१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

‘तोकिएको समयअघि नै निर्माण गर’

त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनालाई निर्देशन
आयोजना सरकारको उच्च प्राथमिकतामा
ठेकेदार कम्पनीले ३ सय कामदार परिचालन गरी काममा तीव्रता
भारतबाट विद्युत् आयात गर्नुपर्ने बाध्यता हट्दै
कृष्ण थापा

शान्तिबजार (नुवाकोट) — त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजना तोकिएको समयअघि नै सम्पन्न गर्न उच्चस्तरीय टोलीले निर्देशन दिएको छ । नुवाकोटमा निर्माणाधीन ६० मेगाबाटको उक्त आयोजनालाई समय छोटयाउन ऊर्जा मन्त्रालय र नेपाल प्राधिकरणले निर्देशन दिएका हुन् ।

‘तोकिएको समयअघि नै निर्माण गर’

ऊर्जा सचिव एवं प्राधिकरण सञ्चालक समितिका अध्यक्ष अनुपकुमार उपाध्याय, कार्यकारी निर्देशक कुलमान घिसिङ, ऊर्जा मन्त्रालयका योजना तथा कार्यक्रम महाशाखा प्रमुख प्रवीण अर्याल र उत्पादन निर्देशनालयका निमित्त उप–कार्यकारी निर्देशक हरराज न्यौपानेसहितको टोलीले हालै स्थगलत निरीक्षण गरी अर्को वर्षको हिउँदमा विद्युत् उत्पादन गर्ने गरी काम गर्न ठेकदारलाई निर्देशन दिएका छन् । उनीहरूले आयोजना निरीक्षणस्थलमा भूकम्प र पहिरोले क्षति पुर्‍याएको बाँधस्थलको दायाँ–बायाँ, प्रवेश मार्गमा गएको पहिरोको रोकथाम र सडक मर्मतको जिम्मा पाएको नेपाली सेना र परामर्शदाता कम्पनीबीच छलफल गरेका छन् ।

ती ठाउँमा उनीहरूले काम गरिरहेका छन् । तोकिएको समयभन्दा अगाडि नै निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनी सहमत भएको छ । ‘यो आयोजनालाई सरकारले उच्च प्राथमिकतामा राखेको छ । तोकिएको समयभन्दा अघि नै आयोजना निर्माण सक्नुपर्छ,’ सचिव उपाध्यायले भने, ‘आयोजना निर्माणमा आउने अवरोध र समस्या समाधानका लागि मन्त्रालय र प्राधिकरण सञ्चालक समिति सधैं तत्पर छ ।’ भूकम्प र पहिरोको कारणले प्राधिकरणले ०७६ साल वैशाख १७ सम्म आयोजनाको म्याद थप गरेको हो ।

प्रसारण लाइनसमेत गरी प्रगति ६५ प्रतिशत रहेको आयोजनाले जनाएको छ । चाइना गेजुवा ग्रुप अफ कम्पनी (सीजीजीसी) ठेकेदारलाई समयमा निर्माण स्थल दिन नसक्दा, विद्युत्गृह भूमिगत बनाउने या सतही बनाउने विवाद, क्षमता बढाउने निर्णयलगायतका कारणले आयोजना निर्माणमा ढिलाइ भएको थियो ।

भूकम्पले आयोजनाको निर्माण तालिका प्रभावित बनाए पनि ठेकेदार कम्पनी ३ सय कामदार परिचालन गरी काम गरिरहेको जनाएको छ । कार्यकारी निर्देशक घिसिङले आयोजनाको कामलाई तीव्रता दिन कुनै समस्या नरहेको बताए । ‘चिनियाँ एक्जिम बैंकले ऋणको अवधि थप गरिसकेको छ । सेनाले पनि काम सुरु गरिसकेको छ,’ उनले भने, ‘अर्को वर्षको फेब्रुवरीभित्र विद्युत् उत्पादन गर्ने गरी काम भइरहेको छ ।’

समयमा निर्माण सकिएमा हिउँदमा विद्युत् व्यवस्थापन गर्न भारतबाट बिजुली ल्याउन नपर्ने उनले बताए । उनले लोडसेडिङ गर्नुनपर्ने बताए । आयोजनाले निर्माण गरिहेको त्रिशूली ३ ‘ए’ मातातीर्थ २२० केभी प्रसारण लाइनको १ सय ४२ टावरमध्ये हालसम्म ९१ वटाको जग हालिएको छ ।

प्रकाशित : कार्तिक २५, २०७४ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?