कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीन र भारत जोड्दै ‘चेपाङ मार्ग’

-भारतको सीमावर्ती ठोरीबाट चीनको रसुवागढी जोड्ने छोटो दूरीको सडक
-धादिङको मलेखुदेखि चितवनको भण्डारासम्मको निर्माणाधीन सडकलाई चेपाङ मार्ग नामकरण
हरिहरसिंह राठौर

धादिङ — मलेखुदेखि चितवन भण्डारा जोडिने ‘चेपाङ मार्ग’लाई भारत सीमावर्ती ठोरीबाट चीनको रसुवागढी जोड्ने सबैभन्दा छोटो दूरीको सडकका रूपमा विस्तार गरिने भएको छ । ठोरीदेखि रसुवागढीसम्मको दूरी १ सय ६८ किलोमिटर छ । छिमेकका उत्तरी र दक्षिणी देश जोड्ने सबैभन्दा कम दूरीको सडक भएको हो ।

मलेखु–भण्डारासम्म ४१ किमि उक्त ‘चेपाङ मार्ग’को स्तरोन्नतिका लागि एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा नेपाल सरकारले निर्माण गर्न लागेको हो । यो मार्ग भारतको सीमा ठोरीदेखि चीनको सिमाना रसुवागढी सडकको एक खण्ड हो । पृथ्वी राजमार्गबाहेक मलेखुदेखि २१ किमि धादिङ र चितवनको लोथरदेखि भण्डारा ४० किमि निर्माणाधीन सडकलाई ‘चेपाङ मार्ग’ नामकरण गरिएको हो । उक्त सडकको करिडोर वरपर दुवै जिल्लामा एक दर्जनभन्दा बढी रैथाने चेपाङ बस्तीहरू छन् । मलेखुबाट भण्डारासम्मको खण्डलाई चेपाङ मार्ग नामकरण गरिएको छ ।

हाल मलेखुबाट मुग्लिन हुँदै नारायणगढको दूरी १ सय ५ किमि छ । त्रिशूली नदी आसपासको भीर छिचोलेर सडक निर्माण गरिएका कारण जोखिम पनि उत्तिकै छ । चेपाङ मार्ग बनेपछि भण्डाराबाट मलेखु पुग्न ४४ किमि छोटो पर्नेछ । उक्त सडक नारायणगढ–मुग्लिन खण्डको विकल्पका रूपमा पनि प्रयोग गर्न सकिनेछ । छोटो दूरीका कारण समय र इन्धनसमेत बचत हुनेछ । सरकारले १५ करोड रुपैयाँ लागतमा १५ किमि ताल्तीसम्म कालोपत्रे गर्न मलेखुबाट काम सुरु गरिएको छ । चालु आर्थिक वर्षमै उक्त सडक कालोपत्रे गर्ने योजना छ । डिभिजन सडक भरतपुरका प्रमुख धर्मेन्द्र झाका अनुसार अल्पसंख्यक र विपन्न चेपाङ समुदायको जीवनस्तर माथि उठाउने उद्देश्यका साथ चेपाङ मार्गको ट्रयाक खोलिएको हो । बढ्दो सवारी चाप र थप सडक विस्तारमा कठिनाइ हुने देखिएपछि नारायणगढ–मुग्लिन सडकखण्डको विकल्प खोजी गरिएको उनले बताए ।

प्रकाशित : आश्विन २६, २०७४ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?