२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

नाम मात्रको अनुगमनः तिहारलक्षित ११ टोली परिचालन

-आपूर्ति मन्त्रालय, विभाग र खाद्य प्रविधि गरी ११ टोलीद्वारा तिहारलक्षित अनुगमनमा
- कैफियत फेला पारे पनि निर्देशन मात्रै दिई उन्मुक्ति
राजु चौधरी

काठमाडौं — दसैंअघि गरिएको अनुगमनका क्रममा दोषी पाइएका व्यवसायीलाई कारबाही गर्न नसके पनि सरकारले पुन: विशेष अनुगमन थालेको छ । तिहारलक्षित गरी आपूर्ति मन्त्रालयले ४ र आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले ५ टोली गठन गरी अनुगमन सुरु गरेको हो ।

नाम मात्रको अनुगमनः तिहारलक्षित ११ टोली परिचालन

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पनि मंगलबारदेखि दुई टोली बजारमा खटाउने जनाएको छ । विभागले विशेषत: मिठाई, तेल, मसला पसलमा अनुगमन गर्ने खाद्य विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले बताए । ‘तिहारमा मुख्यत: मिठाई, मसलाको कारोबार उच्च हुन्छ । उपभोक्ता ठगिने सम्भावना पनि बढी नै हुन्छ,’ वस्तीले भने, ‘तिहार र छठलाई लक्षित गरी अनुगमन टोली खटाउँदै छौं ।’ 

विभागका अनुसार बजारमा मुख्यत: घिउ र तेलमा बढी समस्या रहेको गुनासो छ । घिउ/तेलमा मिसावटभन्दा पनि कच्चा पदार्थ न्यून गुणस्तर र भण्डारणको समस्याले सरकारी मापदण्डभित्र नपरेको विभागको दाबी छ । टोलीले खानेतेलमा पनि अनुगमन गर्ने खाद्य विभागले जनाएको छ । ‘आपूर्तिसँगको अनुगमन र दोषीलाई कारबाही गर्न ढिलाइ हँुदा खाद्यको बदनामी भयो,’ खाद्य विभागका महानिर्देशक सञ्जीव कर्णले भने, ‘मगलबारदेखि टोलीले खटाउँछौं । उपभोक्ता ठगी गर्नेलाई खाद्य ऐनअनुसार कारबाही हुन्छ ।’ 

आपूर्ति विभागले तिहारलाई लक्षित गरी उपत्यकामा ४ र उपत्यकाबाहिर एउटा टोली खटाएको छ । टोलीले आइतबार फलफूल तथा तरकारी, खाद्य किराना, रेडिमेड कपडा र मिठाई गरी ३१ वटा व्यावसायिक पसलमा अनुगमन गरेको थियो । त्यसक्रममा फलफूल तथा तरकारीमा विषादी प्रयोग भएको फेला परे पनि सुधार गर्न निर्देशन दिएर उन्मुक्ति दिएको छ । व्यवसायीलाई कुहिएका र सडेका फलफूल तथा तरकारीहरू बिक्री वितरण नगर्न निर्देशन दिएको छ । खाद्य पसलमा पनि मूल्यसूची नभएको तथा म्याद नाघेका सामानहरू बिक्री गरेको फेला परेको थियो । तर, टोलीले केही बिस्कुट, फ्यान्टा, कोकलगायतको बोतल नष्ट गरेर म्याद नाघेको सामान बिक्री नगर्न निर्देशन दिएको थियो । लत्ताकपडा पसलमा पनि प्रत्येक सामानमा ट्याग राख्न, खरिद–बिक्री बिल लिने/दिने गर्न निर्देशन दिएर उन्मुक्ति दिएको छ । 

आपूर्तिको विशेष टोलीले सोमबार पनि लत्ताकपडा र खाद्यान्न गरी २० वटा पसलमा अनुगमन गरेको छ । त्यसक्रममा खरिद बिल र बिक्री बिल व्यवस्थित गरी राख्न, खरिद बिल र बिक्री बिलको मूल्य देख्ने गरी ट्याग राख्न र खरिद–बिक्री बिलसहित ७ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । अनुगमनका क्रममा कैफियत फेला परेका व्यवसायीलाई निर्देशन मात्रै दिँदा बजारमा थप समस्या भएको उपभोक्ताकर्मीहरू बताउँछन् । कारबाही नहुँदा व्यवसायीको मनोबल उच्च हुँदै गएको छ ।

