२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

सयपत्री फूलको माग उच्च

-तिहारका लागि ४५ हजार मालाको माग आएकोमा ३० हजार बिक्री गर्ने तयारी
-विवाह, पूजापाठ, सांस्कृतिक कार्यक्रममा पनि फूलको माग बढ्दो
विमल खतिवडा

चितवन — तिहार नजिकिएसँगै सयपत्री फूलको माग बढेको छ । व्यावसायिक रूपमा फूल खेती गरेका चितवनका किसानलाई माग धान्न भ्याइनभ्याइ छ ।

 सयपत्री फूलको माग उच्च

भरतपुर महानगरपालिका ७ स्थित उज्ज्वल टोलमा समूहले व्यावसायिक रूपमा सयपत्री फूल खेती गरेको छ । डेढ बिघामा लगाएको फूलको माला उनेर काग तिहारबाट बिक्री गर्ने समूहका अध्यक्ष ईश्वरकुमार श्रेष्ठले बताए । ‘फूलको माग धेरै छ,’ उनले भने, ‘माग धान्न सकिएको छैन ।’

उनका अनुसार माग ४५ हजार मालाको भए पनि ३० हजार बिक्री गर्ने लक्ष्य छ । एउटा माला ७० रुपैयाँमा बिक्री हुने गरेको छ । फूलको व्यवस्थित बजार नभए पनि माला जिल्लाभित्रै खपत हुने गरेको छ । त्यस्तै छिमेकी जिल्ला नवलपुर र गोरखामा समेत जाने गरेको छ । हिजोआज विवाह, पूजापाठ, सांस्कृतिक कार्यक्रममा पनि फूलको माग आउने गरेको श्रेष्ठले बताए । फूल खेती गर्ने समूहमा २४ जना महिलासहित २८ जना छन् । समूहमार्फत ०७३ सालबाट खेती सुरु गरिएको हो । यस वर्ष २१ लाख रुपैयाँको माला बिक्री हुने समूहको अनुमान छ ।

जग्गाको भाडा वार्षिक ४५ हजार रुपैयाँ तिर्ने गरिएको छ । समूहमार्फत गरिएको खेतीमा ६ लाख रुपैयाँ लगानी भएको उपाध्यक्ष गोमा बरालले बताइन् । ‘फूलको बजार भए पनि सिँचाइको समस्या छ,’ उनले भनिन्, ‘सरकारी निकायबाट सहयोग पाए अझै खेतीलाई व्यवस्थित गर्न सकिन्थ्यो ।’ स्थानीय महिलाले फूलको माला उन्ने रोजगारी पाएका छन् । फूल बगैंचाबाटै टिपेर ल्याई माला तयार पारे एउटा मालाको ५ रुपैयाँ पाउनेछन् । त्यस्तै माला मात्र उनेमा एउटा मालाको ३ रुपैयाँ पाउनेछन् । एक जनाले दैनिक २ सयभन्दा बढी माला तयार पार्छन् । ‘पहिला दिउँसो घरमै बसेर बित्थ्यो,’ स्थानीय उजेली थापा मगरले भनिन्, ‘हाल फूल आम्दानी गर्ने माध्यम बनेको छ ।’ उनले आफैंले फूल टिपेर माला उन्ने गरेको बताइन् । हाल सयपत्री फूल ढकमक्क फुलेको छ । बगैंचाले सबैलाई मोहित बनाउने गरेको छ । श्रेष्ठले व्यक्तिगत रूपमा पनि ४ कट्ठा जग्गामा फूल लगाएका छन् । ०७१ सालबाट उनले फूलखेती सुरु गरेका हुन् । उनले वार्षिक डेढ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । ‘सरकारी विद्यालयबाट अवकाश पाएपछि यो पेसामा हात हालें,’ उनले भने, ‘पेसाबाट सन्तुष्ट छु ।’

प्रकाशित : आश्विन २७, २०७४ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?