१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

‘पोल्ट्री आत्मनिर्भर व्यवसाय’

कान्तिपुर संवाददाता

चितवन — पहिलोपटक चितवनमा नेपाल पोल्ट्री तथा लाइभस्टक अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीका सहभागीले मुलुकमा आत्मनिर्भर भएको व्यवसाय पोल्ट्री भएकाले यसलाई अत्याधुनिक गर्नुपर्नेमा जोड दिए ।

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा नेपाल पोल्ट्री महासंघको आयोजनामा शुक्रबारबाट सुरु प्रदर्शनीमा १ सय ७० स्टल छन् । जसमा विदेशी स्टल मात्र १ सय छन् । मूल आयोजक समितिका संयोजक गुणचन्द्र विष्टले पोल्ट्रीलाई आधुनिकीकरण भएर मात्र राष्ट्रिय मागलाई परिपूर्ति गर्न नसकिने भन्दै अत्याधुनिकीकरण गर्नुपर्ने बताए । प्रदर्शनीको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका हुन् ।

उपराष्ट्रपति पुनले अति संवेदनशील व्यवसाय भएकाले यसलाई आधुनिकीकरण र उच्च लगानीको आवश्यकता रहेको सुझाव दिए । ‘यो एउटा जोखिमपूर्ण व्यवसाय हो,’ उनले भने, ‘राज्यबाट पाउने सुविधा यो क्षेत्रले पनि पाउनुपर्छ ।’

कार्यक्रममा पशुपक्षी विकास मन्त्रालयका सचिव प्रकाश माथेमाले विगतमा निर्वामुखी व्यवसायका रूपमा रहेको पोल्ट्रीलाई केही समययता यस आधुनिकीकरण, व्यवसायीकरण, यान्त्रीकरण अगाडि बढाइएको छ । ‘विभिन्न समयमा बर्डफ्लु, महामारीका कारण पोल्ट्री व्यवसायले ठूलो समस्या झेल्नुपरेको छ,’ उनले भने । प्रदर्शनी आइतबारसम्म चल्नेछ । मुलुकभर साढे १५ हजार पोल्ट्री व्यवसायी छन् ।

प्रकाशित : कार्तिक १८, २०७४ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?