बुद्धले एयरबस ल्याउने

कान्तिपुर संवाददाता

काठमाडौं — बुद्ध एयरले एयरबसमार्फत अन्तर्राष्ट्रिय बजारमा पहुँच बढाउने तयारी गरेको छ । कम्पनीले सेवा सुरु गरेको २० वर्ष पूरा भएको उपलक्ष्यमा जारी विज्ञप्तिमा उक्त योजना सार्वजनिक गरिएको हो ।

बुद्धले एयरबस ल्याउने

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणसँगै बुद्ध एयरले अन्तर्राष्ट्रिय हवाईजहाज उत्पादन गर्ने युरोपेली संस्थासँग एयरबस ल्याउनेबारे छलफल गरेको जनाएको छ । उडानका लागि बुद्ध एयरले एयरबसका ३२० फेमिली सिरिजका जहाज पनि ठम्याइसकेको विज्ञप्तिमा उल्लेख छ ।

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित समयमै पूरा हुने आस गर्दै सन् २०२१ को अगस्ट १ देखि ३ वटा एयरबसबाट अन्तर्राष्ट्रिय उडान भर्ने हाम्रो योजना रहेको छ,’ बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतको भनाइ विज्ञप्तिमा उल्लेख छ । साथै आगामी १० वर्षमा ३२० सिरिजका २० विमानबाट सेवा विस्तार गर्ने पनि योजना रहेको बस्नेतले बताए । दुई दशकअघि बुद्धले प्रथम पटक अमेरिकामा निर्मित नयाँ जहाज बिच १९००‘डी’ बाट पर्वतीय उडान सुरु गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

मुलुकका सुगम विमानस्थलहरूमा उडान भर्ने बुद्ध एयरले ६३ प्रतिशत बजार हिस्सा ओगटेको दाबी गरेको छ । ‘यस सफलताका पछाडि यात्रु, सरोकारवाला निकाय/वित्तीय संस्थाहरूका साथै बुद्ध एयरमा कार्यरत ८६५ जना कर्मचारीहरू नै हुन्,’ विज्ञप्तिमा भनिएको छ ।

एउटा विमानबाट सेवा सुरु गरेको बुद्ध एयरसँग हाल २ वटा बिचक्राफ्ट, ७ वटा एटीआर एयरक्राफ्ट छन् । अर्को एटीआर जहाज २०१८ जनवरीको दोस्रो साता आइपुग्ने कम्पनीले जनाएको छ ।

प्रकाशित : आश्विन २६, २०७४ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?