कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

मुडेघारमै मौरीपालन

कान्तिपुर संवाददाता

डोटी — यहाँका दक्षिणी भेगका किसानहरू अझै पनि व्यावसायिक मौरीपालनप्रति आकर्षण हुन सकेका छैनन् । पुस्तौंदेखि मह उत्पादन गर्दै आएका उनीहरू परम्परागत मुडेघार त्याग्न सकेका छैनन् । बरु थप आकर्षित देखिन्छन् ।

मुडेघारमै मौरीपालन

बिपीनगर, मान्नाकापडी, बर्छैन, घांगललगायतका गाउँका प्राय: घरधुरीमा दुई/चार मौरी घार सहजै देख्न सकिन्छ । मह बेचेर सामान्य घरखर्च चलाउन तथा घरमै खानका लागि प्राय: किसानले मुडेघार राख्ने चलनै छ । आधुनिक घारमा रूपान्तरण गरी किसानहरूलाई व्यावसायिक बनाउने प्रयासमा धेरै संघसंस्थाहरू रहे पनि डोटीमा सफल हुन सकेका छैनन् ।
‘बर्सेनि हामीले तालिम दिने, सम्झाउने बुझाउने गरेका छौं,’ मौरीपालकलाई सहयोग गर्दै आएका स्थानीय हर्क घर्तीमगरले भने, ‘तर किसानहरू आधुनिक घारमा मौरी पाल्न झन्झट मान्ने, मुनाफा सुरक्षित नदेख्ने जस्ता समस्याले मुडेघारमै सन्तुष्ट देखिन्छन् ।’
मुडेघारमा खासै मेहनत गर्नुपर्दैन । मौरी पनि आफैं बस्ने र मौसम, तापक्रम तथा आहारामा ध्यान नदिँदा पनि वार्षिक रूपमा एकै घारबाट ५/६ लिटर मह उत्पादन हुन्छ । ‘मेहनत नै नगरी मह उत्पान गर्ने बानी परेका किसानलाई आधुनिक घार अपनाउन कठिनाइ हुन्छ,’ मुडेघार र आधुनिक घार दुवैबाट मह उत्पादनको व्यवसाय गर्दै आएका घांगलका होम खत्रीले भने । उनको आफ्नै अनुभवमा मुडेघारभन्दा आधुनिक घारमा तेब्बर बढी उत्पादन हुने गर्छ । तर, मेहनत, जाँगर र प्राविधिक ज्ञानमा भने किसान निपुण हुनुपर्नेमा उनको जोड छ । खत्रीसँग १० वटा आधुनिक घार र ८ वटा मुडेघार छन् ।
जिल्ला कृषि विकास कार्यालयका अधिकृत तपेन्द्र शाह खत्रीको भनाइसँग सहमति जनाउँछन् । उनको बुझाइमा आधुनिक घारबारे किसानलाई पर्याप्त तालिम, व्यावसायिक भावनाको विकास गर्न जरुरी छ । आधुनीक घारमा मौरी पाल्दा वर्षामा, धेरै जाडो हुँदा या धेरै चिसो हुँदा ध्यान दिनुपर्ने शाहले बताए ।
विभिन्न संघसंस्थाले दक्षिण क्षेत्रमा पर्याप्त आधुनिक घारहरू वितरण गरे पनि किसानलाई प्रभावकारी तालिम भने दिइएको छैन । हचुवामा किसानलाई घार वितरण गरेर संघसंस्थाहरूले आधुनिक घारप्रति नकारात्मक भावना सिर्जना गरिदिएका छन् । ‘तालिम हुन्न, घरमा आई घार थमाइदिन्छन्,’ बर्छैनका ईश्वर बमले भने, ‘आधुनिक घारमा अपनाउनुपर्ने विधि नअपनाएपछि किसानहरू मौरी नै बस्दैन भनेर आकर्षित हुन नसकेका हुन् ।’ गत वर्ष मात्रै जिल्ला कृषि विकास कार्यालय डोटीले सय आधुनिक घार दक्षिण क्षेत्रमा वितरण गरेको थियो । कृषि विकास अधिकृत डा. शाहका अनुसार डोटीबाट वार्षिक १५ टनभन्दा बढी शुद्ध मह जिल्ला बाहिर निर्यात हुने गर्छ । मुडे घारबाट मह उत्पादन गर्ने विधिलाई आधुनिक घारमा रूपान्तरण गर्न सके दोब्बर निर्यात हुनेछ ।

प्रकाशित : आश्विन ३१, २०७४ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?