कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

राजधानीका पसल अनुगमन- सञ्चालक फरार, कर्मचारी थुनामा

काठमाडौं — लत्ताकपडा, जुत्ता घडीलगायतका सामानमा बढी मूल्य लिई ठगी गर्ने दरबारमार्ग, न्युरोड र ठमेलका कर्मचारीलाई प्रहरीले पक्रे पनि वास्तविक सञ्चालक अझै ‘फरार’ छन् । कात्तिक १५ गते प्रहरी परिसर काठमाडौंले केही उच्च पदका कर्मचारीलाई पक्राउ गरे पनि सञ्चालकहरू अझै सम्पर्कविहीन छन् ।

राजधानीका पसल अनुगमन- सञ्चालक फरार, कर्मचारी थुनामा

परिसरले दरबारमार्ग र न्युरोड गरी १३ व्यवसायीलाई कार्यालयमा उपस्थित हुन पत्र काटेको थाहा पाएपछि उनीहरू फरार भएका हुन् । प्रहरी स्रोतका अनुसार अनुगमन र सिलबन्दी गर्ने आपूर्ति मन्त्रालय र आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागकै असहयोगका कारण पनि सञ्चालकलाई समयमै पक्रिन सकिएको छैन । कर्मचारी पक्राउ गरेपछि सञ्चालकहरू माथि दबाब पर्ने भन्दै प्रहरीले साताअघि दरबारमार्ग र ठमेलबाट १० जना कर्मचारीलाई पक्राउ गरेको थियो । उनीहरूलाई सञ्चालकहरू फरार रहेको पसल खोलेर सञ्चालन गरेको आरोपमा पक्राउ गरिएको थियो ।

‘कर्मचारीहरू पक्राउ गरेपछि सञ्चालकहरू माथि दबाब पर्छ भन्ने अनुमान थियो,’ काठमाडौं प्रहरी परिसरका एक अनुसन्धान अधिकारीले भने, ‘तर, कालोबजारी गर्ने पसलका सञ्चालकहरू त जब्बर रहेछन् । कर्मचारी पक्राउ गर्दा पनि छुटाउन आउँदैनन् ।’ परिसरले दरबारमार्गको वाच एन्ड सी अप्रेसन म्यानेजर राजेश्वर श्रेष्ठ, न्युरोडको तिरुपती (लिबर्टी) प्रालिका म्यानेजर नन्दन बिहानी, दरबारमार्गकै लेबल्स स्टोर्सका म्यानेजर सुभास महर्जन र सेल्स म्यानेजर जितेन्द्र महर्जन, ठमेलको एडभेन्चर आउटडोर गियर कम्पनीका म्यानेजर रोसन ओडारीलाई पक्राउ गरेको थियो । 

यस्तै दरबारमार्गको लाइफ स्टाइल इन्टरप्राइजेज प्रालिका सेल्स म्यानेजर श्रीकृष्ण महर्जन र रौनक शर्मा, दरबारमार्गकै एभेन्यु मार्केटिङ प्रालिका म्यानेजर उत्तम कुमार बस्नेत, दरबारमार्गकै प्लेटिनम ट्रेड कन्र्सनका स्टोर म्यानेजर प्रवीण झा, दरबारमार्गको बेन्टले द लेदर प्रालिका सुपरभाइजर तुल्सीधर भण्डारीलाई पक्राउ गरेको थियो । कर्मचारीहरू पक्राउ परेपछि कर्मचारीका परिवारले चिन्ता व्यक्त गर्दै आएका छन् । उनीहरू कर्मचारीलाई थुनामुक्त गरेर सञ्चालकलाई खोजी गर्नुपर्ने बताउँछन् । ‘खाना खाएर पसल जाँदा बेलुका सबै थुनामा परेको अवस्था छ । प्रहरीले सञ्चालक ल्याएपछि मात्रै कर्मचारीलाई छाड्ने भन्दै आएका छन्,’ नाम उल्लेख गर्न नचाहने एक पीडितले भनिन्, ‘कर्मचारीलाई तत्काल थुनाबाट मुक्त गर्नुपर्छ ।’ 

कर्मचारीलाई छुटकारा दिएर पसल बन्द गरी सञ्चालकलाई खोज्नुपर्ने उनले बताइन् । उनले पसल सञ्चालकहरूसँग सम्पर्क गर्ने प्रयास भइरहेको बताइन् । ‘केही कर्मचारी थुनामा परेपछि अन्य कर्मचारीहरू मोबाइल अफ गरेर बस्न बाध्य भएका छन्,’ उनले भनिन् । दरबारमार्गका कर्मचारी पक्राउ परेको ५ दिनपछि दरबारमार्गको लाइफ स्टाइल इन्टरप्राइजेजका सञ्चालक एवं व्यवस्थापक काठमाडौं महानगरपालिका १७ घर भएका जयन्द्रदास श्रेष्ठ पक्राउ परेका छन् । 

स्रोतका अनुसार दास आफैं परिसर पुगेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । उक्त पसलका अन्य दुई सञ्चालक निर्मललाल श्रेष्ठ र राजेन्द्रदास श्रेष्ठ भने अझै पनि फरारको सूचीमा रहेको प्रहरीले जनाएको छ । 

प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रामदत्त जोशीले केही पसलका सञ्चालकहरू भारततिर फरार रहेको जानकारीमा आएको बताए । पसलका म्यानेजरहरूले आफंै चर्को मूल्य असुलेका हुन् वा कम्पनीका सञ्चालकसँग मिलेमतोमा कालोबजारी गरेको भन्नेमा अनुसन्धान केन्द्रित रहेको बताए । ‘अनुसन्धान तीव्र बनाएका छौं,’ उनले भने, ‘सञ्चालक र उच्च कर्मचारी सबैमाथि कालोबजारी ऐनअन्तर्गत मुद्दा चलाउने तयारी भएको छ ।’ 

