कालोसूचीमा परेको हरिसिद्धिको जग्गा बिक्री गर्न चलखेल

प्रशान्त माली

ललितपुर — राष्ट्र बैंकको कालो सूचीमा परेको हरिसिद्धि इँटा तथा टायल कारखाना लिमिटेडको जग्गा बिक्री गर्ने चलखेल सुरु भएको छ ।

 कालोसूचीमा परेको हरिसिद्धिको जग्गा बिक्री गर्न चलखेल

सञ्चालक एनबी समूहले कारखानाको नेपाल बंगलादेश बैंक (एनबी) मा धितोमा रहेको ८३ रोपनी र नबिल बैंकमा २५ रोपनी गरी एक सय ८ रोपनी जग्गा बिक्री गर्न १० करोड रुपैयाँ बैना लिइसकेको छ । कारखानाका नाउँमा रहेको उक्त जग्गा बिक्री गर्न हरिसिद्धि इँटा टायल कारखानाका तर्फबाट सञ्चालक रोजकुमार श्रेष्ठ र प्रिफेब हाउस नेपाल कम्पनीका सञ्चालक केशवप्रसाद तिमल्सिनाबीच १ अर्ब ३३ करोड रुपैयाँमा किनबेच सम्झौता भएको हो ।

सेयरधनीहरूका अनुसार ०६० मा एनबी बैंकमा कारखानाका सहायक कम्पनी ललितपुर इन्जिनियरिङका नाममा ५ करोड र एनबी बाट्रा हस्पिटल एन्ड मेडिकल रिसर्च सेन्टरका नाममा १५ करोड रुपैयाँ ऋण लिन कम्पनी ग्यारेन्टी बसेको थियो । ग्यारेन्टी बसेबापत धितोमा राखेको ८४ रोपनी जग्गा अहिले बिक्री गर्ने सम्झौता गरिएको हो । जबकि २०७१ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको पत्रअनुसार अर्थ मन्त्रालयले कारखानाका जग्गामा अनधिकृत निर्माण नगर्न र बेचबिखन, हस्तान्तरण र धितोबन्धक नराख्न सचिवस्तरीय निर्णय भएको थियो ।

कम्पनी रजिस्ट्रारको कार्यालयले पनि कारखानाको चलअचल सम्पत्ति बेचबिखनमा रोक लगाएको छ । सरकारी निर्देशन लत्याएर हरिसिद्धिका सञ्चालकले कारखानाका नाममा रहेको हरिसिद्धि ५ ‘क’ को कित्ता नम्बर २१७, २१८, २४१, २४३ देखि २५५, २९५ देखि २९८, ३०३ देखि ३०५, ३०७, ३११ देखि ३१३ को जग्गा बिक्री गर्न सम्झौता गरेका हुन् ।

हरिसिद्धि कारखानाका नाममा एनबी बैंकमा करिब ६० करोड र नबिल बैंकमा करिब ५ लाख रुपैयाँ ऋण छ । कारखानाका मजदुर, सेयरधनी र स्थानीय किसानले कम्पनीका सञ्चालकहरूले ऋण तिरेर बाँकी रकम आफैं खान खाजेको भन्दै विरोध जनाएका छन् । सेयरधनीका अनुसार आन्तरिक राजस्व कार्यालय हरिहर भवनले नेपाल राष्ट्र बैंकमार्फत रोक्का गर्दागर्दै पनि बिनासञ्चालकको लगत र कर चुक्ता प्रमाणपत्रबिना हरिसिद्धि इँटा तथा टायल कारखानाका नाममा कमलपोखरीस्थित गुडविल फाइनान्स लिमिटेडमा खाता खोली बैना रकम जम्मा गर्न लगाई झिकेर समेत लगिसकिएको छ । ‘सञ्चालक एनबी समूहका कर्मचारी सुमित्रा श्रेष्ठले रकम झिकेको देखिन्छ,’ एक सेयरधनीले प्रश्न गरे, ‘यो कसरी सम्भव भयो ? गुडविल फाइनान्सलाई राष्ट्र बैंकको निर्देशन लागू हँुदैन ? यस्ता व्यक्तिलाई कसले कारबाही गर्ने ?’

ती सेयरधनीका अनुसार २०६५/६६ मा सिनर्जी प्रपर्टी डेभलपरले नबिल बैंकबाट १५ करोड ऋण लिन हरिसिद्धिका सञ्चालकले एनबी बाट्रा हस्पिटल एन्ड मेडिकल रिसर्च सेन्टरका नाममा रहेको २३ रोपनी जग्गा धितो राखिदिएका थिए । कम्पनी ऐनविपरीत गरिएको उक्त कारोबारमा पनि कारबाही गर्ने निकाय मौन छ । सरकारले कारखाना सञ्चालन गर्न २०२१ सालतिर हरिसिद्धिका किसानसँग प्रतिरोपनी १५ सयका दरले ४ सय १२ रोपनी जग्गा अधिग्रहण गरेको थियो ।

संघर्ष समितिका अनुसार साधारणसभा नै नगरी सञ्चालकहरूले कारखानाका नाममा रहेको जग्गा २०६६ सालमै बीएन्डबी अस्पताललाई ४७ रोपनी, वाग्मती हाउजिङ कम्पनीलाई २५ रोपनी, नेपाल क्यान्सर अस्पताललाई २५ रोपनी र विजयदीप ल्याब्रोटरीलाई ५ रोपनी बिक्री गरेका थिए । एनसीसी बैंकले पनि कारखानाको ११९ रोपनी जग्गा २०६६ मै लिलाम गरेर लिइसकेको छ । सरिता श्रेष्ठका नाममा २ रोपनी बिक्री भएको छ । कम्पनीले आन्तरिक राजस्व कार्यालयमा कर पनि बुझाएको छैन ।

कम्पनीविरुद्ध किसान संघर्ष समितिको मुद्दा सर्वोच्च अदालतमा र सेयर संघर्ष समितिको मुद्दा उच्च अदालत, पाटनमा विचाराधीन छन् । कम्पनी रजिस्ट्रार कार्यालय सहायक रजिस्ट्रार राजन बस्नेतले सञ्चालकलाई पटकपटक साधारणसभा गर्न र कम्पनीको चलअचल सम्पत्ति विवरण प्रस्तुत गर्न निर्देशन दिँदा पनि चासो नदिएको बताए । ‘कारबाही गर्ने अधिकार कम्पनीलाई छैन,’ उनले भने । हरिसिद्धि कारखानाको १३ वर्षदेखि साधारणसभा भएको छैन ।

प्रकाशित : आश्विन २५, २०७४ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?