कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

सेयर बजारमा अनलाइन प्रणाली अर्को वर्ष

कान्तिपुर संवाददाता

काठमाडौं — नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ल्याउन लागेको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली यो वर्ष नआउने भएको छ । नेप्से र सफ्टवेयर प्रदान गर्ने कम्पनी वाइको लिमिटेडबीच १४ महिनाभित्र परियोजना सम्पन्न गर्ने सम्झौता भए पनि यसै वर्ष आउने सम्भावना न्यून भएको हो ।

सम्झौताअनुसार वाइकोले ०७५ असारसम्मको समय पाएको छ । अनलाइन कारोबार प्रणाली निर्माण प्रक्रिया र नेप्सेको गतिविधिबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले निर्धारित समयभित्रै अनलाइन प्रणाली आउने दाबी गरे ।

यसअघि नेप्सेका पूर्वकार्यकारी अधिकृत सीताराम थपलियाले कात्तिक २१ गते देखि अनलाइन कारोबारको परीक्षण कारोबार सुरु हुने र त्यसको दुई महिनापछि नियमित रूपमा अनलाइन कारोबार गर्न सकिने बताएका थिए । थपलियाले आफ्नो कार्यकाल सकिन लाग्दै गर्दा पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी दिएका थिए । तर, नयाँ कार्यकारी प्रमुखले आफ्नो पहिलो पत्रकार सम्मेलनमै यो वर्ष अनलाइन प्रणाली ल्याउन नसकिने बताएका हुन् । ‘यसअघिका कार्यकारी प्रमुखको भनाइ उद्धृत गर्दै कात्तिक २१ गतेदेखि अनलाइन कारोबार सुरु हुने कुरा मैले पनि पत्रपत्रिकामार्फत पढेको हुँ,’ उनले भने, ‘सम्झौतामा १४ महिनाभित्र काम पूरा गर्ने भनिएको रहेछ । यसकारण तोकिएको समयभित्र अनलाइन कारोबार प्रणाली ल्याउने हाम्रो प्रयास रहनेछ ।’ सम्झौताअनुसार ०७४ वैशाख ६ गते काम सुरु भएकाले त्यसको १४ महिनाभित्र (०७५ असार भित्र) कम्पनीले नेप्सेलाई प्रणाली उपलब्ध गराउने उनले बताए । तीव्र रूपमा काम अघि बढेकाले तोकिएको निर्धारित समयमै अनलाइन ल्याउने उनले बताए ।

अनलाइन प्रणालीका लागि आवश्यक ‘हार्डवेयर’ नेप्सेले प्राप्त गरिसकेको छ । सम्झौताअनुरूप चरणबद्ध रूपमा गर्नुपर्ने भुक्तानी पनि नेप्सेबाट भएको छ । नेप्सेमा कार्यकारी प्रमुख नहुँदाको अवस्थामा अनलाइन प्रणाली कार्यान्वयन गर्ने सन्दर्भमा केही शिथिलता आएको भए पनि अहिले यो कार्यले गति लिएको साउदले बताए ।

यसैगरी सेयर दलालहरूको कार्यक्षेत्र विस्तारका लागि आवश्यक कानुन निर्माण गर्ने, गैरआवासीय तथा विदेशी लगानीकर्तालाई बजारमा भित्र्याउने, मार्जिन कारोबार सञ्चालनमा ल्याउने, संस्थागत सुशासन र सूचना प्रभावलाई प्रभावकारी बनाउने, वित्तीय साक्षरताका लागि विशेष कार्यक्रम गर्नेलगायत योजना रहेको नेप्सेले जनाएको छ ।

प्रकाशित : कार्तिक २२, २०७४ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?