आर्थिक पत्रकार बने ब्राजिलकै धनी

धनीका कुरा
कान्तिपुर संवाददाता

काठमाडौं — यसै साता धनी र शक्तिशालीहरूले कर छलेको तथा धन लुकाएको खुलासा गरेको प्याराडाइज पेपर्सको सूचीमा रहेका सम्भवत: सबैभन्दा धनी जोर्जे पाउलो लिम्यान हुन् । फोब्र्सको सूचीमा उनी संसारकै २६ औं नम्बर र ब्राजिलको सबभन्दा धनी व्यक्ति हुन् ।

यहाँ प्याराडाइज पेपर्सको सूचीमा लिम्यान कसरी परे भन्ने होइन उनले विश्व अर्थतन्त्रकै उदीयमान शक्ति ब्राजिलको सबैभन्दा धनी बन्ने बाटो कसरी तय गरे भन्ने चर्चा गर्न खोजिएको छ । ब्राजिलमै पनि तुलनात्मक रूपमा कम चिनिने र मिडियाबाट टाढै रहन रुचाउने लिम्यानको व्यावसायिक फड्को भने आकर्षक छ । झन्डै ३५ अर्ब अमेरिकी डलर बराबरको सम्पत्तिका मालिक लिम्यानले वित्तीय क्षेत्रबाट आफ्नो व्यावसायिक साम्राज्य निर्माण गर्न सुरु गरेका हुन् । बडवाइजर, बर्गर किङ, हेन्जजस्ता विश्वप्रसिद्ध ब्रान्डसँग पनि लिम्यानको लगानी जोडिन आइपुग्छ । कतिपय कम्पनीमा लगानीका कारण उनको सम्बन्ध वारेन बफेटसँग पनि जोडिएको छ । 
उनले हावर्ड युनिभर्सिटीबाट १९५८ मा अर्थशास्त्रको डिग्री हासिल गरेका थिए । त्यसताका औंलामा गन्न सकिने ब्राजिली मात्र डिग्रीका लागि अमेरिका धाउँथे । उनले पटकपटक हावर्डकै पढाइले आफूलाई व्यवसायमा जोखिम मोल्न सक्ने बनाएको बताउँदै आएका छन् ।

पढाइ र व्यवसायका साथसाथै खेलकुदमा पनि लिम्यान अब्बल रहेको कमैलाई थाहा छ । टेबिल टेनिसमा उनले डेभिस कप तथा विम्बलडनमा समेत भाग लिएका थिए । टेनिस खेल्दा उनले ब्राजिल र स्विटजरल्यान्डको प्रतिनिधित्व गरेका थिए । स्विस पिताका सन्तान भएकाले उनले दोहोरो नागरिकता पाएका छन् । सर्फिङ उनको दोस्रो रुचिको खेल हो । धेरै प्रसंगमा उनले सर्फिङ र व्यावसायिक वातावरणको उतारचढावलाई तुलना गर्दै यसमा खरो उत्रने रणनीति निर्माणमा सघाउने बताएका छन् । टेनिसमा शिखर चुमेको केही समयपछि नै उनले ब्राजिलको सबैभन्दा पुरानो अखबार जोर्नाल डो ब्रासिलमा आर्थिक पत्रकार ‘रिपोर्टर’ का रूपमा काम गरेका थिए । आर्थिक पत्रकारिताकै क्रममा उनले क्रेडिट स्विसमा बैंकिङ तालिम पनि लिए । यसैबाट उनको दीर्घकालीन महत्त्वको व्यावसायिक रेखा कोरिएको थियो ।

सन् १९७१ मा लिम्यानले बान्को गारान्टिया स्थापना गरे । यो बैंक आम ब्राजिलीमाझ लोकप्रिय बन्यो र प्रतिस्पर्धी अमेरिकी बैंकहरूलाई घर फर्किन बाध्य बनायो । अमेरिकी बैंकहरूकै शैलीमा सञ्चालन गरेर गारान्टियाले उनीहरूलाई व्यावसायिक प्रतिस्पर्धामा पराजित गरेका थिए । 

