कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्याङ्जामा तिहारमा फूलको अभाव

बजार प्लास्टिक र कागजका फूलले भरिभराउ
प्रतिक्षा काफ्ले

स्याङ्जा — तिहारको भाइटीका आउन अब ३ दिन मात्र बाँकी छ । तर, तिहारमा पहिलो प्राथमिकतामा राखिँदै आएको गुथे (फूल)को भने जिल्लामा अभाव देखिन्छ । गत वर्षको तुलनामा तिहार चाँडै परेका कारण फूल अभाव भएको हो ।

स्याङ्जामा तिहारमा फूलको अभाव

तिहार सुरु भइसक्दा समेत फूल्नुपर्ने फूलका बोटहरु यत्तिकै छन‍् । कतिपय ठाउँमा फूल फूल्ने तयारी भइरहेको छ । तिहारमा लगाइने सयपत्री, गोदावारी, गुथेलगायत फूलको अभाव भएपछि बाहिरी जिल्लाबाट किनेर ल्याउने तयारीमा रहेको स्थानीय बताउँछन् । बजारमा पाइने कृत्रिम प्लास्टिकको फूल किनेर पूजामा सजाउँदै आएका छन् ।

स्याङ्जामा फूलको व्यावसायिक खेती नभएको र गाउँघरका मानिसहरुले फाट्फुट रुपमा लगाइने फूलले काम चलाउँदै आए तापनि गाउँ छाडेर बजार झर्ने क्रमसँगै फूलको अभाव खड्किएको स्थानीय माधव शर्मा पौडेल बताउँछन । ‘पोहोरपरार त तिहारको मुखमै मजाका गुथा हुन्थे’उनले भने, ‘यो वर्ष भने कुनै ठाउँमा पनि देख्न पाइएको छैन । बजारमा फूल बिक्री गर्न आउनेहरु पनि देखिँदैनन् ।’उनले फूल फूल्ने समय अझै नभइसकेको र तिहार केही समयअघि पर्नाले फूलको समस्या देखिएको बताए ।

छिमेकी जिल्ला कास्कीबाट प्रशस्त रुपमा फूलमाला किनेर ल्याउन पाइने भएपछि मानिसहरु दु:ख गर्नभन्दा किन्नतर्फ बढी आकर्षित हुने गरेको स्थानीय कमला गोदार बताउँछिन् । ‘यसपालिको तिहारमा चार जना भाइलाई टीका लगाउने हो’उनले भनिन्, ‘तर, घरमा एउटा फूल पनि छैन । घरमा पुग्ने फूल त हुन्थ्यो तर यो वर्ष बोट मर्ने र भएका पनि नफक्रिएपछि बजारमै किन्न जानुपर्ने भयो ।’उनले पोखरा गएर फूलको माला किनेर ल्याउने तयारीमा रहेको बताइन् । उनीहरु जस्तै यहाँका बासिन्दाहरु एक दुई घण्टाको दूरी पोखरा पुगेर फूलमाला किनेर ल्याउने तयारीमा रहेको बताउँछन् ।

स्याङ्जाका बजार क्षेत्रहरु प्लास्टिक र कागजका फूलले भरिभराउ भएका छन् । बजारमा मात्र नभई ग्रामीण भेगका मानिसले पनि तिहारमा घर सजाउन प्लास्टिक र कागजकै फूलहरु किन्न आउने गरेको व्यापारीहरु बताउँछन् । ‘पोहोरजस्तै यो वर्ष गाउँबाट फूल नै झरेका छैनन्’ व्यापारी सञ्जय मिश्र भन्छन्, ‘किराना पसल छाडेर तिहारको बेला बढी व्यापार हुने प्लास्टिकका फूल बेचेर बसेको छु । कागजकै फूल किन्न आउने मानिसहरुको भीड बढेको छ ।’उनले ठेलामा प्लास्टिक र कागजकै फूल बिक्री गरेर एक दिनमै सोचेभन्दा बढी आम्दानी भएको बताए ।

पुतलीबजार नगरपालिका-१ स्थित काजीमान श्रेष्ठको घरमा फूलेका फूलहरु ।
तस्बिर : प्रतिक्षा काफ्ले/कान्तिपुर ।

प्रकाशित : कार्तिक १, २०७४ १५:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?