१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

क्वारेन्टाइनमा आधुनिक प्रयोगशाला

कृष्णप्रसाद गौतम

नेपालगन्ज — क्षेत्रीय पशु क्वारेन्टाइन कार्यालयले भन्सारमा आधुनिक प्रयोगशाला स्थापना गरेको छ । क्वारेन्टाइनले नेपालगन्जस्थित चेकपोस्टमा मुलुकमै पहिलोपल्ट प्रयोगशाला सुरु गरेको हो ।

अब व्यवस्थित र आधुनिक तरिकाले परीक्षण गरेपछि मात्र स्वस्थ पशुजन्य उत्पादन नेपाल भित्रनेछन् । यसअघि प्रयोगशाला अभावमा प्राविधिकले सुँघेर, छामेर र हेरेर पशुजन्य सामग्री नेपाल भित्र्याउन अनुमति दिने गरेका थिए । प्रयोगशाला स्थापना भएपछि पशुहरूका रगत, माछाका नमुना, दूध, गोबरलगायत जाँच्न सकिनेछ । वरिष्ठ पशु चिकित्सक डा. शंकर पाण्डेका अनुसार भवनसहित करिब २० लाख रुपैयाँको लगानीमा प्रयोगशाला स्थापना भएको हो ।

सोलारसमेत जडान गरिएकाले जुनसुकै समयमा पनि भारतबाट आउने पशुजन्य सामग्री नेपाल भित्र्याउन सकिने भएको छ । नेपालका अन्य क्वारेन्टाइनमा हालसम्म यस्तो सुविधा नभएको पाण्डेले बताए । कृषि मन्त्रालयअन्तर्गतको उच्च मूल्य कृषि आयोजनाको सहयोगमा भवनसहितको प्रयोगशाला स्थापना गरिएको चेकपोस्टले जनायो । चौमासिक लक्ष्यअनुसार नेपाल भित्रने पशुको नमुना सुर्खेतमा रहेको क्षेत्रीय ल्याबमा लगिन्थ्यो ।

‘हामीले नेपाल भित्रने पशुको अवस्था कस्तो छ भन्नेबारे परीक्षणका लागि चार/चार महिनामा चेकजाँच गर्न सुर्खेत पठाउँथ्यौं,’ उनले भने, ‘उताबाट रिपोर्ट आउन ढिलो हुने र यता व्यवसायीले नाकामा पशु ‘होल्ड’ गर्न नमान्ने समस्या थियो ।’ पाण्डेका अनुसार सुर्खेतबाट रिपोर्ट आउने समयमा त्यो वस्तु उपभोग भइसकेको हुन्थ्यो । जसका कारण स्वस्थ पशु मात्र नेपाल भित्र्याउन लामो समयदेखि समस्या थियो । दूध र माछामा मिसावट हुने तथा पीपीआर संक्रमित बाख्रा नेपाल भित्रने गरे पनि अब समस्याको समाधान हुने पाण्डेले बताए । उनका अनुसार पशुमा रोग भित्रिँदा मानिस र नेपालमा पालन गरिएका पशुमा सर्ने जोखिम कम गर्न प्रयोगशालाको स्थापना गरिएको हो ।

गत वर्षसम्म भारतबाट सबैभन्दा बढी खसीबोका भित्रिने नाका रुपैडिया हो । क्वारेन्टाइनका अनुसार गत वर्षसम्म यो नाका हुँदै आएका खसीबोकाहरू काठमाडौं, पोखरा र पूर्वी सहर पुग्थे । भारतमा सबैभन्दा बढी झाँसी, कल्फी र कानपुरमा खसीबोकाको व्यापार हुन्छ । त्यहाँका व्यापारीले नेपाल भित्र्याउन रुपैडिया र कृष्णनगर नाका प्रयोग गर्दै आइरहेका छन् ।

गत वर्ष नेपालगन्ज नाका हुँदै २ लाख १० हजार ८ सय ६७ वटा खसीबोका नेपाल भित्रिएका थिए । अघिल्लो वर्ष १ लाख ६३ हजार ८ सय खसीबोका नेपाल ल्याइएका थिए । भन्सारका अनुसार माछा, दूधलगायतका पशुजन्य सामग्रीसमेत उल्लेख्य रूपमा यो नाकाबाट भित्रिरहेका छन् । चिकित्सक पाण्डेका अनुसार नेपालगन्ज नाकाबाट वार्षिक करिब २ अर्ब रुपैयाँ बढीका पशुजन्य सामग्री नेपाल भित्रने गरेका छन् । यहाँबाट भित्रिएका पशुजन्य सामग्री प्रदेश ५, ६ र ७ का विभिन्न जिल्ला हुँदै राजधानीसम्म पुग्ने गरेको क्वारेन्टाइन कार्यालयले जनायो । प्रयोगशाला स्थापनापछि क्वारेन्टाइनको कामकाज छिटो, सजिलो र भरपर्दो हुने भएको छ ।

प्रकाशित : कार्तिक २४, २०७४ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?