गारान्टियामा हात परेको व्यावसायिक सफलता, पुँजी र रणनीतिलाई लिम्यान र उनका साझेदारहरूले अरू व्यवसायमा पनि लगाए । यसले ब्राजिलको व्यावसायिक नक्सा नै बदलिदियो । ‘जसरी औद्योगिक क्रान्तिले युरोपको आर्थिक परिदृश्य परिवर्तन भयो त्यसरी नै लिम्यान र उनका साझेदारहरूले ब्राजिलमा उद्यमशील क्रान्ति गरे,’ आईई कर्पोेरेट लर्निङका प्रमुख भेन्डिक सिल्भेरिया भन्छन्, ‘ब्राजिलको व्यावसायिक समयरेखालाई लिम्यान अघि र पछि भनेर छुटयाउन सकिन्छ ।’ यद्यपि हाल गारान्टिया टाट पल्टिइसकेको भए पनि लिम्यान व्यवसायको शिखरमै छन् । गारान्टियाको टाट पल्टाई पनि लिम्यानलाई ठूलो व्यावसायिक पाठ बन्यो । लिम्यानको सफलताको सूत्र सुशासनमा आधारित व्यावसायिक संस्कृति हो । उनले व्यवसाय सुरु गर्दा ब्राजिलको व्यावसायिक जगतमा गुण शासनको सर्वथा अभाव थियो । नातावाद, कृपावाद, सरकारी अनुदान, राज्य संरक्षणमै व्यापार व्यवसाय अडिएको थियो । कर्मचारीले प्राप्त गर्ने बोनसमार्फत कम्पनीकै सेयरमा हिस्सेदार बन्न सकिने उनको नितान्त मौलिक शैलीले उत्पादन, उत्पादकत्व, कारोबार, नाफामा अनपेक्षित उपलब्धि हासिल भएको हो । 

‘लिम्यानले वास्तवमै शक्तिशाली व्यवस्थापकीय शैली ब्राजिलमा भित्र्याएका हुन्,’ सिल्भेरिया भन्छन्, ‘कर्मचारीको प्रतिभा र क्षमतालाई कदर गर्नुपर्छ भनेर ब्राजिललाई सिकाउने उनै हुन् । उनको रोजाइमा गरिब तर क्षमतावान् र प्रतिभावान् हुन्थे ।’ कार्लोस अल्बर्टो सिसुपिरा उनले रोजेको यस्ता गरिब तर प्रतिभावान् व्यक्ति हुन्, जो अहिले ब्राजिलमा लिम्यानपछि दोस्रो धनी व्यक्ति हुन् । उनको सम्पत्ति १३ अर्ब अमेरिकी डलर बराबर छ । आफ्नै मौलिक व्यावसायिक शैलीसँगै उनले विश्वभर सफल व्यवसायको नक्कल पनि गरेका थिए । 

अमेरिकामा चलेको वालमार्टकै सिको गरेर उनले ब्राजिलभर लाजोस अमेरिकानास नामको रिटेल चेन स्थापना गरे । गोल्डमान सास, क्रेडिट स्विसलगायतका ठूला कम्पनीमा कर्मचारीलाई उनले तालिम लिन पठाउने व्यवस्था मिलाएका थिए । 

हाल जिलेट कम्पनीको सञ्चालक समितिमा वारेन बफेट र लिम्यान सदस्य छन् । दुवै एकअर्काका ठूला प्रशंसक हुन् । स्विटजरल्यान्ड, जर्मनी, भारत, चीन र अमेरिकीलाई उनले व्यावसायिक साझेदार बनाएका छन् । उनको निजी होल्डिङ कम्पनीमा रोजर फेडेररजस्ता धनी टेनिस खेलाडी साझेदार बन्न आइपुगेका छन् । व्यापारी, नेता, कलाकार, खेलाडी उनको संगत गर्न रुचाउँछन् । व्यावसायिक जगतमा उनको तरंग जारी छ । 
(एजेन्सीको सहयोगमा)

प्रकाशित : कार्तिक २५, २०७४ ०८:२६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नवीकरणबिना अस्पताल सञ्चालन

पूर्वस्वीकृतिबिना आईसीयू राखेर सञ्चालन गरेको पाइयो : विभाग
अस्पताल चार्जको नाममा सर्वसाधारणबाट थप १३ प्रतिशत रकम असुल्दै
कान्तिपुर संवाददाता

काठमाडौं — खाद्य–किराना पसलसरह अस्पताल तथा औषधि पसल/फार्मेसीहरू पनि नवीकरणबिना सञ्चालन भइरहेका फेला परेको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनमा यस्तो भेटिएको हो ।

