दुई वर्षमा डेढ अर्ब कित्ता सेयर थपिए

बढ्दो आपूर्तिले परिसूचक घटयो
यज्ञ बञ्जाडे

काठमाडौं — दुई वर्षमा सेयर बजारमा करिब साढे १ अर्ब कित्ता सेयर थपिएका छन् । बैंक तथा वित्तीय संस्थालाई पुँजी बढाउन राष्ट्र बैंकले निर्देशन दिएपछिको यो अवधिमा सेयरको आपूर्ति बढेको हो । उक्त अवधिमा बहुसंख्यक बैंक तथा वित्तीय संस्थाले हकप्रद, बोनस र थप निष्कासन (एफपीओ) लाई नै पुँजी वृद्धिको माध्यम बनाएका थिए ।

दुई वर्षमा डेढ अर्ब कित्ता सेयर थपिए

यसबीचमा केही जलविद्युत् कम्पनी बजारमा प्रवेश गरेको भए पनि सेयर आपूर्तिमा ठूलो योगदान गरेका छैनन् । एकैपटक धेरै सेयर बजारमा आएको तर सो अनुरूप माग बढ्न नसकेपछि नेप्से परिसूचक निरन्तर रूपमा घटेको विज्ञहरू बताउँछन् । २४ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाले चुक्ता पुँजी ४ गुणाले बढाएका छन् । पुँजी बढेको अनुपातमा बैंकहरूको आम्दानी बढेन । चुक्ता पुँजी धेरै भएका वित्तीय संस्थाको मुनाफा कम भएपछि सेयरधनीको प्रतिफल (रिटर्न अन इक्विटी (आरओई) घटयो । यसको प्रत्यक्ष असर बैंक तथा वित्तीय संस्थाको त्रैमासिक वित्तीय प्रतिवेदनमा देखिएको छ । यसकारण हाल नेप्से परिसूचक निरन्तर रूपमा ओरालो लागेको उनीहरूको भनाइ छ ।

‘अहिले नेप्से घट्नुको प्रमुख कारण अत्यधिक सेयर आपूर्ति हो,’ एक जानकारले भने, ‘सेयर आपूर्ति भएअनुसार बजार विस्तार हुन नसकेकाले यो अवस्था आएको हो ।’ तत्कालै बजार विस्तारको सम्भावना नरहेकाले थपिएका सेयर व्यवस्थापनका लागि अझै एक/डेढ वर्ष लाग्ने उनको भनाइ छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार गएको दुई वर्षमा थप १ अर्ब ३९ करोड २१ लाख ५८ हजार कित्ता सेयर सूचीकृत भएका छन् । ०७२ असोजमा कुल सूचीकृत सेयर संख्या १ अर्ब ६६ करोड २९ लाख रहेकामा गत असोजसम्म ३ अर्ब ५ करोड ५० लाख कित्ता पुगेको छ । यो करिब ८४ प्रतिशतको वृद्धि हो । जसमध्ये अघिल्लो वर्ष (०७२ असोज देखि ०७३ असोज) मा ३७.४८ र गत वर्ष (०७३ असोजदेखि ०७४ असोज) ३३.६३ प्रतिशले सेयर सूचीकरण बढेको नेप्सेले जनाएको छ । सूचीकरण भएका सबै सेयर कारोबारमा भने आउँदैनन् ।

सुरुमा बैंक तथा वित्तीय संस्थाले ठूलो संख्यामा सेयर थपिएकाले अहिले बजारमा आपूर्ति प्रभाव देखिएको स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मीले बताए । ‘एकैपटक धेरै सेयर आउँदा बजारमा कस्तो प्रभाव पार्छ भन्ने मूल्यांकन गरिएन,’ उनले भने, ‘लगानीकर्ताले पनि बैंकहरूले सधैं यसैगरी लाभांश दिइरहन्छन् भन्ने सोचमा परे ।’

करिब एक वर्षमा नेप्से परिसूचक ३ सय ३५ अंकले घटेको छ । ०७३ साउन १२ मा हालसम्मको उच्च विन्दु १ हजार ८ सय ८१ म पुगेको नेप्से आइतबार १ हजार ४ सय ९६ विन्दुमा ओर्लेको छ । यो क्रम अझै जारी छ । बैंकहरूको वित्तीय विवरणमा सुधार नभएसम्म नेप्से बजारमा धेरै सुधारको अपेक्षा गर्न नसकिने रेग्मीको भनाइ छ ।

पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण बिग्रिएर आएकाले सेयर बजार प्रत्यक्ष प्रभावित भएको सिद्धार्थ म्युचुअल फन्डका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिनाले बताए । ‘आधारभूत र प्राविधिक विश्लेषणमा पनि बजार तत्काल धेरै माथि जाने वा धेरै तल झर्ने अवस्था देखिँदैन,’ उनले भने । पुँजी वृद्धिअनुसार सेयर प्रतिफल बढाउन बैंकहरूले ठूलो कसरत गर्नुपर्ने र तत्काल त्यो सम्भाव नदेखिएकाले नेप्से धेरै बढ्ने अपेक्षा गर्न सकिँदैन । बजारका अन्य सूचकहरू सकारात्मक भएकाले तत्काल घटिहाल्न सक्ने अवस्था पनि नरहेको उनको भनाइ छ । ‘विश्लेषणहरूले परिसूचक १ हजार ४ सय ८० देखि १ हजार ६ सय ८० विन्दुसम्म रहने देखिन्छ,’ तिमिल्सिनाले भने ।

लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेकाले बजार घटेको स्टक ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष अञ्जनराज पौड्यालले बताए । ‘पुँजी वृद्धिको दबाबले अधिकांश बैंक तथा वित्तीय संस्थाले दसैं–तिहारअघि नै वार्षिक साधारणसभा गरेर लाभांश घोषणा गरिसकेकाले पनि अहिले नेप्से बढ्न नसकेको हो,’ पौड्यालले भने, ‘घट्दो बजारमा पनि औसतमा ४८ देखि ५० करोडको कारोबार रहनु सकारात्मक संकेत हो ।’

विभिन्न कारणले लगानीकर्ताको मनोबल घटेपछि सेयर बजार प्रभावित भएको इन्भेस्टर्स फोरमका अध्यक्ष अम्बिका पौडेलले बताए । ‘त्रैमासिक वित्तीय प्रतिवेदनहरूले बैंक तथा वित्तीय संस्थाको कार्यक्षमता घटेको देखिएको छ,’ उनले भने, ‘तर बजारमा टेलिकम, बिमा, जलविद्युत्लगायत सबै क्षेत्रका कम्पनीको सेयर मूल्य घटेको छ ।’ बजारमा अनावश्यक बहाव फैलिएकाले बजार प्रभावित भएको हो । ‘बैंकहरूले छोटो समयमा धेरै पुँजी बढाएकाले लगानीकर्ताले एकैपटक धेरै प्रतिफल आशा गर्नु हुन्थेन,’ पौडेलले भने, ‘अब बैंकहरूको सेयर बढ्दैन, बढ्ने भनेको मुनाफा मात्र हो, यसकारण बजारको भविष्य उज्ज्वल छ ।’

नेप्से १५ सयमुनि
सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार फेरि १ हजार ५ सयमुनि झरेको छ । तिहारपछि खुलेको बजार निरन्तर रूपमा घट्न थालेपछि आइतबारसम्म १ हजार ४ सय ९६.४६ विन्दुमा ओर्लेको हो ।

यो करिब २ महिनाअघिको अवस्था हो । गत भदौ २८ गते परिसूचक १ हजार ४ सय ९३.२० विन्दुमा थियो । उक्त विन्दुबाट बढ्न थालेको बजार १ हजार ५ सय ७२ विन्दुसम्म पुगेर घट्न थालेको थियो । त्यो क्रम निरन्तर जारी रहेपछि आइतबारसम्म आइपुग्दा १ हजार ५ सय विन्दुभन्दा तल आइपुगेको हो ।

तरलताको अवस्था सहज भए पनि बैंक तथा वित्तीय संस्थाले ब्याजदर नघटाएको, सेयर खरिद कर्जाका लागि सहज अवस्था नभएको, बजार घट्दो प्रवृत्तिमा रहेको, चुनाव नजिकिएकाले लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेकोलगायत कारण नेप्से परिसूचक निरन्तर घटिरहेको विश्लेषकहरूको तर्क छ ।

प्रकाशित : कार्तिक २०, २०७४ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?