१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बाँसका मुडा बेचेर आम्दानी

विद्या राई

भोजपुर — हतुवागढी-२, आहालेका ३७ वर्षीय बुद्धिमान राईले बाँसबाट मुडा बनाएर वार्षिक १ लाख आम्दानी गरिरहेका छन् । यसैबाट उनको ५ जनाको परिवारको जीविका चलिरहेको छ । मुडा बिक्रीबाटै उनले छोराछोरीको पढाइ खर्चसमेत चलाएका छन् ।

बाँसका मुडा बेचेर आम्दानी

आर्थिक अवस्था कमजोर भएकै कारण उनले १२ वर्षसम्म भारतको कोइखातमा कोइला खन्ने मजदुरी गरेका थिए । साढे २ वर्ष साउदीमा मजदुरी गरी फर्किए । यता पत्नी अमृता घरखेतीमै व्यस्त थिइन् । आम्दानी सीमित थियो । मजदुरी गरुन्जेल मात्र दुईछाक पेट भर्न पुग्थ्यो । काम नपाएको दिन खानैका लागि आर्थिक समस्याले पिरोल्थ्यो ।

मुडा बुन्ने काम थालेपछि उनलाई पारिवारिक जीवनयापनका लागि सहज भएको छ । ‘बेलाबेलामा माछामासु खान, छोराछोरी पढाउन, परिवारलाई नयाँ कपडा किन्न सजिलो भएको छ,’ उनले भने, ‘विदेश गएँ, भारत गएर वर्षौं कोइला खनें तर अहिलेजस्तो सहज कहिल्यै भएन ।’ आफ्नै घरमा गरेको दु:खमा सुख फलेको उनी सुनाउँछन् । 

उनले मुडा बुन्न थालेको ३ वर्ष भयो । माग धेरै छ । ग्राहक घरमै आउँछन् । माग धान्नै मुस्किल छ उनलाई । ‘टन्नै माग हुन्छ, पुर्‍याउनै गाह्रो,’ उनले भने । महिनामा १५ देखि २० मुडा बनाउँछन् । प्रतिगोटा ४ सयका दरले बेच्छन् । पहाडको बाँस तथा दरिलो गरी डोरीले कसेर बनाउने हुँदा टिकाउ हुन्छ ।

मुडा बनाउन चाहिने बाँस, डोरी र टायर आफैं किन्छन् । डोरी इटहरी, विराटनगर, भारतको कोइलाखातबाट किन्छन् । प्रतिकेजी ३५० रुपैयाँ पर्छ । १ केजी डोरीले ४ मुडा बन्छन् । टायर पनि तराईबाटै प्रतिगोटा ५० रुपैयाँका दरले ल्याउँछन् । एउटा टायरबाट एउटा मुडा बन्छ ।

उनले धरानको साथीले बुनेको हेरेर मुडा बनाउन सिकेका हुन् । यसमा उनकी पत्नी र छोराछोरीको पनि साथ छ । परिवारको सहयोग निर्माण सामग्री जुटाउँछन् । 

प्रकाशित : आश्विन २५, २०७४ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?