचका साथ अघि बढेमा मानिसलाई सफल बनाउने कुराचाहिँ निश्चित छ । हो, यसरी नै सफल हुनेहरूमा ह्युग हेफनर पनि एक हुन् ।

ऋणबाट थालेको व्यापारले अर्बपति

अमेरिकी राज्य सिकागोको इलिनोइसमा एउटा सामान्य परिवारमा ९१ वर्षअघि उनको जन्म भएको थियो । उनका बुबा शिक्षक र आमा एकाउन्टेन्ट थिए । स्विडिस मूलकी आमाले हेफनरलाई मिसनरी प्रमुख बनाउन चाहन्थिन् भने जर्मन मूलका बुबाले परम्परावादीको धारमा लगाउने चाहना राखेका थिए । यी दुई कुरो हेफनरलाई बिल्कुलै मन परेको थिएन । त्यसैले उनले आफ्नै परिवारको आलोचनासमेत गरेका थिए । उनले आफ्नो परिवारलाई रूढिवादी, मध्य(पश्चिमेली र क्रिस्चियन पन्थ भनी व्याख्या गरेका थिए । गलत कुराको विरोध गर्न फिटिक्कै नडराउने उनको स्वभाव थियो । 

सानैदेखि विरोध र आलोचना खेपेका उनले मृत्युवरण हुनुअघिसम्म त्यसको सामना गरेका थिए । जीवनमा केही नयाँ गर्नुपर्ने र जागिरे जीवनशैलीले प्रगति नहुने कुराबाट उनी पहिलेदेखि नै जानकार थिए । त्यसैले पटकपटक जागिर गर्दै अनि छाड्दै आफ्नै व्यापारमा उनी जुटेका थिए । शिक्षित हुन कुनै पनि विषय महत्त्वपूर्ण भएको सोच अँगालेका उनले मनोविज्ञानमा स्नातक गरेका थिए । पछि उनले क्रिएटिभ राइटिङ र आर्टसमेत पढ्न भ्याएका थिए । सन् १९४९ मा उनले साढे दुई वर्षमा डिग्री हासिल गरेका थिए । स्नातकपछि नर्थवेस्टर्न युनिभर्सिटीमा सामाजशास्त्र पढ्नका लागि उनले नाम लेखाएका थिए । तर, पढ्न मन नलागेपछि विश्वविद्यालयमा भर्ना भएको केही समयमै ड्रपआउट भएका थिए । त्यही ड्रपआउट विद्यार्थी अमेरिकाकै चर्चित व्यापारी र पत्रिकाका प्रकाशक बनेका थिए । उनी आफैं एकजना ‘प्लेबोय’ समेत थिए । सायद त्यही स्वभावले होला धेरैपछि उनले ‘प्लेबोय’ पत्रिका प्रकाशनमा ल्याए । त्यसको प्रधान सम्पादक आफैं बनेका थिए । 

युवाहरूको इच्छा र तिनीहरूको सोचलाई उनले व्यापारको माध्यम बनाए । यो व्यापार थालेदेखि उनी कहिल्यै ओरालो झरेनन् । त्यसलाई रातारात सफलताको खुडकलो उक्ल्याउँदै अघि बढ्दै गए । पुरुषहरू र तिनीहरूको जीवनशैलीमा केन्द्रित रही पत्रिका प्रकाशनबाट हेफनरले क्लब, टीभी च्यानल र वेबसाइटसम्मको सफल यात्रा पूरा गरेका थिए । यसै क्रममा उनी अर्बपति बनेका थिए । धनाढ्य बन्ने उनको यात्रा ऋण लिएर सुरु भएको हो, त्यो पनि एउटा पत्रिका सञ्चालनका लागि । ‘प्लेबोय’ पत्रिका प्रकाशनका लागि उनले बैंकबाट ६ सय अमेरिकी डलर ऋण लिएका थिए, बाँकी ८ हजार डलर ४५ जना लगानीकर्ताबाट जुटाएका थिए । यति मात्रै होइन, उनकी आमाले यसमा एक हजार डलर थपिदिएकी थिइन् । यसरी जोरजाम गरी झन्डै १० हजार डलर भएपछि हेफनरले ‘प्लेबोय’ पत्रिका थालेका थिए । यो पत्रिका यति सफल भयो कि हेफनरको कम्पनी प्लेबोय इन्टरप्राइजेजको ट्रेडमार्क स्टेट्सबाट वार्षिक आम्दानी एक अर्ब अमेरिकी डलरभन्दा बढी पुग्यो । व्यापारसँगै आफ्नो जीवनशैली र विवादास्पद अभिव्यक्तिका कारण उनी सधंै चर्चामै रहने गरेका थिए । आफ्नो जीवनको अन्तिम समयसम्म उनी आफूलाई सधंै एकजना युवाकै रूपमा प्रस्तुत गर्थे ।

