कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सुपथ पसलबाट ६५ लाखको बिक्री

भवानी भट्ट

कञ्चनपुर — प्रदेश ७ मा दसैंको अवधिमा सुपथ मूल्य पसलबाट ६५ लाख बढीको नुन र चिनी बिक्री भएको छ । तराई र पहाडका विभिन्न ७ ठाउँमा साल्ट ट्रेडिङले खोलेका सुपथ मूल्य पसलबाट विगतको तुलनामा ठूलो मात्रामा नुन र चिनी बिक्री भएको हो ।

साल्ट ट्रेडिङको क्षेत्रीय कार्यालय धनगढीका अनुसार भदौ १६ देखि सुरु भएको सुपथ मूल्य पसलमा १ महिना अवधिमा ७ सय २० क्विन्टल चिनी र ४ सय २० क्विन्टल नुन बिक्री भएको छ । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुपथ मूल्य पसलबाट चिनी प्रतिकिलो ७७ र नुन प्रतिकिलो १८ रुपैयाँमा उपभोक्तालाई उपलब्ध गराइएको छ । तराईका कैलाली र कञ्चनपुरका बजारमा चिनी ८० देखि ८५ र नुन २२ देखि २५ रुपैयाँ प्रतिकिलोमा पाइने गरेको छ । 

साल्ट ट्रेडिङ क्षेत्रीय कार्यालयका अनुसार सुपथ मूल्य पसलबाट ५५ लाख बढीको चिनी र १० लाखजतिको नुन बिक्री भएको छ । विगतमा पहाडमा मात्रै बिक्री हुने चिनीको माग यसपटक तराईमा समेत बढेको छ । छठ पर्वसम्मै सुपथ पसल सञ्चालन हुने भएकाले उपभोक्ताको माग अझै बढ्ने अनुमान गरिएको छ । कैलालीको धनगढी र टीकापुरमा सञ्चालित सुपथ मूल्य पसलमा १ सय ६० क्विन्टल नुन र १ सय ३० क्विन्टल चिनी बिक्री भएको छ । यसैगरी कञ्चनपुरको महेन्द्रनगर र बेलौरीमा २५ क्विन्टल नुन र १० क्विन्टल चिनी बिक्री भएको छ । 

‘यो विगतको वर्षभन्दा धेरै राम्रो हो,’ साल्ट ट्रेडिङ कार्यालय महेन्द्रनगरका प्रमुख ध्रुवमान श्रेष्ठले भने, ‘गत वर्ष यहाँबाट १ क्विन्टल पनि चिनी बेचिएको थिएन, अहिले १०/१२ क्विन्टल बेचिएको छ ।’ उनले बजारको तुलनामा चिनी राम्रो र सस्तो भएकाले उपभोक्ताको माग बढेको बताए । सुपथ मूल्य पसल सञ्चालन भएपछि बजारमा समेत चिनीको मूल्य ५/७ रुपैयाँ घटेको उनले बताए । 

पहाडी जिल्ला बैतडी, डडेलधुरा र डोटीमा भने सुपथ मूल्य पसलमा उपभोक्ताको चाप निकै बढी रहेको क्षेत्रीय कार्यालयले जनाएको छ । नुन र चिनीका लागि ग्रामीण भेगबाट समेत उपभोक्ता आउने गरेको साल्ट ट्रेडिङका निमित्त क्षेत्रीय प्रमुख तेजबहादुर कुँवरले बताए । तीनवटै जिल्लामा एक/एक ठाउँमा मात्रै सुपथ मूल्य पसल सञ्चालन गरिए पनि कैलाली र कञ्चनपुरको भन्दा तीन/चार गुना बढी बिक्री भएको उनले बताए ।

डडेलधुरामा सञ्चालित सुपथ मूल्य पसलबाट सबैभन्दा बढी ३ हजार क्विन्टल चिनी बिक्री भएको छ । यसैगरी बैतडीको पाटनबाट १७ सय र डोटीको दिपायलबाट ११ सय क्विन्टल चिनी बिक्री भएको निमित्त प्रमुख कुँवरले बताए । 

‘पहाडमा पनि विगतका तुलनामा सुपथ मूल्य पसल निकै प्रभावकारी भएको देखिन्छ,’ कुँवरले भने, ‘सुपथ मूल्य पसलले सस्तोमा सामान उपलब्ध गराउने मात्रै होइन, बजारको दर पनि घटाउने काम गरेको छ ।’ उनका अनुसार कैलाली र कञ्चनपुरका बजारमा ८५ रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको चिनीको मूल्य सुपथ पसल सञ्चालन भएपछि घटेर ८० मा पुगेको छ । विगतका वर्षमा व्यवसायीले साल्ट ट्रेडिङको भन्दा सस्तोमा चिनी बेच्ने गरेका कारण तराईमा सुपथ मूल्य पसल प्रभावकारी हुन सकेको थिएन । 

 

प्रकाशित : आश्विन २१, २०७४ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?