प्रमाणा पुलको मर्मत पूरा

कान्तिपुर संवाददाता

मोरङ — बाढीका कारण क्षति ग्रस्त बनेको भारतको बथनाहा मिरगन्जस्थित प्रमाणा नदीको पुल मर्मतपछि शनिबारदेखि सञ्चालनमा आउने भएको छ । विराटनगर भन्सारबाट करिब ५ किलोमिटर दक्षिणपश्चिमको उक्त पुल साउन २८ मा आएको बाढीले क्षति पुर्‍याएपछि भदौ ४ देखि बन्द गरिएको थियो ।

भारतीय राष्ट्रिय राजमार्गका इन्जिनियर राजु रञ्जनले पुल मर्मतको काम पूरा भएको बताए । ६० वर्षअघि ब्रिटिस इस्ट इन्डिया कम्पनीले उक्त फलामे पुल निर्माण गरेको थियो । ‘६ वटा फलामको पिल्लरमा रहेको पुलको पूर्वबाट तेस्रो पिल्लरको उत्तरपट्टिको फलामको खम्बा धसिएको थियो,’ रञ्जनले भने, ‘४० फिट माटामुनि जग हालेर पिल्लरमा थप तीनवटा खम्बा जडान गरेको र त्यसमाथि फलामको क्रस गडर राखेर सपोर्ट दिई मर्मत गरेका छौं ।’

पिल्लरमा रहेका खम्बाहरूको ब्रेसिङ स्थानीयले खोलेर लगेकाले त्यो पुन: जडान गरी रंगरोगनको काम भइरहेको उनले बताए । १० टन भार वहन क्षमता रहेको पुलमा ८० टन बोकेको मालवाहक गाडी चलाउँदा क्षति हुनु स्वाभाविक भएकाले अर्को बन्दै गरेको नयाँ पुलको निर्माण काम नहुन्जेल यसैलाई मर्मत गर्दै काम चलाउनुको विकल्प नभएको उनले जनाए । ‘ढिलो भए पनि बनेको छ,’ नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले भने, ‘शनिबार १ बजेदेखि मलवाहक साधन आउन थाल्छन् ।’

प्रकाशित : आश्विन २१, २०७४ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?