नापतौलमा ठगी

कान्तिपुर संवाददाता

कास्की — गुणस्तर तथा नापतौल विभागले प्रमाणित गरेका ढकतराजु या डिजिटल तौल मेसिनले नापतौल गर्नुपर्छ । तर, महानगरका कतिपय स्थानमा व्यवसायीले ढुंगालाई ढक भनेर व्यवहार ल्याइरहेका छन् ।

पाल्पा घर भइ पोखराको लामाचौर बस्ने इन्जिनियरिङ क्याम्पसका विद्यार्थी केदार घिमिरे भन्छन्, ‘तरकारी किन्दा कहिले ढुंगाको ढक हुन्छ, कहिले नुनको पोकोको ।’ नियमले ढुंगा वा अरू त्यस्तो केही राखेर तौल लिन नपाइने छ । उनले भने, ‘गुनासो गर्‍यो कि व्यापारी झर्केर दुव्र्यवहार गर्छन् ।’ गोरखा घर भई पोखराको बागबजारमा बस्दै आएकी सुनिला तामाङ पसलेले किलोमा लानेलाई ढकको प्रयोग गरे पनि आधा किलोभन्दा कम तौलका वस्तु किन्दा ढुंगाको प्रयोग गर्ने गरेको बताइन् । ‘किलोको ६० रुपैयाँ रेट भए पनि पाउ लानेले २० रुपैयाँ तिर्नुपर्छ,’ उनले भनिन्, ‘रेटमा आफूखुसी छ, नापतौलमा झनै मनपरी ।’

सम्बन्धित निकायले बजार अनुगमन नगरिदिँदा व्यापारी छाडा भएको उनले बताइन् । ‘पैसा धेरै हुनेलाई फिक्री हुन्न, ठगिने त हामीजस्ता मजदुर हो,’ उनले भनिन्, ‘नापतौल र बजारको रेट कसले हेर्छ कुन्नि ?’ स्याङजा घर भई बगरमा बस्दै आएकी खगिसारा थापामगर तरकारीमा मात्र नभई अरू खाद्य पदार्थमा पनि उपभोक्ता नापतौलमा ठगिएको बताउँछिन् । ‘सम्बन्धित निकायले यसरी बजार नहेर्ने हो भने ठगको मनोबल बढ्छ,’ उनले भनिन्, ‘हेर्दा झिनामसिना लाग्ने कुरामा पनि सरकारलाई धर्ना, जुलुस र नाराबाजी भयो भने मात्रै समस्या छ भनेर थाहा हुने हो कि ?’

गुणस्तर नापतौल विभाग गुणस्तर तथा नापतौल कार्यालयले भने बजारको निरन्तर अनुगमन भइरहेको दाबी गरेको छ ।

प्रकाशित : आश्विन ३०, २०७४ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?