अनुगमनका क्रममा सञ्चालन स्वीकृतिभन्दा बढी शय्या राखेको, अस्पताल चार्ज भनेर बढी शुल्क लिएको फेला परेको विभागले जनाएको छ । उपभोक्ता ठगी गर्ने अस्पताललाई कडा कारबाही गरिने विभागका महानिर्देशक कुमार दाहालले बताए । ‘अस्पताल सञ्चालनको नाममा सर्वसाधारणबाट करोडौं रुपैयाँ असुल गरेका छन्,’ उनले भने, ‘सर्वसाधारण ठग्नेलाई उन्मुक्ति हँुदैन । कडा कारबाही हुन्छ ।’ 

विभागले जारी गरेको विज्ञप्तिअनुसार थापाथलीमा रहेको नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेजले स्वीकृति लिएको भन्दा बढी शय्या सञ्चालन गरी अस्पताल नवीकरण पनि गरेको छैन । जसलाई विभागका महानिर्देशक दाहालले पनि पुष्टि गरेका छन् । ‘अस्पताललाई १ सय शय्याको स्वीकृति दिइएको छ । तर, त्यो संख्याभन्दा बढी शय्या भेटियो,’ उनले भने, ‘अस्पताल चार्जका नाममा सर्वसाधारणबाट थप १३ प्रतिशत असुल्ने गरेको पाइयो । यो सरासर भ्रष्टाचार हो ।’ 

विभागका अनुसार अस्पतालले स्वास्थ सेवा शुल्क भनेर ५ प्रतिशत लिन पाइन्छ तर १३ प्रतिशत लिनु कानुनविपरीत हो । अस्पताल सञ्चालकलाई ३ दिनभित्र सम्पूर्ण कागजातसहित उपस्थित हुन निर्देशन दिइएको विभागले जनाएको छ । चाबहिलको ओम हस्पिटल तथा रिसर्च सेन्टरले पनि नवीकरणबिना सञ्चालन गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै अस्पताल परिसरमा रहेको क्यान्टिनमा फोहोर तथा म्याद नाघेका सामानहरू फेला परेको जनाइएको छ । उक्त अस्पताललाई पनि ३ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको विभागले जनाएको छ । यस्तै विभागको टोलीले सुन्धारामा रहेको काठमाडौं भ्याली अस्पतालमा अनुगमन गर्दा उक्त अस्पतालमा पनि सोही प्रकृतिका कैफियत फेला परेको जनाइएको छ । दाहालका अनुसार उक्त अस्पतालले ०६६ सालदेखि बिनानवीकरण सञ्चालन गरेको फेला परेको हो । ती अस्पताल सञ्चालकलाई २४ घण्टाभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको उनले बताए । 

थापाथलीको डेन्डल डायग्नोसिस्ट प्रालिले पनि सामाजिक सुरक्षा कर, स्वास्थ सेवा करको भौचर र कर्मचारीको सम्झौतापत्र देखाउन नसकेको विज्ञप्तिमा जनाइएको छ । उक्त प्रालिले यसअघि दिइएको निर्देशन पनि पालना नगरेको विभागले जनाएको छ । चाबहिलमा रहेको वेस्ट वाई फार्मेसीमा औषधि व्यवस्था विभागको ‘फम्र्याट’ अनुसारको बिल नभएको विभागको दाबी छ । त्यसैगरी लुनिभा हेल्थ केयर/फार्मेसी युनिटमा अनुगमन गर्दा लागू तथा मनोद्विपक औषधिको रेकर्ड दुरुस्त नभएको जनाइएको छ । लेबल नभएका औषधि बिक्री भएको पनि फेला परेको थियो । बिक्री बिल औषधि व्यवस्था विभागको अनुसार छपाई ३ दिनभित्र पेस गर्न निर्देशन दिएको विभागले जनाएको छ । कुपन्डोलमा रहेको सर्वांगीण स्वास्थ्य सदनमा पनि सञ्चालन स्वीकृत र नवीकरण नभएको फेला परेको जनाइएको छ । 

‘मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयको निर्णयअनुसार ०७२ जेठ २५ देखि एक वर्षका लागि हुने गरी निर्णय भएको थियो,’ उनले भने, ‘तर, त्यसपश्चात् नवीकरण भएको छैन ।’ सम्पूर्ण कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिए पनि व्यवसायीले निर्देशन अवज्ञा गर्दै आएको दाहालले बताए । निर्देशन अवज्ञा गर्ने व्यवसायीलाई कालोबजारी ऐनअनुसार कारबाही गरिने दाहालले बताए ।

प्रकाशित : कार्तिक २५, २०७४ ०८:२६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT