२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

चाडबाडमा रमाए पर्यटक

विमल खतिवडा

चितवन — सौराहा घुम्न आएका विदेशी पर्यटक शनिबार दिनभर टीका लगाउन व्यस्त भए । प्राय: होटलमा बस्ने पर्यटकको निधारमा सप्तरंगी टीका, घाँटीमा मखमली, सयपत्रीको माला र शिरमा ढाका टोपी ढल्किएको थियो ।

नेपाली संस्कृतिबारे जान्ने इच्छा राख्दै पर्यटकहरूबीच टीका थाप्न प्रतिस्पर्धामा थिए । ‘सौराहा घुम्न आएका २ जना पर्यटकले मैसँग गएर घरमा बहिनीसँग टीका लगाए,’ सौराहास्थित होटल पार्क ल्यान्डका आशिष रेग्मीले भने, ‘टीका लगाउन पाउँदा खुसी भए ।’ छुट्टाछुट्टै देशका महिला/पुरुष पर्यटकलाई अश्लेषा रेग्मीले टीको लगाइदिइन् । मोरोसियाबाट आएका घुरुब्बाले अर्को वर्षसमेत टीको लगाउन नेपाल आउने भन्दै प्रतिबद्धता जनाए । ‘रमाइलो लाग्यो,’ घुरुब्बाले भने, ‘अर्कोपटक तिहारमा टीको लगाउन सौराहा नै आउने हो ।’

उनले चित्रसारी पुगेर टीको लगाएका हुन् । मखमली, सयपत्री फूलको माला र ढाका टोपी लगाएर उनले नेपाली परम्पराअनुसार दक्षिणा पनि दिए । टीका लगाएपछि सबैजना फोटोसमेत खिचेका थिए । उता केही पर्यटकहरू भने रत्ननगर नगरपालिका ८ स्थित गठौलीमा रहेको थारू होमस्टेमा गएर टीका लगाए । टीका लगाउन पाउँदा सबैको मुहारमा खुसी छाएको थियो । त्यस्तै सौराहाको प्रवेशद्वारमा रहेको होटल पार्क इनमा आन्तरिक तथा बाहय पर्यटकको भीड थियो ।

सबै पर्यटक टीका लगाएर हात्ती सफारी गर्न निस्किएका थिए । ‘नेपाली परम्पराअनुसार टीका लगाउन पाउँदा खुसी लागेको भन्दै सबै पर्यटक हर्षित देखिन्थे,’ होटल पार्क इनका सञ्चालक दीपेश चौधरीले भने, ‘हाम्रो संस्कृतिबारे विदेशीलाई जानकारी गराउन पाउँदा खुसी लागेको छ ।’ उनले विदेशीले नेपाली कला संस्कृतिबारेमा प्रत्यक्ष थाहा पाएको र आगामी वर्षहरूमा समेत आउने बाचा गरेको बताए । उनका अनुसार ८ जना विदेशीले टीका लगाएर आपसमा खुसी साटासाट गरे ।

टीका लगाइदिने चेलीले सगुन दिइन् । विदेशीले दक्षिणा दिएर फोटो खिचाए । अहिले पर्यटकीय सिजन सुरु छ । घुम्न आउने पर्यटकको संख्या बढदै गएको छ । तिहारको बेला सौराहा आउने पर्यटकको निधार खाली भएन । ‘संस्थागत रूपमा कार्यक्रम गरेर विदेशीलाई नेपाली संस्कृतिबारे जानकारी गराउने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भाइटीका लगाउने सोच थियो,’ क्षेत्रीय होटल संघ नेपालका अध्यक्ष सुमन घिमिरेले भने, ‘योपटक सम्भव भएन, अर्कोपटक संस्थागत रूपमा कार्यक्रम गर्ने योजना छ ।’

प्रकाशित : कार्तिक ६, २०७४ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?