मूल्य नतोक्दै यार्साको व्यापार

वसन्तप्रताप सिंह

बझाङ — यस वर्ष यार्सागुम्बुको मूल्य नतोकेरै व्यापार भएको छ । संकलन भएको ३ महिना बित्दा पनि मूल्य नतोकिएपछि संकलकले स्थानीय व्यापारीलाई बिनादर यार्सागुम्बु बेचेका हुन् ।

लामो समयसम्म भण्डारण गर्दा यार्सागुम्बु बिग्रने जोखिम भएकाले मूल्य नतोकेरै भए पनि बेच्न बाध्य भएको संकलकले बताएका छन् ‘जेठमै टिपेको किरा बचाएर राख्नै मुस्किल हुन्छ,’ काँडाका घुरन बोहराले भने, ‘राम्रोसँग भण्डार गर्न सकेन भने ढुसी पर्छ, कालो हुन्छ । किरा बिग्रेपछि मूल्य पनि कम पाइन्छ, त्यही भएर दर नतोकेरै दिनुपरेको हो ।’ उनले ठूला व्यापारीले यार्सा काठमाडौं लगे पनि बिक्री भइ नसकेको भन्दै हालसम्म भुक्तानी नदिएको बताए । भदौ पहिलो साता बिनादर यार्सा बिक्री गरेका संकलकले हालसम्म पैसा पाएका छैनन् ।

यार्सागुम्बु निकै मूल्यवान् भएका कारण घरमा लामो समय राखिरहँदा चोरको पनि डर हुने भएकाले विश्वासकै भरमा स्थानीय व्यापारीलाई जिम्मा लगाएको अर्का संकलक रुन्छे बोहराले बताए । ‘त्यत्रो सम्पत्ति कति दिनसम्म रुँगेर बस्नु, कसैले लुटिदियो भने वर्षभरिको कमाइ स्वाहा हुन्छ,’ उनले भने, ‘बरु १/२ लाख रुपैयाँ कम पाए पनि व्यापारीलाई बुझाएपछि ढुक्क भइन्छ ।’ यार्साकै आम्दानीको भरमा गुजारा चलाइरहेका संकलकहरू भुक्तानी नहुँदा समस्यामा परेको उनले बताए ।

स्थानीय व्यापारीले यार्साको मूल्य तोक्नका लागि संकलकलाई गाउँबाट यार्सा सदरमुकाममा ल्याउन लगाउने गरेका छन् । सदरमुकाममा ल्याएपछि समयमै मूल्य नतोक्दा आफूसँगै राखिरहनु जोखिम हुने गरेकाले पछि मूल्य तोक्ने सर्तमा भए पनि दिनुपर्ने बाध्यता रहेको काँडाकै संकलक पूर्ण बोहराले बताए ।

बोहराले मात्र पछि मूल्य तोक्ने सर्तमा एक स्थानीय व्यापारीलाई डेढ किलो यार्सा जिम्मा लगाएको बताए । ‘तिम्रो सामान कस्तो छ नहेरेरै कसरी मूल्य तोक्ने ? चैनपुरमा ल्याऊ, हेरेपछि मूल्य भन्छौं भन्छन्,’ उनले भने, ‘चैनपुरमा ल्याएपछि हामीलाई पनि चिनियाँले मूल्य तोकेको छैन, काठमाडौं लगेपछि जतिमा बिक्री हुन्छ त्यही आधारमा दिन्छौं भन्छन् । जोखिम मोल्नुभन्दा त घाटा खाएरै भए पनि अन्धाधुन्ध बुझाउनुपर्ने बाध्यता छ ।’ केही संकलकले स्थानीय व्यापारीबाट पहिले नै पेस्कीस्वरूप रकम लिएको हुनाले पूर्वसर्तअनुसार मोल नतोकेरै दिएको उनले बताए ।

