कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहाडी जिल्लामा उडान गर्न दुई जहाज मात्रै

-हुम्ला र डोल्पाका यात्रु बढी समस्यामा
-मानसरोवर यात्रामा चार्टर गर्ने निजी विमान कम्पनी सर्वसाधारणलाई ओसार्न मान्दैनन्
कृष्णप्रसाद गौतम

नेपालगन्ज — चाडबाडसँगै मानसरोवर यात्राको समेत चाप हुँदा नेपालगन्जबाट पहाडी जिल्लामा नियमित रूपमा दुई जाहाजले मात्रै उडान गरिरहेका छन् । एक महिनायता तारा एयरलाइन्सको जहाजले मात्र नियमित उडान भर्दै आएको छ ।

अन्य विमान कम्पनीले पालोमा जहाज नेपालगन्ज विमानस्थलमा पठाउने गरेका छन् । मंगलबार दिउँसो १२ बजे नेपालगन्ज विमानस्थलमा आएको सीता एयर मुगुमा एक उडान भरी पूर्वी क्षेत्रमा फर्किएको छ । मंगलबार आएको गोमा (समित) एयर बुधबार र बिहीबार उडान गरेर पूर्वी क्षेत्रमा गएको विमानस्थल कार्यालयले जनाएको छ । 

विमानस्थलको भौतिक सेवा सुविधा व्यवस्थित बन्दै गए पनि मागअनुसार जहाज उपलब्ध नहुँदा यात्रुहरूलाई समस्या परेको नेपालगन्ज नागरिक उड्डयन कार्यालयले जनाएको छ । कार्यालयका क्षेत्रीय निर्देशक प्रतापबाबु तिवारीका अनुसार अहिले निजी कम्पनीका अधिकांश जहाजहरू लुक्लामा उडानका लागि गएका छन् । ‘यहाँ भारतीय पर्यटकको चाप कम भएपछि निजी विमान कम्पनीका जहाज पूर्वी क्षेत्रमा उडानका लागि पठाइएका छन्,’ निर्देशक तिवारीले भने,‘हामीले यात्रुलाई मर्कामा नपार्न पटकपटक ताकेता गरेका छौं । सबैले सेड्युल मेन्टेन गर्ने भन्दै जहाज पूर्वी क्षेत्रमा लगेका हुन् ।’ उनका अनुसार पूर्वी क्षेत्रमा उडानको चाप बढी भएकाले पूर्वमा जहाजहरू केन्द्रित भएका हुन । नेपालगन्जमा रहेका जहाजलाई पहिले सहुलियतको उडान भर्न र त्यसपछि मात्र चार्टर गर्न निर्देशन गरिएको तिवारीको भनाइ छ । 

मानसरोवर/कैलाश यात्रा सिजनको समयमा नेपालगन्ज विमानस्थलमा भारतीय पर्यटकको भीड अत्यधिक हुने गरेको छ । यो वर्ष करिब १५ हजारभन्दा बढी भारतीय पर्यटकले मानसरोवर यात्रा गरे । त्यसका लागि नेपालगन्ज–सिमकोट दैनिक २५ वटासम्म उडान भए । निजी जहाज कम्पनीले भारतीय पर्यटक नेपालगन्जदेखि हुम्ला ओसार्दा चार्टरमा लिने गरेका थिए । यात्राका बेला नेपालगन्ज विमानस्थलमा १० वटा जहाज तैनाथ थिए । 

दसैंको दुई साताअघि तारा, गोमा (समिट) र सीता एयरलाइन्सले यहाँ रहेका ८ जहाज अन्यत्रै लगेपछि चाडपर्वको बेला कर्णाली र अन्य पहाडी जिल्लामा जाने यात्रुहरू मर्कामा परेका छन् । तिहार नजिकिएकाले पहाडी र कर्णालीका जिल्लामा जाने र आउने यात्रुको चाप बढदो छ । 
जहाज कम भएपछि सडक सुविधा नपुगेको डोल्पा र हुम्लाका स्थानीयहरू नेपालगन्ज आसपासका होटेलहरूमा अलपत्र परिरहेका छन् । अधिकांश निजी जहाज कम्पनीले नेपालगन्जलाई नै बेस स्टेसन बनाए पनि दसैं र तिहारका बेला अन्यत्रै उडान भर्न थालेपछि यात्रुहरू मर्कामा परेका हुन् । नागरिक उड्डयन प्राधिकरणका अनुसार गोमा (समिट), सीता र ताराले उडान अनुमति लिँदा नेपालगन्जलाई बेस स्टेसन बनाएका थिए । नेपाल एयरलाइन्सको जहाज पर्याप्त नहुँदा सातामा दुई दिन मात्र उडान गर्ने गरेपछि यात्रुहरूलाई निजी जहाजको भर पर्नुपर्ने बाध्यता छ । निजी जहाजहरूले मानसरोवर यात्राबाहेक अन्य समय पूर्वी क्षेत्रका उडानलाई प्राथमिकता दिएका छन् । 

पर्याप्त जहाज नहुँदा नेपालगन्जमा लामो समय बस्नुपर्ने बाध्यता भएको हुम्ला सिमकोटका कर्मा लामाले बताए । उनले जहाज थोरै हँुदा टिकट पाउन मुस्किल भएको बताए । टिकट पाइए पनि उडान नहुँदा महँगो खर्च गरेर बस्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । उनले मानसरोवर यात्राको सिजनमा हुम्लामा उडान भर्न भ्याइनभ्याइ हुने निजी कम्पनीले अहिले यात्रुको समस्यालाई बेवास्ता गरेको बताए । कर्णालीका हुम्ला, जुम्ला, मुगु र डोल्पा, रूकुमको चौरजहारी र सल्ले तथा बाजुरा विमानस्थलमा नेपालगन्जबाट उडान हुने गरेको छ । जहाज कम हुँदा डिले हुने समस्या बढदै गएको विमानस्थलका कर्मचारीको भनाइ छ । 

प्रकाशित : आश्विन २७, २०७४ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?