२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

गौचन हत्याको निजी क्षेत्रद्वारा निन्दा

जनताको सुरक्षामा सरकार गम्भीर नहुँदाको परिणाम : महासंघ
राजधानीको व्यस्त स्थानमा हत्या हुँदा सम्पूर्ण व्यावसायिकमा त्रास र संसय : परिसंघ
देशभित्र व्यवसायीको सुरक्षा नहुँदा वैदेशिक लगानी प्रभावित हुन सक्छ : चेम्बर
कान्तिपुर संवाददाता

काठमाडौं — नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्याप्रति निजी क्षेत्रले कडा शब्दमा निन्दा गर्दै दोषीमाथि तत्काल कारबाहीको माग गरेको छ ।

गौचन हत्याको निजी क्षेत्रद्वारा निन्दा

नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ (सिएनआई) र नेपाल चेम्बर अफ कमर्शले छुट्टाछुट्टै विज्ञप्ती जारी गरी गौतमको हत्याले लगानीको वातावरण बिग्रने भन्दै चिन्तासमेत व्यक्त गरेका छन् ।

अज्ञात समूहले दिनदहाडै राजधानीको शान्तिनगरस्थित ओम शान्ति चोकमा गोली प्रहार गरी गौचनको हत्या गरिएको हो । ‘हत्याबाट नेपाल उद्योग वाणिज्य महासंघ स्तब्ध भएको छ,’ महासंघद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘उक्त घटनाप्रति गहिरो दु:ख व्यक्त गर्दै यस्ता बर्बर, आपराधिक कार्यको महासंघ घोर निन्दा एवं भत्र्सना गर्दछ ।’

शान्तिको सास फेर्न पाइन्छ कि भन्ने आसमा रहेका आम नेपाली जनतामा यस बर्बर घटनाले पुन: एक पटक झस्काइदिएको भन्दै महासंघले भनेको छ, ‘उद्यमी व्यवसायी त्रसिद हुन पुगेका छन् । सरकारलाई सबै भन्दा बढी राजस्व तिर्ने उद्यमी व्यवसायी वर्ग नै असुरक्षित हुँदा निजी क्षेत्र अत्यन्त दु:खित भएको छ ।’

जनताको सुरक्षा चासोमा सरकार गम्भीर नहुँदाको परिणामनै यो घटना भएको विश्लेषण महासंघले गरेको छ । ‘घटनामा संलग्न अपराधीहरूलाई तत्काल कानूनको कठघरामा ल्याई जनताले देख्ने गरी कारवाही गर्न महासंघ नेपाल सरकार/सुरक्षा निकाय समक्ष गम्भीर आग्रह गर्दछ,’ विज्ञप्तीमा भनिएको छ, ‘घटनामा संलग्न अपराधीलाई हदैसम्मको कारवाही गर्न र मुलुक भित्र शान्ति सुरक्षाको अवस्था मजबुत भएको आभास दिलाउन जोडदार माग गर्दछ ।’

सीएनआइले उक्त घटनालाई अमानवीय र कायरतापूर्ण कार्य भन्दै भत्र्सना गरेको छ । ‘देश क्रमश: राजनीतिक स्थायित्वतर्फ गइरहेको र व्यवसायले प्राथमिकता पाउँदै गरेको अवस्थामा राजधानीको व्यस्त स्थानमा व्यवसायीको हत्या हुँदा सम्पूर्ण व्यावसायिक क्षेत्रमा पुन: त्रास र संशयको अवस्था श्रृजना भएको छ,’ परिसंघको विज्ञप्तीमा भनिएको छ, ‘यस प्रकारको अमानवीय कार्यले मुलुकमा विस्तारै बन्दै गरेको लगानीको वातावरणमा समेत नकारात्मक असर पुर्‍याउने परिसंघको ठहर छ ।’

अर्थतन्त्रलाई टेवा पुर्‍याउने उद्योगी तथा व्यवसायीहरुको पूर्ण सुरक्षाको प्रत्याभूती गर्न परिसंघले पनि सरकार समक्ष माग गरेको छ । चेम्वर अफ कर्मसले पनि नेपालकै उत्कृष्ट निर्माण व्यवसायी भन्दै गौचनमाथिको गोली प्रहारले सुरक्षा व्यवस्था कमजोर रहेको पुष्टी भएको टिप्पणी गरेको छ ।

‘राजधानीको मुटु नयाँ बानेश्वरमा आफ्नै गाडीमा हिडिरहेका व्यवसायीको हत्या हुनुले निर्माण व्यवयासीहरु मात्रै होइन, नेपालका सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई नै मर्माहत तुल्याएको छ,’ चेम्बरको विज्ञप्तीमा भनिएको छ, ‘देशभित्र उद्योगी व्यवसायीको सुरक्षा नहुँदा वैदेशिक लगानीसमेत प्रभावित हुने र देशको आर्थिक समृद्धिको कल्पना समेत गर्न नसकिने अवस्था देखापर्ने सम्भावना रहेकोले सुरक्षा व्यवस्था प्रति गम्भीर हुन नेपाल सरकारालाई अनुरोध गर्दछौं ।’

प्रकाशित : आश्विन २३, २०७४ १८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?