बझाङका स्थानीय व्यापारीले संकलकबाट यार्सा एकठ्ठा गरी काडमाडौं लगेर चिनियाँलाई बिक्री गर्ने गर्छन् । काठमाडौंमा कति मूल्य पाइने हो भन्ने यकिन नभएका कारण मूल्य नतोकेरै यार्सा उठाउनुपरेको स्थानीय व्यापारीहरूको भनाइ छ । चिनियाँ व्यापारीले यार्साको मूल्य नतोकेका कारण आफूहरूले पनि संकलकबाट मूल्य नबताएरै यार्सा खरिद गरेको उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेलीले बताए ।

‘काठमाडौंमा कति रेट लाग्छ भन्ने थाहा छैन, त्यही भएर रेट नकाटेरै उठाएका हौं,’ उनले भने, ‘चिनियाँले जति दिन्छन्, त्यसमा आफ्नो सामान्य मार्जिन राखेर संकलकलाई दिने हो । पहिलेदेखि नै यस्तै चल्दै आएको छ ।’

अर्का व्यापारी फुन्जुक लामाले कसै–कसै संकलकसँग मात्र मूल्य नतोकेर यार्सा लिएको भए पनि अधिकांशको तोकेरै खरिद गरेको दाबी गरे । उनले १ सय किलोभन्दा बढी यार्सा खरिद गरेको बताए । उनले संकलकलाई १० देखि १३ लाख रुपैयाँसम्म प्रतिकिलो मूल्य दिएर खरिद गरेको बताए ।

चिनियाँ व्यापारीले यार्सा नउठाइदिएका कारण संकलकको रकम दिन नसकिएको र यार्सा बिक्री भएपछि चाँडै रकम भुक्तानी गरिने व्यापारीले बताएका छन् । संकलकबाट मूल्य नतोकेरै यार्सा खरिद गर्ने गरेका कारण ज्यान जोखिममा राखेर यार्सा टिप्ने संकलकले कम मूल्य पाउने र स्थानीय व्यापारीले बढी फाइदा लिने गरेको संकलकहरू बताउँछन् । यार्साको मूल्यका सम्बन्धमा सरकारले विदेशी ग्राहकसँग सहजीकरण गरेर निश्चित मूल्य तोकिदिएमा ठूलो संख्यामा रहेका स्थानीय संकलकलाई फाइदा हुने संकलक बताउँछन् ।

प्रकाशित : आश्विन २६, २०७४ ०९:०३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

रेस्टुरेन्ट वर्गीकरण गरिँदै

-स्वच्छताका आधारमा अतिउत्तम (तीन तारासहित हरियो), उत्तम (दुई तारासहित हरियो), सन्तोषजनक (एक तारासहित हरियो) र सामान्य (पहेंलो स्टिकर) लगाइने
-होटल/रेस्टुरेन्ट क्षेत्रलाई व्यवस्थित बनाउन खोजेका छौं : खाद्य प्रविधि
राजु चौधरी

काठमाडौं — सरकारले होटल/रेस्टुरेन्टलाई स्वच्छताका आधारमा ‘तारा चिह्न’ बाट वर्गीकरण गर्ने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सर्वसाधारणले देख्ने गरी तारा चिह्नमार्फत वर्गीकरण गर्न लागेको हो ।

विभागका अनुसार होटल, रेस्टुरेन्ट, भोजनालय, मिठाई पसल, चिया पसल, क्याटरिङ एवं क्यान्टिनलाई बर्गीकरण गरिनेछ । यसका लागि निर्देशिका तयार गरी कृषि मन्त्रालयमा पेस गरेको विभागका महानिर्देशक सञ्जीव कर्णले बताए । ‘उपभोक्ताको स्वास्थ्य तथा सुविधाका लागि खाद्य नियमावली २०२७ को नियम ३३ (क) ले दिएको अधिकार अनुसार खाद्य स्वच्छताको आधारमा होटल रेटुरेन्ट स्तरीकरण गर्ने सम्बन्धी निर्देशिका २०७४’ तयारी अवस्थामा छ,’ उनले भने, ‘मन्त्रालयबाट स्वीकृतसँगै कार्यान्वयन गर्छौं ।’ सरकारले पटक/पटक अनुगमन गरे पनि अधिकांश होटल/रेस्टुरेन्टमा सुधार हुन सकेको छैन । अनुगमनको क्रममा फोहोर, अस्तव्यस्तता र मनपरी मूल्य असुल्ने गरेको पाइन्छ । 

