१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

रोकिएन नेप्सेको गिरावट

कान्तिपुर संवाददाता

काठमाडौं — सेयर कारोबार मापक नेप्से मंगलबार ८.९७ अंकले घटेको छ । तिहार बिदापछि मंगलबारसम्म १२ दिन सेयर बजारमा कारोबार भएको छ । तीमध्ये एक दिनबाहेक बाँकी ११ दिन नेप्से घटेको छ ।

उक्त अवधिमा नेप्से करिब साढे ८७ अंकले घटेको छ । कात्तिक ५ गते १ हजार ५ सय ७१.९२ विन्दुमा रहेको नेप्से मंगलबारसम्म १ हजार ४ सय ८४.४५ मा झरेको छ ।

बैंक तथा वित्तीय संस्थाको पहिलो त्रैमासिक वित्तीय विवरण सन्तोषजनक नभएकाले लगानीकर्ताको मनोबल घटेको विज्ञहरू बताउँछन् । करिब ५ हजार १ सय कारोबारबाट १ सय ५९ कम्पनीका ११ लाख २९ हजार २ सय ९ कित्ता सेयर किनबेच भए । ती कारोबारबाट ४२ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । सेयर बजारको आकार देखाउने कुल बजार पुँजीकरण पनि घटेर १७ खर्ब २३ अर्ब रुपैयाँमा सीमित भएको छ । कारोबारमा आएकामध्ये ४५ कम्पनीको सेयर मूल्य बढयो, ९४ कम्पनीको घटयो र बाँकी २० कम्पनीको सेयर मूल्य स्थिर छ ।

मंगलबार व्यापारबाहेक सबै समूहको परिसूचक घटेको छ । व्यापार समूहको परिसूचक ०.२६ प्रतिशतले सकारात्मक देखियो । तर, बैंकिङ, विकास बैंक, बिमा, माइक्रोफाइनान्स, होटल, जलविद्युत्, वित्त र ‘अन्य’ समूहको परिसूचक ऋणात्मक रहेको नेप्सेले जनाएको छ ।

प्रकाशित : कार्तिक २२, २०७४ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?