कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

एक सातामै ५०९ व्यवसायीलाई कारबाही

आन्तरिक राजस्व विभागद्वारा अनुगमन
राजु चौधरी

काठमाडौं — एक साताको अवधिमा ५ सय ९ व्यवसायीलाई कारबाहीको दायरामा ल्याएको आन्तरिक राजस्व विभागले हाल अनुगमन पुन: सुस्त बनाएको छ ।

चाडपर्वको मुखमा उपभोक्ता ठगी भएको गुनासोपश्चात् विभागले भदौ २७ देखि अनुगमन तीव्र बनाएको थियो । विभागले असोज ४ गतेसम्म ३ हजार १ सय ८६ व्यावसायिक फर्ममा अनुगमन गरी ५ सय ९ करदातालाई कारबाहीको दायरामा ल्याएको थियो । व्यवसायीले उपभोक्तासँग उच्च मूल्य असुुल गर्ने, बिलबीजक जारी नगर्ने, न्यूनबीजकीकरणलगायत फेला परेपछि कारबाही गरेको विभागको दाबी थियो । तर, त्यसपश्चात् अनुगमन सुस्त देएिको छ । विभागले अनुगमनलाई तीव्र बनाएको दाबी गरे पनि २५ दिनको अवधिमा ७ सय १९ व्यावसायिक फर्ममा मात्रै अनुगमन भएको छ । त्यसक्रममा १ सय ६ करदातालाई कारबाही गरेको विभागको तथ्यांक छ ।

विभागका महानिर्देशक किशोर कार्कीले कर्मचारी सरुवाका कारण अनुगमन प्रभावकारी हुन नसकेको बताए । ‘दसैंलगत्तै करिब २ सय कर्मचारीको सरुवा भयो । कर्मचारी सरुवाले अनुगमन पनि प्रभावित हुन पुग्यो,’ उनले भने, ‘अनुगमनलाई निरन्तरता दिए पनि प्रभावकारी रूपमा गर्न सकेनौं ।’ अब तिहारलगत्तै अनुगमन तीव्र बनाइने उनले दाबी गरे । ‘नयाँ कर्मचारीहरू थपिएका छन्,’ उनले भने, ‘अनुगमनलाई पुन: तीव्रता दिन्छौं ।’

कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ अनुसार २० प्रतिशतभन्दा बढी नाफा राखेर बिक्री गर्न पाइँदैन । तर, व्यवसायीले शत प्रतिशत मुनाफा राखेको पुष्टि आपूर्ति विभागले गरेको छ । मिलेमतोमा न्यून बीजकीकरण गरेको, भन्सार, आन्तरिक राजस्वले अनुगमन नगरेको आलोचना भएपछि आन्तरिक राजस्व विभागले पनि अनुगमन गरेको हो । विभागका अनुसार कसुरअनुसार १ हजारदेखि १० हजार रुपैयाँ जरिवाना गरिएको छ । व्यवसायीले प्रमाणपत्र, दर्ताका कागजहरू नराखेमा १ हजार रुपैयाँसम्म जरिवाना गरिएको छ । बिलबीजक जारी नगरेको अवस्थामा प्रत्येकपटक ५ हजार रुपैयाँको दरले जरिवाना हुन्छ । कर चुहावट हुँदा उठाएको करको शत प्रतिशतसम्म जरिवानाको प्रावधान रहेको विभागले जनाएको छ । अहिले भने बिल जारी भए/नभएको र खाता, करपाटीलाई प्राथमिकता दिइएको विभागको दाबी छ ।

विभागका उपमहानिर्देशक एवं प्रवक्ता यज्ञप्रसाद ढुंगेलले विभागअन्तर्गतका ३६ वटा कार्यालयबाट अनुगमन भएको बताए । ‘भदौ २७ गतेदेखि सुरु भएको बजार अनुगमनमा प्रत्येक कार्यालयबाट ३/३ वटा टोली परिचालन गरेका छौं,’ उनले भने । ४ सय ४२ वटा टोलीले ३ हजार ९ सय ५ वटा करदाताको अनुगमन गरेको छ । कर कानुन पालना नगर्ने ६ सय १५ करदातालाई प्रचलित कानुनबमोजिम जरिवाना तथा अन्य कानुनी कारबाही गरिएको उनले बताए ।

‘२७ गते यता ६ सय १५ करदातालाई कारबाही गरेका छौं,’ उनले भने । ती करदाताबाट ३८ लाख ४८ हजार जरिवानासमेत गरेको जनाएको छ । टोलीले नक्कली स्टिकरको प्रयोग, अवैध मदिराको प्रयोग, करपाटी नराख्ने, विवरणहरू पेस नगर्ने, खाता अद्यावधिक नगरिएको, दर्ता नगरी कारोबार गरेको, घरबहाल कर दाखिला नगरेको, बिलबीजकको प्रयोग नगरिएकोलगायत फेला परेपछि कानुनी कारबाही गरेको हो । २१ वटा करदाताबाट थप कागजपत्र माग गरी अनुसन्धान भइरहेको विभागको दाबी छ ।

विभागका अनुसार अनुगमनका क्रममा अन्त:शुल्क स्टिकर नलगाइएका गुट्खा तथा इजाजत नलिई कारोबार गरेको मदिरा र अन्त:शुल्क स्टिकरको प्रयोग नभएको मदिरा बरामद भएको छ । कर अधिकृतको नेतृत्वमा खटिएको टोलीले कारबाहीमा परेका र थप शंकास्पद देखिएका करदाताहरूलाई थप अनुसन्धानका लागि खरिद बिक्री खाता नियन्त्रणमा लिएर कार्यालयमा उपस्थित हुन पत्राचार गरेको विभागले जनाएको छ । ‘बजारमा बिलबीजक जारी नगर्ने करदाताको व्यवहारमा सुधार नभएमा थप कडा रूपमा प्रस्तुत हुन्छौं,’ उनले भने, ‘अनुगमनलाई वर्षभरि नै निरन्तरता दिन्छौं ।’ यता आपूर्ति विभागले पनि अनुगमन निरन्तरता दिएको दाबी गरेको छ । तर, विभागको अनुगमन खुद्रा पसलमा मात्रै केन्द्रित छ । विभागले दैनिक अनुगमन गरेको दाबी गरे पनि सर्वसाधारणले अनुभूति गर्न पाएका छैनन् । ‘अनुगमन दैनिक भएको छ,’ विभागका महानिर्देशक कुमार दाहालले भने ।

प्रकाशित : आश्विन ३१, २०७४ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?