१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

नवीकरणबिना अस्पताल सञ्चालन

पूर्वस्वीकृतिबिना आईसीयू राखेर सञ्चालन गरेको पाइयो : विभाग
अस्पताल चार्जको नाममा सर्वसाधारणबाट थप १३ प्रतिशत रकम असुल्दै
कान्तिपुर संवाददाता

काठमाडौं — खाद्य–किराना पसलसरह अस्पताल तथा औषधि पसल/फार्मेसीहरू पनि नवीकरणबिना सञ्चालन भइरहेका फेला परेको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनमा यस्तो भेटिएको हो ।

अनुगमनका क्रममा सञ्चालन स्वीकृतिभन्दा बढी शय्या राखेको, अस्पताल चार्ज भनेर बढी शुल्क लिएको फेला परेको विभागले जनाएको छ । उपभोक्ता ठगी गर्ने अस्पताललाई कडा कारबाही गरिने विभागका महानिर्देशक कुमार दाहालले बताए । ‘अस्पताल सञ्चालनको नाममा सर्वसाधारणबाट करोडौं रुपैयाँ असुल गरेका छन्,’ उनले भने, ‘सर्वसाधारण ठग्नेलाई उन्मुक्ति हँुदैन । कडा कारबाही हुन्छ ।’ 

विभागले जारी गरेको विज्ञप्तिअनुसार थापाथलीमा रहेको नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेजले स्वीकृति लिएको भन्दा बढी शय्या सञ्चालन गरी अस्पताल नवीकरण पनि गरेको छैन । जसलाई विभागका महानिर्देशक दाहालले पनि पुष्टि गरेका छन् । ‘अस्पताललाई १ सय शय्याको स्वीकृति दिइएको छ । तर, त्यो संख्याभन्दा बढी शय्या भेटियो,’ उनले भने, ‘अस्पताल चार्जका नाममा सर्वसाधारणबाट थप १३ प्रतिशत असुल्ने गरेको पाइयो । यो सरासर भ्रष्टाचार हो ।’ 

विभागका अनुसार अस्पतालले स्वास्थ सेवा शुल्क भनेर ५ प्रतिशत लिन पाइन्छ तर १३ प्रतिशत लिनु कानुनविपरीत हो । अस्पताल सञ्चालकलाई ३ दिनभित्र सम्पूर्ण कागजातसहित उपस्थित हुन निर्देशन दिइएको विभागले जनाएको छ । चाबहिलको ओम हस्पिटल तथा रिसर्च सेन्टरले पनि नवीकरणबिना सञ्चालन गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै अस्पताल परिसरमा रहेको क्यान्टिनमा फोहोर तथा म्याद नाघेका सामानहरू फेला परेको जनाइएको छ । उक्त अस्पताललाई पनि ३ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको विभागले जनाएको छ । यस्तै विभागको टोलीले सुन्धारामा रहेको काठमाडौं भ्याली अस्पतालमा अनुगमन गर्दा उक्त अस्पतालमा पनि सोही प्रकृतिका कैफियत फेला परेको जनाइएको छ । दाहालका अनुसार उक्त अस्पतालले ०६६ सालदेखि बिनानवीकरण सञ्चालन गरेको फेला परेको हो । ती अस्पताल सञ्चालकलाई २४ घण्टाभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको उनले बताए । 

थापाथलीको डेन्डल डायग्नोसिस्ट प्रालिले पनि सामाजिक सुरक्षा कर, स्वास्थ सेवा करको भौचर र कर्मचारीको सम्झौतापत्र देखाउन नसकेको विज्ञप्तिमा जनाइएको छ । उक्त प्रालिले यसअघि दिइएको निर्देशन पनि पालना नगरेको विभागले जनाएको छ । चाबहिलमा रहेको वेस्ट वाई फार्मेसीमा औषधि व्यवस्था विभागको ‘फम्र्याट’ अनुसारको बिल नभएको विभागको दाबी छ । त्यसैगरी लुनिभा हेल्थ केयर/फार्मेसी युनिटमा अनुगमन गर्दा लागू तथा मनोद्विपक औषधिको रेकर्ड दुरुस्त नभएको जनाइएको छ । लेबल नभएका औषधि बिक्री भएको पनि फेला परेको थियो । बिक्री बिल औषधि व्यवस्था विभागको अनुसार छपाई ३ दिनभित्र पेस गर्न निर्देशन दिएको विभागले जनाएको छ । कुपन्डोलमा रहेको सर्वांगीण स्वास्थ्य सदनमा पनि सञ्चालन स्वीकृत र नवीकरण नभएको फेला परेको जनाइएको छ । 

‘मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयको निर्णयअनुसार ०७२ जेठ २५ देखि एक वर्षका लागि हुने गरी निर्णय भएको थियो,’ उनले भने, ‘तर, त्यसपश्चात् नवीकरण भएको छैन ।’ सम्पूर्ण कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिए पनि व्यवसायीले निर्देशन अवज्ञा गर्दै आएको दाहालले बताए । निर्देशन अवज्ञा गर्ने व्यवसायीलाई कालोबजारी ऐनअनुसार कारबाही गरिने दाहालले बताए ।

प्रकाशित : कार्तिक २५, २०७४ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?