कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

खाद्य संस्थानले सवा अर्बको धानचामल किन्ने

धानचामल खरिद गर्न १ अर्ब ८ करोड बजेट
व्यवसायीले भन्दा राम्रो मूल्य दिन्छौं : संस्थान
राजु चौधरी

काठमाडौं — खाद्य संस्थानले चालु आर्थिक वर्षमा सवा अर्ब रुपैयाँको धानचामल किन्ने तयारी गरेको छ । कृषकको हक संरक्षण, बजारीकरण र बजार नियन्त्रण गर्न संस्थानले विभिन्न जिल्लाबाट धानचामल किन्न लागेको हो ।

खाद्य संस्थानले सवा अर्बको धानचामल किन्ने

संस्थानका प्रवक्ता शंकर सापकोटाका अनुसार ७४ करोड रुपैयाँको २७ हजार ६ सय टन धान र करिब ३४ करोड रुपैयाँ ७ हजार ५ सय टन चामल खरिद गरिनेछ । पहिलो चरणमा बाँके, बर्दिया, कैलाली र कञ्चनपुरबाट धान खरिद गरिनेछ । धानको समर्थन मूल्य तोक्न जिल्ला कार्यालयमा पत्राचार गरिसकेको सापकोटाले बताए ।

‘चालु आर्थिक वर्षमा २७ हजार ६ सय टन धान किन्ने योजना छ,’ उनले भने, ‘यसका लागि मूल्य तोक्ने प्रक्रिया सुरु गरेका छाैं ।’ संस्थानका अनुसार धानको मूल्य निर्धारण गर्न प्राथमिक खरिद समिति गठन गरिएको छ । समितिका अध्यक्ष सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी हुन्छन् । सदस्यमा कृषि कार्यालय प्रमुख, कृषि कार्यालयले तोकेको कृषक र सम्बन्धित जिल्लाका संस्थान प्रमुख सदस्य सचिव हुन्छन् । टोलीले स्थानीय उत्पादन, बजार मूल्य, कृषि कार्यालयले दिने मूल्य र सीमावर्ती मूल्य विश्लेषण गरेर उचित मूल्य तोक्छ । समितिले किसानलाई मर्का नपर्ने गरी मूल्य निर्धारण गर्ने सापकोटाले दाबी गरे । ‘सबै विश्लेषण गरेर समितिले मूल्य निर्धारण गर्छ,’ उनले भने, ‘व्यवसायीको भन्दा प्रतिक्विन्टल ५० रुपैयाँ बढी नै हुन्छ ।’

समितिले कैलालीमा मूल्य निर्धारण गरिसकेको छ । उक्त क्षेत्रमा प्रतिक्विन्टल गत वर्षजत्तिकै १९ सय ५० रुपैयाँ तोकिएको छ । उक्त मूल्यमा खरिद गर्न नसकेपछि समितिले पुन: मूल्य बढाएर प्रतिक्विन्टल २१ सय रुपैयाँ बनाएको थियो । संस्थानले यस वर्ष कैलालीबाट ४ हजार ५ सय टन धान खरिद गर्ने योजना बनाएको छ । मूल्य निर्धारण भइसकेकाले अब एक–दुई दिनमा खरिद हुने सापकोटाले बताए । संस्थानले बाँकेबाट २ हजार, बर्दियाबाट ३ हजार, कञ्चनपुरबाट ५ सय टन, रूपन्देहीबाट २ हजार टन धान खरिद गर्ने तयारी गरेको छ ।

वीरगन्जबाट ३ हजार, जनकपुरबाट १ हजार ५ सय, लहानबाट ८ हजार, मोरङबाट १ हजार, बिर्तामोडबाट २ हजार र हिमाली जिल्ला जुम्लाबाट १ सय टन किन्ने जनाएको छ । उक्त जिल्लाबाट मोटा, सोना, जिरा, मार्सीलगायत धान खरिद गर्ने जनाएको छ ।

किसानबाट खरिद गरिएको धान संस्थानले चामल बनाएर बिक्री गर्छ । महेन्द्रनगर, बर्दिया र धनुषामा संस्थानको आफ्नै मिल छ । मिल नभएको ठाउँमा ठेक्का दिइन्छ । त्यसपश्चात् संस्थानले धान आवश्यक ठाउँमा बिक्री गरिने जनाएको छ । उक्त चामल कर्णाली, भेरी, सेती, महाकाली, गण्डकी, धौलागिरि, राप्तीलगायत क्षेत्रमा सहुलियत दरमा बिक्री गरिने जनाएको छ ।

संस्थान अघिल्लो वर्ष पनि ४ लाख २० हजार क्विन्टल धान किन्ने प्रतिबद्धता जनाए पनि लक्ष्यको करिब ४५ प्रतिशत मात्रै खरिद गरेको थियो । कृषकलाई प्रोत्साहन र उत्पादन वृद्धि गराउन उद्देश्यसहित चालु आर्थिक वर्षमा उक्त परिमाणमा धान किन्ने योजना थियो । सरकारले केही स्थानमा धानको खरिद मूल्य व्यवसायीभन्दा कम मूल्यांकन गर्दा सरकारलाई बेच्न मानेन । त्यसपश्चात् संस्थानले पुन: मूल्य बढाएको थियो ।

सापकोटाका अनुसार साढे २७ हजार टन धान अपुग भए विभिन्न जिल्लाबाट चामल खरिद गरिन्छ । ‘बंगलादेशबाट आएको अनुदान चामल करिब ५२ हजार क्विन्टल मौज्दात छ । संस्थानको विभिन्न डिपोमा थप १ लाख ३१ क्विन्टल मौज्दात छ,’ सापकोटाले भने, ‘अपुग भए चामल खरिद गर्न ३४ करोड विनियोजन गरेका छौं । टेन्डरमार्फत तत्काल खरिद हुन्छ ।’

प्रकाशित : कार्तिक २३, २०७४ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?