बैंक खुलेपछि गाउँमा सजिलो

कान्तिपुर संवाददाता

पैयुँ (पर्वत) — पैयुँ हुवासकी अम्बिका शाहलाई तीन वर्षअघिसम्म श्रीमान्ले विदेशबाट पठाएको रकम लिन स्याङ्जाको वालिङ वा सदरमुकाम कुस्मा पुग्नुपथ्र्यो । बजार पुगेर एक्लै पैसा लिएर फर्कन डर भएपछि मेसो मिलाएर साथीसँग बजार पुगेर फर्कन ३ दिन बित्थ्यो ।

अब उनको त्यो सास्ती घटेको छ । बजार आउजाउ गर्दा लाग्ने खर्च पनि बचत भएको छ । गाउँमै बैंक खुलेपछि यस्तो भएको हो । श्रीमान्ले कतारबाट तिहारका लागि पठाएको खर्च लिन पैयुँ गाउँपालिकाको केन्द्र हुवास आएकी मैनादेवी काफ्लेले गाउँमै बैंक खुलेपछि धेरै सहज भएको बताइन् । ‘पहिला २० हजार लिन कुस्मा पुगेर फर्किंदा ८/१० हजार बाटामै सकिन्थ्यो,’ उनले भनिन्, ‘हिजोआज दैलामै बैंक खुलेपछि धेरै सुविस्ता भएको छ ।’ बिहानको खाना खाएर स्थानीय बैंक पुगेकी उनले केहीबेरमै श्रीमानले पठाएको रकम लिएर फर्कन पाइन् ।

पैयुंमा खुलेका गण्डकी, गरिमा र कृषि विकास बैंकले स्थानीयलाई सेवा दिन थालेपछि रेमिट्यान्स भुक्तानीदेखि ससानो व्यवसायमा पनि सहयोग भएको छ । यसले गृहिणीदेखि व्यवसायीलाई समेत सहज भएको छ । ‘हुवासका व्यापारी भनेपछि कुश्मा र वालिङका बैंकहरूले लगानी गर्न मान्दैनथे,’ स्थानीय व्यवसायी हुमनाथ काफ्लेले भने, ‘यहिं बैंक आएपछि धेरै कुरामा सजिलो भएको छ । व्यवसायका लागि लगानीदेखि आम्दानी भएको रकम बचत पनि बैंकमै गर्न पाइएको छ ।’ हुवासमा सेवा दिइरहेका तीन बैंकका शाखाले स्थानीय व्यवसायीलाई लगानीदेखि रेमिट्यान्स भुक्तानी गरिरहेका छन् ।

गण्डकीको हुवास शाखाका प्रबन्धक सुवास थापाका अनुसार दैनिक १० देखि ३० जनासम्म रेमिट्यान्स भुक्तानीका लागि ग्राहक आउँछन् । ‘पहिला बैंकिङ सेवामा धेरै दु:ख पाएकाहरू केहीबेरमै सेवा पाउँदा दंग पर्छन्,’ उनले भने, ‘अलि टाढाका सेवाग्राहीलाई छिटोछरितो सेवा दिन छुट्टै व्यवस्था गरेकाले पनि सहज भएको छ ।’ दसैंतिहारको बीचमा स्थानीय बैंकहरूमा रेमिट्यान्स लिन आउने ग्राहकहरूको भीड बाक्लिएको छ । सामान्यभन्दा तीन गुणासम्म बढी रेमिट्यान्स भुक्तानी भएको प्रबन्धक थापाले बताए ।

पैयुं गाउँपालिकाले पनि गाउँकै बैंकमार्फत कारोबार सुरु गरेको छ । गाउँमै बैंक भएपछि ससाना योजनाको रकम भुक्तानीका लागि उपभोक्ता समितिलाई सदरमुकाम पठाउने समस्या नभएको गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारीले बताए ।

प्रकाशित : कार्तिक ३, २०७४ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?