१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

होटलको कोठामा क्यासिनो सञ्चालन

भूषण यादव

वीरगन्ज — यहाँस्थित एक होटलको कोठामा संगठित रूपमै क्यासिनो सञ्चालनमा रहेको पाइएको छ । पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका १६ रजत जयन्ती चोकस्थित शेखर होटलमा गत बुधबार जुवा खेलिरहेको सूचनाका आधारमा छापा मार्दा यो रहस्य खुलेको हो ।

होटलको कोठा नम्बर २०२ बाट प्रहरीले क्वाइन बोर्ड (खाल) मा पैसा र क्वाइन थापी जुवा खेलिरहेको अवस्थामा २ महिलासहित ६ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीका अनुसार पक्राउ परेकाहरूमा सुनसरी प्रकाशपुर गाउँपालिका ७ की २८ वर्षीया आकृति बस्नेत, सिन्धुली मजवा ६ की २७ वर्षीय अनिता कार्की, बैतडीका गगनसिंह थापा, कञ्चनपुर बेलकोट नगरपालिका ५ का ३७ वर्षीय रमेश भट्ट, वीरगन्ज ५ का लखिराम साह र ३७ वर्षीय मनोज चौरसिया रहेका छन् । जुवा ऐनबमोजिम कारबाही अगाडि बढाएको उनले बताए । प्रहरीका अनुसार खाल सञ्चालकले युवतीलाई वेटरका रूपमा प्रयोग गरेका थिए ।

होटलको उक्त कोठाबाट ३५ हजार नगद, ५० लेखिएको क्वाइन ४ सय ८०, २० लेखिएको क्वाइन ९ सय ६५, १० लेखिएको क्वाइन ४ सय ९० र नम्बर उल्लेख नभएको क्वाइन ३ सय ६५ थान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । नेपाल–भारत नाका नजिकै रहेको उक्त होटलमा पारि रक्सौल बजारका व्यापारी पनि जुवा खेल्न आउने गरेका थिए । सम्बद्ध स्रोतका अनुसार वीरगन्ज र आसपासका क्षेत्रमा हाल संगठित रूपले जुवाका खाल सञ्चालनमा छन् । प्रहरीलाई सूचना आएपछि नियन्त्रणमा लिन जाँदा दोहोरो झडपसमेत हुने गरेको छ । गत बिहीबार राति जितपुर सिमरा उपमहानगरपालिका ५ बकुलियामा लाखौं रुपैयाँको बाजी थापेर जुवा सञ्चालन भइरहेको सूचना आधारमा इलाका प्रहरी कार्यालय जितपुरबाट नियन्त्रणमा लिन गएको प्रहरी टोलीलाई स्थानीयले अवरोध गरेका थिए ।

जुवाडेलाई नियन्त्रणमा लिएपछि दोहोरो झडपको अवस्था सिर्जना भएपछि प्रहरीले ६ राउन्ड हवाई फायर गरेको प्रहरी सहायक निरीक्षक सागरशमशेर राणाले जनाए । जुवाको खालसँगै २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए ।

गाउँगाउँमा जुवा
तिहार सुरु भएदेखि पर्साको गाउँघरमा जमेका जुवाको खाल अझै उठेका छैनन् । अलौं, नगरदाहा, विश्रामपुर, बहुवराभाटा, महुवनलगायतका गाउँमा खेलाइने खाल छेउछाउका बासिन्दा रातभरि अनिँदो हुने गरेको गुनासो छ । ‘तिया, चौका र छाका’ को आवाजले सुत्न सकिएको छैन,’ नगरदाहाका प्रभु यादवले भने, ‘गाउँमा कौडाप्रति धैरे आकर्षण हुन्छ ।’ स्थानीयका अनुसार ग्रामीण भेगका प्रहरीलाई मिलाएर खेलिने जुवामा दैनिक लाखौंको जितहार हुने गरेको छ ।

पर्साको अलौं र विश्रामपुरमा खेलाइने कोडा जिल्लामै प्रसिद्ध मानिन्छ । त्यसैगरी सुगौलीबिर्ता, भिस्वा, महुवन, जानकीटोलामा पनि लामो समयदेखि संगठित जुवाघर सञ्चालनमा रहेको स्रोतको दाबी छ । विगतमा बन्द भएका जुवाका खाल फेरि सञ्चालनमा आएको स्थानीयले आरोप लगाएका छन् । पोखरियाका एक गोंड थरका व्यक्तिले कौडाको लतमा लागेर खेत, घडेरी, गहना हारेको छन् । ३ वर्षको अवधिमा उनले झन्डै ३५ लाख रुपैयाँ हारेका छन् । पहिलेका जमिन्दार अहिले उनी अरूको खेतमा काम गरी जीविकोपार्जन गरिरहेका छन् ।

धोरेका सत्यनारायण र नगरदाहाका सरेही साहले पनि जुवातासको लतमा सबै सम्पत्ति गुमाए । उनीहरूको अहिले बिल्लीबाठ भएको छ । ‘लामो समयदेखि सञ्चालन हुने जुवातासको लतमा लगेर सम्पत्ति गुमाउनेहरू थुप्रै छन्,’ एक जुवाडेले भने, ‘तर, समाजमा बेइज्जत हुने डरले धेरैजसो हार्नेहरू खुलेर कुरा गर्न चाहँदैनन् ।’

सानो समयमा नव धनाढय भएकाहरू खालका नियमित ग्राहक हुन् । खाल सञ्चालकले ग्राहकको मागबमोजिम रक्सी र खानेकुराको व्यवस्था गर्छन् । ऐनले समेत यसलाई नैतिक र सामाजिक अपराधका रूपमा स्वीकार गरेर बेइज्जती स्वरूप सांकेतिक सजायको मात्र व्यवस्था गरेकाले खेलाउने र खेल्नेको मनोबल उच्च हुने गरेको प्रहरी अधिकृत बताउँछन् ।

प्रकाशित : कार्तिक ६, २०७४ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?