निकुञ्जमा जिप सफारी खुला

विमल खतिवडा

सौराहा — साढे तीन महिनादेखि बन्द चितवन निकुञ्जभित्रको जिप सफारी शनिबार खुला भएको छ । वर्षातको समयमा बन्द रहने जिप सफारी योपटक भने पर्यटकीय सिजन सुरु भएको केही ढिला खुला भएको हो । यो वर्ष ठूलो बाढी आएर ढिलो भएको हो ।

निकुञ्जमा जिप सफारी खुला

हाल दैनिक १६ भन्दा बढी जिपमा निकुञ्जभित्र पर्यटक घुम्ने गरेका छन् । ‘सौराहा घुम्न आउने ८० प्रतिशत बढी पर्यटकले जिप सफारी गर्न रुचाउँछन्,’ क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले भने, ‘तर, पहिलाभन्दा अहिले केही ढिला सफारी सुरु गरिएको हो ।’ उनले सिजन सुरु भएकाले बिस्तारै पर्यटक आगमन बढदै जाने बताए । निकुञ्जमा जिप सफारी सुरु भएसँगै पर्यटक दंग छन् ।

निकुञ्ज घुम्न आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने गरेको छ । यसअघि वर्षातका कारण असारदेखि भदौसम्म जिप सफारी बन्द हुने गथ्र्यो । हाल भने असोज अन्तिममा आएर सुरु भएको हो । निकुञ्जमा गैंडा, बाघ, भालु, चित्तल, बँदेल, चरा प्रत्यक्ष देखिने भएकाले जिप सफारी गर्न पर्यटकहरूबीच प्रतिस्पर्धा चल्ने गरेको छ । ‘जिप सफारी खुला भएसँगै निकुञ्ज घुम्ने पर्यटकको भीड बढदै गएको छ,’ संघका सचिव दामोदर रेग्मीले भने, ‘अहिले दैनिक १६ वटा जिप चलेका भए पनि बिस्तारै संख्या बढदै जानेछ, ३५ वटाभन्दा माथि पुग्नेछ ।’

उनले हात्ती सफारीमा पनि पर्यटकको चाप बढेको बताए । सार्वजनिक बिदाको दिन घुम्न आउनेको भीड बढी हुन्छ । बाढीले क्षति पुर्‍याएको राप्ती किनारका रेस्टुरेन्ट सञ्चालनमा आएसँगै किनारमा बसेर रमाउने आन्तरिक पर्यटकको जमात बाक्लो छ । परिवारसँग घुम्न आउने बढेका छन् । हात्ती, डुंगा र जिप सफारी गर्ने पर्यटकको संख्या बढदो क्रममा छ । जिप सफारी बन्द हुँदा गाइडको सहयोगमा पर्यटक पैदल यात्रामार्फत निकुञ्ज घुमेर रमाउने गरेका थिए ।

निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार तीनतिरकै रुटमा जिप सफारी खुला भएको छ । कसरा–सौराहा, कसरा–सुखीभार र अमलटारी–भिम्लेमा सुरु भएको हो ।

‘बाढीले गर्दा निकुञ्जभित्र जिप हिँड्ने बाटो बिग्रिएको थियो, पुल भत्किएका थिए,’ उनले भने, ‘मर्मत गरिएपछि जिप सफारी सुरु गरिएको हो ।’ उनका अनुसार बिहान बेलुका घुम्न आउने पर्यटकको भीड लाग्ने गरेको छ ।

प्रकाशित : आश्विन ३०, २०७४ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?