कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

गुणस्तरहीन काम गर्ने ठेकेदारलाई उन्मुक्ति

मध्यपहाडी लोकमार्ग आयोजनाको लापरबाहीले पुलमा भ्वाङ
सुशासन समितिको निर्देशनसमेत पालना भएन
ज्योति कटुवाल

दैलेख — राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग आयोजनाअन्तर्गत पर्ने दैलेखको पादुकाखोला पुलमा निर्माण सम्पन्न भएकै वर्षदेखि भ्वाङ परेको छ । तीन वर्षअघि निर्माण सम्पन्न भए पनि भ्वाङ मर्मत–सुधार नगरेरै ठेकेदारले आयोजनालाई पुल हस्तान्तरण गरेका छन् । ०६८ देखि निर्माण सुरु गरेको महालक्ष्मी/जयदेवी/एसएस जेभीले ०७१ भदौमा आयोजनालाई हस्तान्तरण गरेको हो ।

गुणस्तरहीन काम गर्ने ठेकेदारलाई उन्मुक्ति

पुलको दायाँ–बायाँ परेका ठूल्ठूला भ्वाङका कारण यातायात सञ्चालन हुन नसकेपछि त्यति बेलै स्थानीयवासीले विरोध गरेका थिए । तत्कालीन प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेको संयोजकत्वमा रहेको जिल्ला सुशासन, अनुगमन तथा सुपरिवेक्षण समितिसमक्ष बारम्बार गुनासो गरिएको थियो । गुनासाका आधारमा व्यवस्थापिका संसद्को सुशासन समितिका सदस्य एवं दैलेख–१ का सांसद अम्मरबहादुर थापासहितको टोलीले स्थलगत अनुगमन गरी पुलमा देखिएका त्रुटि तत्काल सच्याउन निर्देशन दिएको थियो । समितिले दिएको निर्देशनसमेत आयोजना र निर्माण कम्पनीले अझै पालना गरेका छैनन् । यसले यातायात सञ्चालन प्रभावित भएको छ । ‘अनौठो कुरा भ्वाङ परेकै अवस्थामा पुल हस्तान्तरण गरियो,’ स्थानीय सञ्चारकर्मी मदन विकले भने, ‘ठेकेदार स्थानीय भएकाले कसैले चर्को विरोध गर्न सकेनन् । मध्यपहाडीका इन्जिनियरहरूले पनि वास्तै गरेनन् ।’ त्यस क्षेत्रका बासिन्दाले निर्माण कम्पनीका प्रतिनिधि दिक्पाल शाही र आयोजनाका प्राविधिककै मिलेमतोमा गुणस्तरहीन पुल निर्माण भएको आरोप लगाए । शाही चामुण्डा बिन्द्रासैनी नगरपालिकाअन्तर्गत पर्ने जम्बुकाँधका बासिन्दा हुन् ।

दैलेखबजार, वडलम्जी, पादुका हुँदै पश्चिम जम्बुकाँध जोड्ने यो पुल पादुकाखोलामा पर्छ । तीन वर्षदेखि उक्त पुल दयनीय अवस्थामा छ । पुलमा ठूलाठूला भ्वाङका कारण यात्रुहरूले मोटरसाइकल वारपार गर्नसमेत कठिनाइ भोग्नुपरेको छ । कमसल निर्माण सामग्री प्रयोगका भ्वाङ परेको, पर्खाल भत्केको बताइएको छ । दुई करोड १९ लाख ८६ हजार ६७ रुपैयाँ लागतमा निर्माण भएको उक्त पुल हाल प्रयोगविहीनझैं बनेको छ । स्थानीय तहका जनप्रतिनिधिले समेत मध्यपहाडी आयोजना र ठेकेदारलाई पुल सुधार गर्न दबाब दिन नसकेको आरोप छ । ठेकेदार स्थानीय भएकै कारण सबै डराएको अर्का स्थानीय महेन्द्र शाहीले बताए । दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले मध्यपहाडी लोकमार्ग आयोजनाको स्थानीयस्तरमा अनुगमन संयन्त्र नहुँदा निर्माण गुणस्तरहीन भएको स्विकारे । फिल्ड कार्यालय नहुँदा ठेकेदारहरूबाट लापरबाही हुने गरेको उनको भनाइ छ । आयोजनाको पश्चिम खण्ड कार्यालय तुल्सीपुर दाङमा छ ।

ठेकेदार दिक्पाल शाहीले प्राविधिक इस्टिमेट नै गलत हुँदा पुलमा भ्वाङ परेको बताए । तत्कालीन इन्जिनियर शेखर योगीले त्रुटिपूर्ण डिजाइन गरेको बताइएको छ । उक्त खण्डमा हाल कार्यरत इन्जिनियर तुलाराम पाण्डेले नालाहरूको मर्मत नहुँदा पानीको भार थेग्न नसकेर पुलमा असर पर्न गएको बताए । उनले अघिल्ला प्राविधिकहरूबाट गल्ती भएको स्विकार्दै आफूले सुधारका लागि आयोजनाको कार्यालयमा प्रक्रिया अघि बढाइसकेको जनाए ।

प्रकाशित : आश्विन २९, २०७४ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?