सन् १९२६ मा जन्मेका उनी १९४४ मा स्नातक गरेपछि मिलिट्री न्युज पेपरको लेखकका रूपमा अमेरिकी सेनामा भर्ना भएका थिए । दोस्रो विश्वयुद्धपछि उनी ‘एस्क्वायर’ पत्रिकामा काम गर्न थाले । सन् १९५२ मा उनले एस्क्वायर छाडे । त्यसको एक वर्षपछि उनले आफ्नै पत्रिका प्लेबोय प्रशासन सुरु गरेका थिए । पत्रिका पुरुषको जीवनशैली र मनोरञ्जनमा केन्द्रित रहेकाले खुबै चर्चा र दाम कमाउन सफल भयो । पहिलो इस्यु नै ५० हजारभन्दा बढी कपी बिक्री भएको थियो । एक वर्षभित्र पत्रिकाको विस्तर दुई लाख कपीमा पुगेको थियो । यसको हालै बजारमा आएको संस्करण २० भन्दा बढी मुलुकबाट प्रकाशित भएको छ । सन् १९५३ मा ‘प्लेबोय’ पत्रिकाको पहिलो संस्करण प्रकाशित गरेका थिए । यसमा म्यारिलिन मोनरोएको नग्न तस्बिरसहितको सामग्री छापेका थिए । 

सन् १९६६ मा नागरिक अधिकारको मुद्दा उठेकै बेला उनले अश्वेत जर्ज लिंकन रकवेलको अन्तर्वार्ता पत्रिकामा छापेका थिए । रकवेलले अमेरिकन नाजी पार्टी खोलेका थिए, पछि उनलाई केहीले ‘अमेरिकी हिटलर’ समेत भनेका थिए । प्लेबोयका लेखक एलेक्स हेली यहुदी नभएको पुष्टि भएपछि रकवेल अन्तर्वार्ताका लागि तयार भएका थिए । यो अन्तर्वार्ता धेरै चर्चित भएको थियो । पाठक के चाहन्छन् भन्ने कुरा उनलाई राम्ररी थाहा थियो । त्यसैले त्यहीअनुरूप निर्णय गर्दै उनी अघि बढ्ने गर्थे । 

सन् १९६० मा हेफनरले पूरै विश्वमा प्लेबोय क्लब्सको शृंखला सञ्चालनमा ल्याए । सन् १९७१ मा उनले लसएन्जलसमा प्लेबोय महल खरिद गरेका थिए । मोडेलहरू तथा सेलिब्रिटीहरूको रातभरि हुने पार्टीका लागि त्यो चर्चित रहेको थियो । सन् १९८५ मा ५९ वर्षको उमेरमा माइनर स्ट्रोकपछि उनले प्लेबोय बिजनेसको कार्यकारी प्रमुख पद छाडे । यसको जिम्मेवारी छोरी क्रिस्टीलाई दिएका थिए र उनले आफ्नो जीवनशैलीमा व्यापक परिवर्तन गरे । रात्रिकालीन पार्टी र जमघटलाई समेत छाडेर उनले आफ्नो स्वास्थ्यमा ध्यान केन्द्रित गरे । प्लेबोय क्लबमा हेफनर निष्क्रिय भएपछि क्रिस्टीले त्यो बन्द गरिदिइन् । 

पत्रिकामा मोडलका नग्न तस्बिर प्रकाशित गर्नुले उनी महिला अधिकारवादी र आलोचकहरूको सधैं टार्गेटमा रहन्थे साथै उनको जीवनशैली आफैं पनि विवादले भरिएको थियो । ‘प्लेबोय’ मा जेनी म्यान्सफिल्डको नग्न तस्बिर प्रकाशित गरेपछि सन् १९६३ मा हेफनरलाई अश्लीलता पस्केको आरोपमा पक्राउ गरिएको थियो । पछि यसबारे कुनै फैसला नभएपछि उनलाई मुक्त गरिएको थियो । त्यसपछि त उनको चर्चा झनै बढेर गएको थियो । 

मार्केट रिसर्च फर्म ‘वेल्थ एक्स’ का अनुसार हेफनरको निधनको समयसम्म ५० मिलियन अमेरिकी डलर सम्पत्ति थियो । ‘बिजनेस इन्साइडर’ अनलाइनका अनुसार उनको कुल सम्पत्ति लिक्युड एसेट्सको ४५ मिलियन डलरसहित कम्तीमा एक सय १० अमेरिकी डलर रहेको थियो । सन् १९७० को दशममा प्लेबोयको सफलताको उचाइसँगै उनको सम्पत्ति दुई सय मिलियनभन्दा बढी रहेको ‘द टेलिग्राफ’ ले जनाएको छ । उनको सम्पत्तिको स्रोत पत्रिका प्रमुख रहेको बताइएको छ । गत सेप्टेम्बर २७ मा हृदयाघातबाट हेफनरको निधन भयो । पत्नी क्रिस्टल ह्यारिसले हेफनरलाई अन्तिम वर्ष ‘पिलर अफ स्ट्रेन्थ’ अर्थात शक्ति स्तम्भका रूपमा सधैं साथ दिएकी थिइन् ।

(एजेन्सीको सहयोगमा)

प्रकाशित : आश्विन २१, २०७४ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?