कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

मुस्ताङबाट ५३ करोडको स्याउ बाहिरियो

-स्याउको उत्पादन १० प्रतिशतले बढयो
-दसैंमा ४१ करोडको स्याउ सहरमा पठाइयो
विनोद त्रिपाठी

मुस्ताङ — यस वर्ष मुस्ताङबाट ५३ करोड रुपैयाँको स्याउ बाहिरिएको छ । कृषि विकास कार्यालयले यहाँको ५३ सय टन स्याउ बिक्रीका लागि मुस्ताङ बाहिर पठाइसकिएको जनाएको छ ।

 मुस्ताङबाट ५३ करोडको स्याउ बाहिरियो

सरकारले कृषि सामग्री अनुदान र उत्पादनका कार्यक्रम ल्याएपछि यस वर्ष १० प्रतिशतले स्याउ उत्पादन बढेको हो । पछिल्लो १० वर्षको अवधिको तथ्यांकअनुसार यो वर्ष स्याउ उत्पादन बढेको कार्यालयले जनाएको छ । हालसम्म ५३ सय टन स्याउ बिक्रीका लागि मुस्ताङ बाहिर पठाइसकिएको कार्यालयको विवरणमा उल्लेख छ । उत्पादित स्याउ दसैं र तिहारको अवसर पारेर राजधानीलगायत ठूला सहरमा ठेकेदारहरूले लगेका हुन् ।
दसैंमा मात्र ४१ करोड रुपैयाँ मूल्यको स्याउ मुलुकका विभिन्न सहरमा पठाइएको थियो । तिहारसम्म थप १२ टन स्याउ बाहिरिएको कार्यालयका सूचना अधिकृत शिवपूजन गुप्ताले जानकारी दिए । ठेकेदारले दसैंदेखि नै धमाधम स्याउ टिप्दै ठूला बजारमा पुर्‍याउन थालेका थिए । कार्यालयका अनुसार अघिल्ला वर्षभन्दा यसपालि करिब महिना दिनअघि नै स्याउ बिक्री सुरु गरिएको हो । यसपटक दसैं छिट्टै आएकाले ठेकेदारले कलिला स्याउ टिपेर बिक्री गरेको कृषि प्राविधिकको भनाइ छ ।

मुस्ताङमा स्याउ बिक्री वितरणका लागि ठेकेदारले पहिल्यै नै कृषकका बगैंचा किनिसकेका हुन्छन् । ठेकेदारले जुन मौकामा बढी मूल्य त्यसै बेला बिक्री गर्छन् । अधिकृत गुप्ताले भने, ‘यसपालि ५३ करोड मूल्य बराबरको स्याउ बाहिरिएको छ ।’ गत वर्षको तुलनामा हाल प्रतिकेजी २० रुपैयाँ मूल्य बढेको उनले बताए । ‘गत वर्ष थोक मूल्य प्रतिकेजी बढीमा ८० रुपैयाँमा ठेकेदारले खरिद गरेका थिए, यसपालि सय पुगेको छ,’ उनले भने । गत वर्ष मुस्ताङमा ४ हजार ३ सय टन स्याउ उत्पादन भएको थियो । स्याउ लगाएका क्षेत्रमा पर्याप्त हिउँ परेको र उपल्लो मुस्ताङमा स्याउ क्षेत्र विस्तार भएकाले यसपालि उत्पादन बढेको उनले बताए ।

ठेकेदारले साउनमै स्याउको बगैंचा किनेर कृषकले पैसा बुझिसकेका हुन्छन् । पोखरा, धादिङ, काठमाडौंका व्यापारी आएर बारीबाट स्याउ टिपेर लाने गरेका छन् । ‘हामीले पहिल्यै ठेक्कामा दिन्छौं, घाटा नाफा हामीलाई मतलव हुन्न,’ मार्फा ९ का कृषक प्रेमबहादुर तामाङले भने, ‘हामीले हाम्रो लगानी र नाफा ठेकेदारसँग उठाउने हो ।’ यो वर्ष मौसम ठीक भएकाले स्याउ उत्पादन बढेको उनले सुनाए । १५ वर्ष अघिसम्म मुस्ताङको तल्लो गाउँ लेतेमै लटरम्म स्याउ फल्थे । हाल यहाँ स्याउको एउटा पनि बिरुवा छैन ।

मौसम परिवर्तनले तल्लो मुस्ताङमा स्याउ फल्न छोडेको हो । सरकारले उपल्लो मुस्ताङका गाउँहरूमा स्याउ उत्पादन गर्न विभिन्न कार्यक्रम लागू गरेको छ ।

लोमान्थाङ र घमी गाउँपालिकालगायतका स्थानमा स्याउ क्षेत्र विस्तार गरिएकाले अबको केही वर्षमा उत्पादन हवात्तै बढ्ने कृषि अधिकृत गुप्ताले जानकारी दिए । उपल्लो मुस्ताङका लोमान्थाङ, छोसेर, सुर्खाङ, छोन्हुप गाउँहरूमा स्याउ उत्पादनका लागि कार्यालयले यसै वर्षदेखि सुरुवात गरेको छ ।

प्रकाशित : कार्तिक ८, २०७४ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?