अनुगमनबाट सुधार हुन नसकेपछि उपभोक्ता सचेतनाका लागि ‘तारा चिह्न’ लगाउन लागिएको हो । निर्देशिकाअनुसार होटल रेस्टुरेन्टले प्राप्त गरेको अंकको आधारमा वर्गीकरण गरिनेछ । वर्गीकरणका लागि ५० वटा प्रश्नावाली तयारी गरिएको छ । सोही आधारमा अतिउत्तम (तीन तारासहित हरियो), उत्तम (दुई तारासहित हरियो), सन्तोषजनक (एक तारासहित हरियो) र सामान्य (पहेंलो स्टिकर) लगाइने जनाएको छ । विभागले यसअघि पनि हरियो, पहेंलो र रातो स्टिकर लगाउने जनाएको थियो । तर, प्रभावकारी हुन सकेन । त्यसलाई व्यवस्थित बनाउन पुनी तारा चिह्न लगाउन लागेको प्रवक्ता पूर्णचन्द्र वस्तीले बताए । ‘होटल/रेस्टुरेन्ट क्षेत्रलाई व्यवस्थित बनाउन खोजेका छौं । तारा चिह्नले राम्रो देखिन्छ,’ उनले भने, ‘सर्वसाधारणहरू सुसूचित हुन्छन् ।’ उक्त प्रमाणपत्र/लोगोको समयअवधि एक वर्ष हुनेछ । 

स्थानीयस्तरमा सञ्चालित होटल/रेस्टुरेन्टमा खाद्य स्वच्छता कायम गर्न होटल/रेस्टुरेन्टलाई खाद्य स्वच्छताका आधारमा स्तरीकरण गर्ने कार्यमा सहयोग गर्न स्थानीय तहमा स्थानीय खाद्य स्वच्छता समूह गठन गरिने भएको छ । त्यसका लागि छुट्टै कमिटी गठन गरिएको छ । निर्देशिकाअनुसार अनुगमन टोलीले लोगो वा प्रमाणपत्र प्रदान गरेका होटल/रेस्टुरेन्टको पुन: फलोअप अनुगमन/निरीक्षण गर्दा निर्धारित खाद्य स्वच्छता कायम नगरेको नपाइएमा लोगो तथा प्रमाणपत्र कुनै पनि बेला फिर्ता, जफत हुन सक्छ ।

निर्देशिकाअनुसार वर्गीकरण गर्दा होटलको बाहिरी परिधि सफा तथा फोहोरमुक्त भए/नभएको, भुइँ, भित्ता र सिलिङ नसोस्ने, सजिलै सफा गर्न सकिने किसिमले बनाइएको/नबनाइएको र तिनीहरू ठीक अवस्थामा रहे/नरहेको, खाद्य वस्तुको सम्पर्कमा आउने स्थलहरू उपयुक्त सामग्री प्रयोग गरी निर्माण गरिएको/नगरेको मूल्यांकन गरिनेछ । सरसफाइ गर्न प्रयोगमा ल्याइने रसायन तथा विषादीलाई खानेकुराहरूभन्दा टाढा, लेबल लगाई उपयुक्त तवरले भण्डारण गरिएको, खाडल नाली तथा चर्पीबाट बग्ने सबै फोहोर पानीलाई राम्रोसँग ढल निकासको व्यवस्थित प्रणालीमा जोडिएको हेरिनेछ । पानी आपूर्तिका पाइप तथा अन्य प्रयोगका पाइपहरू नचुहिने गरी जडान गरिएका, खाना बनाउने, खाना खुवाउने तथा भण्डारण कोठामा प्राकृतिक वा कृत्रिम प्रकाशको प्रर्याप्त व्यवस्था गरिएको समेत मूल्यांकन गरिनेछ । 

