कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतले ८३ हजार किमि सडक बनाउँदै

काठमाडौं — भारतको केन्द्रीय सरकारले आफ्नो भूमिमा ८३ हजार किलोमिटरभन्दा लामो सडक/राजमार्ग बनाउने परियोजनालाई स्वीकृति प्रदान गरेको छ । उसले यो परियोजना पूरा गर्न आवश्यक बजेट ७ लाख करोड भारु पनि स्वीकृत गरेको छ । त्यहाँको केन्द्रीय मन्त्रिपरिषद्ले मंगलबार परियोजना र बजेट स्वीकृत गरेको हिन्दुस्तानटाइम्सको अनलाइन संस्करणले जनाएको छ ।

आगामी पाँच वर्षभित्र सक्ने लक्ष्य लिएको परियोजनाले रोजगार अभिवृद्धि गर्नुका साथै भारतको अर्थतन्त्रलाई थप माथि उकास्न सहयोग पुग्ने दाबी गरिएको छ । परियोजनाअन्तर्गत ८३ हजार ६ सय ७७ किलोमिटरमा सडक, राजमार्ग र पुलहरू निर्माण गरिनेछ ।

पहिलो चरणमा ‘भारतमाला’ कार्यक्रमअन्तर्गत २४ हजार ८ सय किमि सडकको निर्माण सन् २०२२ मा सक्ने जनाएको छ । उक्त सडकका लागि ५ दशमलव ३५ लाख करोड भारु छुटयाइएको छ । अनलाइनले भारतमाला कार्यक्रमको घोषणा दुई वर्षअघि नै भएको जनाएको छ । उक्त सडकको निर्माण आर्थिक करिडोरहरू र सीमा तथा तटीय क्षेत्रमा गरिने लक्ष्य लिइएको छ ।

यसै कार्यक्रमअन्तर्गत १ हजार ८ सय ३७ किलोमिटर द्रु्रत मार्गको निर्माणसमेत गरिने योजना भारतको छ । परियोजनामा निर्माणाधीन १० हजार किलोमिटरको राष्ट्रिय राजमार्ग, ४८ हजार किलोमिटरको सडक तथा अन्य उच्चमार्गसमेत परेका छन् । परियोजना पूरा गर्नका लागि भारत सरकारले आधा खर्च बजार तथा निजी लगानी कम्पनी र बाँकी रकम सडक फन्डबाट जुटाइने जनाएको छ ।

प्रकाशित : कार्तिक ८, २०७४ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?