आपूर्ति विभागका महानिर्देशक कुमार दाहालले कर्मचारी वारिस भएकाले पक्राउ गर्न मिल्ने बताए । ‘कर्मचारीहरू पसलका प्रतिनिधि हुन्,’ उनले भने । 

तत्कालीन आपूर्तिमन्त्री (हाल बिनाविभागीय मन्त्री) शिवकुमार मण्डलसहितको टोलीले भदौ १९ र २१ गते दरबारमार्गका पसल अनुगमन गर्दा अत्यधिक नाफा लिने गरेको फेला पारेपछि ९ 

वटा पसलमा सिल गरेको थियो । दुइटा पसलमा भने सिलबन्दी गरेको थिएन । 

विभागले ती दुई लत्ताकपडा व्यवसायीलाई पनि कारबाहीको लागि परिसरमा सिफारिस गरेको थियो । तर, विभागले धेरै समय फाइल रोकेर प्रहरीलाई बुझाएको थियो । सरकारी वकिलको राय लिएपछि मात्रै सिलबन्दी फुुकुवा गर्नुपर्ने प्रावधान भए पनि विभागले प्रक्रिया नपुर्‍याई ती पसलको सिलबन्दी फुुकुवा गरेको थियो । 

कारबाहीका लागि सरकारी वकिलको रायपछि कालोबजारी ऐनअनुसार प्रमुख जिल्ला अधिकारीले दिएको आदेशमा मात्र सिल तोड्नुपर्छ । तर, सिलबन्दी फुुकुवा गर्दा गोप्य रूपमा टोली परिचालन गरी उन्मुक्ति दिइएको हो । विभागका महानिर्देशक कुमार दाहालले नेपालबाहिर भएको बेला मन्त्रालयको आदेशमा विभागका अनुगमन शाखा निर्देशक लक्ष्मण श्रेष्ठले सिलबन्दी फुकुवाको निर्देशन दिएका थिए । 

महानिर्देशक दाहालले विभागको विज्ञता नपुगेर र दबाबका कारण सिलबन्दी खुला भएको हुन सक्ने बताए । ‘पुरानो मन्त्रीको सम्बन्ध हो भने थाहा छैन,’ उनले भने, ‘असहज तरिकाले सिलबन्दी फुकुवा भएको छ ।’ 

विभागले आइतबार थप ३ व्यवसायीलाई कारबाहीका लागि सिफारिस गरेको छ । ‘दरबारमार्गका तीन पसल अप्सन, स्पोर्टस प्लाजा र फेसन हाउसलाई प्रमाणसहित कालोबजारी ऐनअनुसार कारबाही गर्न परिसरमा फाइल बुझाएको छ,’ उनले भने ।

 

यी हुन् फरार सञ्चालकहरू 

  • दरबारमार्गको वाच एन्ड सीका सञ्चालक मोरङ रंगेली १ घर भई हाल काठमाडौं बत्तीसपुतली बस्ने नम्रता अग्रवाल ।
  • न्युरोडको तिरुपती (लिबर्टी जुत्ता) स्टोर्सका सञ्चालक मोरङ, विराटनगर घर भएकी वसन्तकुमार महेश्वरी ।
  • दरबारमार्गको लेबल्स स्टोर्सका सञ्चालकहरू काठमाडौं महानगरपालिका २५ का सञ्जीव तुलाधर, वडा नम्बर २९ का राजीव श्रेष्ठ, टेकु घर भएका देवेन्द्रप्रसाद श्रेष्ठ, लाजिम्पाट घर भएका सुलिम महर्जन र नरदेवी बस्ने प्रकाशरत्न कंसकार ।
  • दरबारमार्गको एमजी इन्टरनेसनलका सञ्चालक पर्साको वीरन्गज घर भएका विमलादेवी डाल्मिया ।
  • ठमेल त्रिदेवीमार्गको एडभेन्चर आउटडोर गियर कम्पनी प्रालिका सञ्चालक दीप लामा 
  • दरबारमार्गको सुवोध रिटेल प्रालिका सञ्चालकहरू काठमाडौं महानगरपालिका ४ बस्ने सनम शर्मा, वडा नम्बर १४ बस्ने सरोज अग्रवाल ।
  • दरबारमार्गको लाइफ स्टाइल इन्टरप्राइजेज प्रालिका सञ्चालकहरू काठमाडौं महानगरपालिका वडा नम्बर १९ का राजेन्द्रदास श्रेष्ठ, वडा नम्बर ३० का निर्मललाल श्रेष्ठ । 
  • न्युरोडको फिट वेल सुज प्रालिका सञ्चालकहरू मोरङ बाबियाबिर्ताका तुलराज कार्की र रुद्रबहादुर थापा ।
  • दरबारमार्गको एभेन्यु मार्केटिङ प्रालिको सञ्चालक काठमाडौं मैतीदेवीका सम्पतकुमार अग्रवाल र कुलेश्वरका पवनकुमार सराफी ।
  • दरबारमार्गको प्लेटिनम ट्रेड कन्सर्नका सञ्चालक ललितपुर महानगरपालिका ८ घर भई काठमाडौंको बत्तिसपुतली बस्ने नेहा अग्रवाल ।
  • दरबारमार्गको सुलक्स सेन्टरको सञ्चालक काठमाडौं लाजिम्पाटमा बस्ने रोमिलाल श्रेष्ठ । 
  • दरबारमार्गको बेन्टले द लेदर प्रालिका सञ्चालक ललितपुरका चन्द्रमाला शर्मा (बर्मा) ।

 

प्रकाशित : कार्तिक २१, २०७४ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?