मंसिरदेखि चमेलियाको बिजुली

चमेलिया (दार्चुला) — पाँच वर्ष ढिलाइ र झन्डै दोब्बर खर्च लागेको चमेलिया जलविद्युत् आयोजनाबाट मंसिरदेखि बिजुली उत्पादन हुने भएको छ । बैतडी र दार्चुला छुट्याउने नदी चमेलियामा निर्माणाधीन ३० मेगावाट क्षमताको जलविद्युत् परियोजना उत्पादनको चरणमा पुगेको छ ।

मंसिरदेखि चमेलियाको बिजुली

चमेलिया आयोजनाको विद्युत् आगामी नोभेम्बरबाट उत्पादन हुने आयोजनाको भनाइ छ । 

आयोजना प्रमुख अजयकुमार दाहालका अनुसार परीक्षण (ड्राई टेस्ट) को काम सकेर अन्तिम उत्पादन र प्रसारणको काम भइरहेको छ । 

साढे ४ किलोमिटर सुरुङको ३ टनेलमध्ये १ र ३ नम्बर बन्द गरिसकेको र २ नम्बर टनेल बन्द गर्ने कार्य भइरहेको छ । ‘प्लकिङ र सुरुङ सरसफाइ सकिएपछि सिभिलतर्फको काम सकिनेछ । 

त्यसपछि सुरुङमा पानी छोडिनेछ,’ उनले भने, ‘सुरुङ टेस्ट भएपछि पावरहाउसमा जडान मेसिन टेस्ट गरिन्छ ।’ उनले अक्टोबरमा टेस्टिङ सकेर नोभेम्बरमा उत्पादन सुरु गर्ने गरी काम भइरहेको जानकारी दिए । 

परियोजनाले ६ वर्ष ढिलो उत्पादन गर्न थालेको भए पनि स्थानीय बासिन्दा खुसी छन् । ‘परियोजनाबाट बिजुली उत्पादन सुरु हुन लागेकोमा हामी खुसी छौं,’ स्थानीय गोविन्द बोहराले भने, ‘लोडसेडिङ’ को मार खेपिरहेका नेपालीलाई राहत पक्कै हुन्छ ।’ उनले उत्पादन खर्चमा बढाएको लागत, निर्माण कार्यमा सुस्तता र आर्थिक अनियमितताले सन्तोष गर्ने ठाउँ कमै रहेको सुनाए । 

ठेकेदार र सरकारी पक्षबाट भएको ढिलाइका कारण आयोजनाको लागत सुरुमा अनुमान गरिएभन्दा दोब्बर पुगेको छ । ८ अर्ब अनुमान गरिएको आयोजनामा १५ अर्ब ६० करोड रुपैयाँमा आयोजनाले निर्माण कार्य सम्पन्न गर्न लागेको हो । २००७ मा सुरु भएको परियोजनाको सुरुको अनुमानित लागत मूल्य ८ अर्ब ५० करोड रुपैयाँ थियो । ठेकेदार कम्पनी चाइनाको गेजुवा ग्रुप (सीजीजीसी) र विद्युत् प्राधिकरणबीच सम्झौता हुँदा निर्माण कार्य २०११ मा सम्पन्न गर्ने लक्ष्य थियो । ‘निर्माण कार्यमा भएको ढिलाइले लागत मूल्य वृद्धि हुँदै गएको हो,’ आयोजना प्रमुख दाहालले भने, ‘ठेकेदार कम्पनी, परामर्शदाताको लापरबाही र सरकारी बेवास्ताले समयमै परियोजनाको निर्माण कार्य सम्पन्न हुन सकेन ।’ अब अन्तिम चरणको कामले गति पाएमा नोभेम्बरबाट बिजुली उत्पादन भई १३२ केभी राष्ट्रिय प्रसारण लाइनमा जोडिने उनले जानकारी दिए । उनले सुरुङ भत्केकाले पुनर्निर्माण (भेरिएसन) मा आर्थिक अनिमियतताको छानबिन प्रकरणले समेत केही महिना काम रोकिएको बताए ।

निर्माण ढिलाइले स्थानीय प्रभावित
निर्माण ढिलाइले लामो समयसम्म स्थानीयले दूषित वातावरणको असर खेप्नुपरेको छ । स्थानीय अर्जुनबहादुर बोहराले निर्माणमा भएको ढिलाइले राज्यको व्ययभार मात्रै थपिएन, स्थानीयले समेत सास्ती भोग्नुपरेको बताए । ‘स्वच्छ भई बग्ने नदीको पानी लामो समयदेखि पिउन र सिँचाइ गर्न अनुपयोगी भएको छ,’ उनले भने, ‘नदी दूषित हुनाले घरपालुवा जनावर मरेका छन् । मान्छे र जनावरका लागि पिउने पानीको अभाव भएको छ ।’ उनले कृषिका लागि सिँचाइ गर्नसमेत नदीको पानी उपयोगी नभएको बताए । त्यस्तै खड्कबहादुर खडायतले चमेलियाको नाममा नेता र कर्मचारी मोटाउने काम बढी भएको सुनाए । ‘देशमा जति प्रधानमन्त्री, मन्त्री भए, सबैले चमेलियाका गाडी चढे भन्ने सुन्यौं,’ उनले भने, ‘त्यो रकम निर्माणस्थलमै लगानी भए आज यसको लागत बढ्ने थिएन होला ।’ 

चमेलिया आयोजना र त्यसको बिजुली राष्ट्रिय ग्रिडमा जोड्न प्रसारण लाइन बनेपछि दार्चुलामा अन्य आयोजना पनि बन्न थालेका छन् । आयोजना प्रमुख दाहालका अनुसार पछिल्लो समयमा चमेलिया र शाखा नदीबाट करिब ५ जलविद्युत् कम्पनीले अध्ययन गरिरहेका छन् । उनका अनुसार नौगाडमा अपि हाइड्रोपावरले बिजुली उत्पादन सुरु गरिसकेको छ । त्यस्तै अपर चमेलियाले अध्ययन थालेको छ । 

प्रकाशित : आश्विन २६, २०७४ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?