१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

एनआईसी एसियाको ‘स्विफ्ट हयाक’ भएको आशंका

राष्ट्र बैंक र अन्तर्राष्ट्रिय विज्ञमार्फत छानबिन हुँदै
यज्ञ बञ्जाडे

काठमाडौं — एनआईसी एसिया बैंकको ‘स्विफ्ट हयाक’ गरेर रकम बाहिरिएको आशंकामा राष्ट्र बैंकले अनुसन्धान थालेको छ । हयाकरले बैंकको अन्तर्राष्ट्रिय कारोबार प्रणाली हयाक गरेर रकम अन्यन्त्र स्थानान्तरण गरेको आशंकामा राष्ट्र बैंकले अनुसन्धान सुरु गरेको हो ।

एनआईसी एसियाको ‘स्विफ्ट हयाक’ भएको आशंका

आइतबार कार्यालय खुलेदेखि नै राष्ट्र बैंकले आफ्ना कर्मचारीहरूको एक टोली एनआईसी बैंकमा अनुसन्धानका लागि खटाएको थियो । बैंकको विदेशी बैंकमा रहेको खातामा रहेको रकम हयाकरले आफूले चाहेको खातामा तानेको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको छ । 

‘केही रकम बाहिरिएको सूचना प्राप्त भएपछि अनुसन्धानका लागि सूचना प्राविधिकसहितको एक टोली बैंकमा पठाएका छौं,’ राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले भने, ‘उक्त टोलीको प्रतिवेदन प्राप्त भएपछि वास्तविकता थाहा होला ।’ कारोबारको प्रकृति र रकमसहित दोषी पहिचान गर्नका लागि टोलीलाई निर्देशन दिइएको पण्डितले बताए । घटनाको कारण र हिनामिना भएको रकमबारे यथार्थ जानकारी आइनसकेको उनको भनाइ छ । पछिल्ला केही दिनयता उक्त बैंकको कारोबार भएका ५/६ वटा राष्ट्रमा पत्राचार गरी कारोबार निरीक्षणका लागि आग्रह गरिएको पनि उनले जनाए । राष्ट्र बैंकले वित्तीय जानकारी इकाई (एफआईयू) मार्फत यस्तो आग्रह गरेको हो । 

एनआईसी एसिया बैंकले पनि रकम स्थानान्तरण भएको आशंका भएका राष्ट्रहरूमा कारोबार रोक्न र राफसाफ भइसकेको कारोबार अनुसन्धान गरिदिन राष्ट्र बैंकलाई आग्रह गरेको पण्डितले बताए । एनआईसी एसिया बैंकका अनुसार अन्तर्राष्ट्रिय कारोबारमा हयाक भएको आशंका गरिएको हो । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले अन्तर्राष्ट्रिय कारोबार गर्ने सर्भर डाउन गरेर स्वतन्त्र विज्ञहरूमार्फत पनि छानबिन भइरहेको छ । यसले नियमित बैंकिङमा कुनै असर नपरेको उनले बताए । ‘राष्ट्र बैंकले हेर्दा कुनै समस्या देखिएन,’ उनले भने, ‘तर, पनि कारोबार थप सुरक्षित बनाउन सर्भर डाउन गरेर विज्ञहरूमार्फत छानबिन हुनेछ ।’ बैंकबाट अन्यत्र सारिएको रकमबारे यकिन भइनसकेको न्यौपानले बताए । ‘अहिले त कारोबार वैधानिक (अथोराइज्ड) वा अवैधानिक (अनअथोराइज्ड) भन्ने पनि टुंगो लागेको छैन,’ उनले भने, ‘फरेन्सिक विज्ञहरूमार्फत छानबिन हुँदै छ र त्यसपछि पत्ता लाग्नेछ ।’ 

बैंकको अन्तर्राष्ट्रिय कारोबारमा मात्रै समस्या भएको हो । स्विफ्ट भनेको अन्तर्राष्ट्रिय कारोबार गर्न बैंकहरूले अपनाउने एक सफ्टवेयर हो । बैंकको त्यो सफ्टवेयर मात्रै हयाक भएको आशंका गरिएको हो । बैंकको देशभित्रको कारोबार भने नियमित चलिरहेको छ । न्यौपानेका अनुसार सर्वसाधारणको अन्य कारोबारमा कुनै समस्या भएको छैन । ‘सबै खाता र सर्वसाधारणको रकम सुरक्षित छ,’ उनले भने । 

सोसाइटी फर वल्र्डवाइड इन्टर बैंक फाइनान्सियल टेलिकम्युनिकेसन (स्विफ्ट) एउटा बैंकबाट अर्को बैंकमा रकम पठाउने प्रणाली हो । सोसाइटी फर वेलफेयर अर्गनाइजेसनले उक्त प्रणाली बनाएको हो । ‘सेक्र्योड फाइनान्सियल म्यासेजिङ सर्भिस’ का लागि विश्वका अधिकांश बैंकहरूले उक्त प्रणाली प्रयोग गर्छन् । बैंकहरूले रकम स्थानान्तरणका लागि यही प्रणालीमार्फत ‘अर्डर’ पठाउछँन् । यो प्रणालीमार्फत आएको ‘अर्डर’ सुरक्षित मानिन्छ । हालसम्म बैंकहरूले विश्वासिलो माध्यमबाट काम गर्न सक्ने वातावरण यो संस्थाले बनाएको छ । 

यो प्रणाली उपयोग गर्ने बैंकहरूले उक्त संस्थाले दिएका मापदण्डहरू पूरा गर्नुपर्ने हुन्छ । तोकिएका मापदण्ड पूरा नगर्ने बैंकहरूको सिस्टम कमजोर मानिन्छ । यसकारण सबै बैंक तथा वित्तीय संस्थाले स्विफ्टको सुझावअनुसार आफ्नो कारोबार प्रणाली अद्यावधिक गरी सुरक्षित बनाउन नेपालका लागि स्विफ्ट प्रयोगकर्ता समूहका अध्यक्ष अशोक राणाले भने । ‘कारोबार प्रणालीलाई कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने सन्दर्भमा स्विफ्टले यहाँ पनि दुईवटा कार्यक्रम गरिसेकेको छ,’ उनले भने, ‘सुरक्षाका लागि बैंकहरूले ती मापदण्डहरू पूरा गर्नुपर्छ ।’ 

आधुनिक र इन्टरनेट बंैकिङको प्रयोग बढेसँगै बैंक तथा वित्तीय संस्थामा कारोबार प्रणाली हयाक गरेर रकम चोर्ने प्रचलन निकै बढेको छ । केही बैंकहरूमा यसअघि पनि यस्तो समस्या आएको थियो । यसैगरी केही समयअघि बंगलादेशको केन्द्रीय बैंक (बैंक अफ बंगलादेश) बाट पनि हयाकरले ठूलो रकम स्थानान्तरण गरेका थिए । 

यसरी हिनामिना भएको सबै रकम अझै फिर्ता भइसकेको छैन । 

केही अघि बंगलादेशको केन्द्रीय बैंकको विदेशमा रहेको रकम पनि यसैगरी हयाक गरेर सारिएको थियो । अनलाइन कारोबारमा हयाकरहरू निकै नै सक्रिय रहने गरेका छन् । 

प्रकाशित : कार्तिक ६, २०७४ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?