विभागको कर्मचारीहरूका अनुसार दसैंअघि दरबारमार्ग पसलमा अनुगमन र सिलबन्दी गर्दा विवाद उत्पन भएपछि निर्देशन मात्रै दिने गरेको छ । ‘अनुगमनको क्रममा लत्ताकपडामा अत्यधिक कैफियत देखिन्छ । सिलबन्दी गर्दा पुन: विवाद हुने सम्भावना रहन्छ,’ अनुगमनमा सहभागी विभागका एक अधिकारीले भने, ‘माथिल्लो कर्मचारीको निर्देशनअनुसार सुधार गर्न निर्देशन मात्रै दिएका छौं ।’ चाडबाड नजिकिए र मन्त्री फेरिएलगत्तै विशेष अनुगमन हुन्छ । प्रचारप्रसारको लागि अनुगमन गरिन्छ । 

अनुगमनका क्रममा कैफियत भेटिए पनि व्यवसायीलाई कारबाही नगरी छुट दिएको छ । विशेष अनुगमन चाडबाड मनाउनका लागि हुने गरेको उपभोक्ताकर्मीहरू आरोप लगाउँछन । ‘सरकारले उपभोक्ताका लागि नभई व्यापारीका लागि अनुगमन गरेको छ । कर्मचारीहरू चाडबाड मनाउनका लागि अनुगमन गरेको गुनासो छ,’ उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाले भने, ‘अनुगमनका लागि अनुगमन हुनु भएन । यसको जवाफ विभागले दिनुपर्छ ।’ अनुगमनको क्रममा कसुर गरेको व्यवसायीलाई मुद्दा चलाएर कारबाही हुनुपर्ने बताए । ‘तर, विडम्बना समातेपछि उन्मुक्ति दिने गरिएको छ,’ उनले भने । आपूर्ति विभागका महानिर्देशक कुमार दाहालले दोषीलाई उन्मुक्ति नहुने बताए । चाडबाडको अवसरमा सर्वसाधारणलाई ठगीबाट बचाउन अनुगमन टोली खटाएको बताए । अनुगमन टोली घिउ, मिठाई, लत्ताकपडामा केन्द्रित हुने उनले जनाए ।

‘उपत्यकामा ४ टोली खटाएका छौं । जिल्लामा एउटा टोली गएको छ,’ उनले भने, ‘जिल्लामा खटिएको टोलीले बारा, पर्सा, मकवानपुर, भैरहवा, हेटौंडालगायत औद्योगिक क्षेत्रमा अनुगमन गर्छ । कैफियत भेटिए उन्मुक्ति हुँदैन ।’ दरबारमार्ग अनुगमनको हकमा कारबाही गर्नका लागि सम्पूर्ण फाइलहरू प्रहरीलाई बुझाएको बताए । मन्त्रालयले पनि अनुगमन भन्दै जिल्लामा ४ टोली खटाएको छ । जानकारहरूका अनुसार मन्त्रालयले नीतिनियम बनाउने हो । तर, प्रचारबाजीका नाममा अनुगमन भएको उपभोक्ताकर्मीहरू बताउँछन् । ‘आपूर्तिमन्त्रीको टोलीले अनुगमन गर्दा कैफियत भेटियो । सिलबन्दी भएका पसलहरू कारबाही नगरी फुुकुवा गरियो,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले भने, ‘मन्त्रीले गरेको अनुगमनमा कारबाही नहुँदा बजार सुधारको आशा गर्न सकिँदैन ।’ कारबाही नगर्ने प्रवृत्तिले मन्त्रीद्वारा गरिएको अनुगमन पनि नाम मात्रैको भएको उनले बताए । अनुगमनलाई प्रभावकारी बनाउन अनुगमनको जिम्मा स्थानीय तहलाई दिनुपर्ने बताए ।

यसैबीच आपूर्ति विभागको अनुगमन टोलीले हेटौंडामा रहेको नारायणी मिल्क एन्ड फुड्स प्रालिमा सिलबन्दी गरेको छ । शाखा अधिकृत श्रीप्रसाद अधिकारीको नेतृत्वमा भएको अनुगमनमा आइसक्रिम स्टोरहरूमा अत्यधिक फोहोर, पाम आयलको प्रयोग गरेको फेला परेको थियो । 

प्रकाशित : आश्विन २४, २०७४ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?