यस्तै, प्राकृतिक र यान्त्रिक भेन्टिलेसनको पर्याप्त व्यवस्था गरिएको, ढाकिएका फोहोरमैला राख्ने भाँडाहरूलाई खानेकुराहरू तयार गर्ने ठाउँ तथा त्यसको परिसरबाट अलग्गै राख्ने पर्याप्त व्यवस्था भएको, फोहोरमैला राख्ने भाँडाहरू नियमित रूपमा खाली गरी सफा गरिएको निरीक्षण गरिने निर्देशिकामा उल्लेख छ । कीट, चरा मुसाहरूलाई भित्र प्रवेश गर्नबाट रोक्न खुल्ला गरिने झ्याल तथा अन्य निष्क्रिय भेन्टिलेसनलाई जालीले ढाकिएको, खानेकुराको सम्पर्कमा आउने सम्पूर्ण उपकरण, भाँडाबर्तन तथा सतहलाई खानामा प्रयोग गर्न सकिने जीवाणु नाशक वस्तु र तातो पानी प्रयोग गरी सरसफाइ गरिएको मूल्यांकन हुन्छ । सरसफाइ प्रयोजनका लागि पर्याप्त पानीको आपूर्ति भएको, पिउने प्रयोजनका लागि प्रशोधित तथा पिउन योग्य पानीको व्यवस्था भएको, भान्छा, खाना खुवाउने स्थान, काउन्टरमा बसेर धुम्रपन गर्न, खाने र थुक्ने निषेध गरिएको, व्यक्तिगत सरसफाइका सवालका बारेमा सबै कर्मचारीहरूलाई राम्ररी तालिम दिने तथा नियमित रूपमा सुपरिवेक्षण गरिएको आधारमा वर्गीकरण हुने जनाएको छ । सोही आधारमा विभागले होटललाई तारा चिह्न उपलब्ध गराउने जनाएको छ ।

निर्देशिकाअनुसार ९० अंकभन्दा माथि प्राप्त गर्ने होटल अतिउत्तमभित्र पर्छन् । ती होटललाई ३ तारा र (क) सहित अतिउत्तम लेखिएको हरियो स्टिकर उपलब्ध गराइन्छ । यस्तै, ८० भन्दा माथि ८९ सम्म प्राप्त गर्ने होटलहरू उत्तमभित्र पर्छन् । ती होटललाई २ तारा र (ख) सहितका उत्तम लेखिएको हरियो स्टिकर उपलब्ध गराइन्छ । 

यस्तै, ६५ देखि ७९ अंक प्राप्त गर्ने होटलहरू सन्तोषजनकभित्र पर्छन । ती होटललाई १ तारा र (ग) सहित सन्तोषजनक लेखिएको हरियो स्टिकर दिइने जनाएको छ । ५० देखि ६४ अंकसम्म प्राप्त गर्ने होटललाई सामान्यअन्तर्गत वर्गीकरण गरिन्छ । ती होटललाई (घ) सहित सामान्य लेखिएको पहेलो स्टिकर उपलब्ध गराइने निर्देशिकामा उल्लेख छ । वर्गीकरण गरिएका होटलहरूले नियम उल्लंघन गरेमा एक महिनाभित्र सुधार गर्नुपर्ने हुन्छ । ६ महिनाभित्रमा पुन: निरीक्षण गर्दा सुधार भएको नपाइएमा स्तरीकरण लोगो एक तह घटाउने वा स्तरीकरण लोगो खारेज हुनसक्ने उल्लेख छ । 

प्रकाशित : आश्विन २६, २०७४ ०९:०३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT