बजारमा म्याद गुज्रेका खाद्य

अनुगमन नहुँदा उपभोक्ता गुणस्तरहीन सामान प्रयोग गर्न बाध्य
बजार अनुगमन छिट्टै सुरु हुने प्रशासनको भनाइ
डिल्लीराम खतिवडा

गाईघाट (उदयपुर) — सदरमुकामलगायत जिल्लाका ग्रामीण बजारमा म्याद गुज्रेका खाद्यवस्तु छयापछयाप्ती भेटिन थालेका छन् । बजार अनुगमन प्रभावकारी हुन नसक्दा उपभोक्ताले अस्वस्थकर र गुणस्तरहीन सामान प्रयोग गर्न बाध्य भएका छन् ।

सदरमुकाम गाईघाटलगायत जिल्लाका ग्रामीण बजारमा ६ महिनायता अनुगमन गरिएको छैन । स्थानीय प्रशासनको ध्यान निर्वाचनमा केन्द्रित भएपछि बजार अनुगमन नहुँदा ग्रामीण बजारमा म्याद गुज्रिएका वस्तुले प्रवेश पाएका हुन् । यसले मूल्य वृद्धि भइरहेको छ । त्यसैगरी ग्रामीण क्षेत्रका बजारमा अखाद्य तेल, दाल र अन्य दैनिक उपभोग्य वस्तुको बिक्री हुँदै आएको छ । सरकारी बेवास्ताका कारण म्याद सकिएका पेय पदार्थ बियर, जुस र अन्य वस्तु खुलेयाम बिक्री भइरहेको उपभोक्ताले बताए ।

चालु आर्थिक वर्षको सुरुदेखि नै बजार अनुगमन हुन नसक्दा यसैको मौका छोपी मूल्य वृद्धिको बहानामा म्याद गुज्रिएका सामानको बिक्री भइरहेको त्रियुगा साउनेका नरमान मगरले बताए । ‘व्यापारीमा बजारमा जस्तोसुकै वस्तु बिक्री गरे पनि हुन्छ भन्ने मान्यताको विकास भइसकेको छ,’ उनले भने, ‘उपभोक्ता जागरुक नहुँदा र सरकारी संयन्त्रले प्रभावकारी काम नगर्दा यस्तो मान्यताले प्राथमिकता पाएको हो ।’ असार र साउन महिना स्थानीय तह र त्यसपछि दसंै, तिहार हाल आएर प्रतिनिधि र प्रदेशसभा निर्वाचनले अनुगमन गर्ने निकायको ध्यान नपुग्दा समस्या भएको उनले बताए । ‘बजारमा बेचिने दैनिक उपभोग्य वस्तु गुणस्तरीय नै छैन,’ मगरले भने । व्यापारीमा धेरै नाफा मात्रै कमाउनुपर्छ भन्ने भावनाको विकासले पनि बजारमा मनोपोली बढेको उनले सुनाए । बर्सेनि बढ्दै गएको मूल्य वृद्धि हाल आएर पनि रोकिएको छैन । वस्तुको सधैं अभाव सिर्जना गरेर व्यापारीले मूल्य वृद्धि गर्ने गरेको चौडण्डीगढी बेल्टार बजारकी सिर्जना परियाले बताइन् । ‘बजारमा मूल्यसूची छैन, कपडा, खाद्यान्य र अन्य दैनिक उपभोग्यवस्तुको मूल्य वृद्धि दैनिक बढ्दै जान्छ,’ उनले भनिन्, ‘तर, बजार अनुगमन गर्ने निकाय मौन छ ।’ बजारमा अखाद्य वस्तुको बिक्री बढिरहँदा स्थानीय प्रसाशनले वास्ता नगरेको उनले दु:खेसो पोखिन् ।

जिल्लाको मुख्य व्यापारिक केन्द्र बेल्टार कटारी बजारमा पनि यस्तो भइरहँदा पनि अनुगमन गर्ने निकाय भने बेखबर बनेको छ । हाल जिल्लाका कटारी, मुर्कुची, बेल्टारलगायतका बजारमा अखाद्य वस्तु मिसिएको तेल, पिठो, दाल र म्याद गुज्रिएका बिस्कुट, चाउचाउलगायतका सामग्रीको खुलेयाम बिक्री हुँदै आएको स्थानीय रमेश कुमालले बताए ।

‘म्याद गुज्रिएका औषधि, खाद्यान्यलगायत दैनिक उपभोग्य वस्तुको खुलेयाम बिक्री भइरहेको छ,’ कटारी नगरपालिकाकी सनुमाया दनुवारले भनिन्, ‘व्यापारीले उपभोक्ताको हितभन्दा नाफालाई पहिलो प्राथमिकता दिन्छन् ।’ सम्बन्धित निकायले अनुगमन नगर्दा व्यापारीमा एकाधिकार गर्ने मनोबल बढेको उनले बताइन् । ‘बजार अनुगमन भएको छैन,’ प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले भने, ‘सहायक प्रमुख जिल्ला अधिकारीको सरुवाका कारणले पनि बजारलाई ध्यान दिन नसकिएको हो ।’ उनले अनुगमन छिट्टै थालिने बताए ।

प्रकाशित : कार्तिक २५, २०७४ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्

अछामको रैथाने प्रविधि लोप हुँदै

मेनुका ढुंगाना

अछाम — आधुनिक प्रविधितर्फको बढ्दो आकर्षण र सुविधाभोगी प्रवृत्तिले अछामको ग्रामीण क्षेत्रको परम्परागत रैथाने प्रविधि लोप हुँदै गएको छ ।

आधुनिक प्रविधितर्फको बढ्दो आकर्षण र सुविधाभोगी प्रवृत्तिले अछामको ग्रामीण क्षेत्रको परम्परागत रैथाने प्रविधि लोप हुँदै गएको छ ।

उखु पेलेर खुदो निकाल्ने, अमिलो पेलेर चुक बनाउने र तोरीबाट तेल निकाल्न प्रयोग गरिने परम्परागत घरेलु मेसिन ‘कोल’ गाउँमा लोप हुँदै गएका छन् । अघिल्लो पुस्तासम्ममा उखु, अमिलो र तोरी पेल्नका लागि गाउँमा निर्विकल्प घरेलु मेसिनका रूपमा रहेको कोल हालका वर्षमा अछामका ग्रामीण क्षेत्रबाट विस्थापित हुँदै गएको छ ।

त्यसैगरी धान कुट्नका लागि प्रयोग हुने ढिकी र ओखल पनि बिरलै देख्न पाइन्छन् । वर्षामा ओढ्ने सेउको ठाउँ अहिले प्लास्टिकले ओगटेको छ । गाउँमा जाँतो प्रयोगकर्ता कोही छैनन् । आधुनिक प्रविधिको विकास हुनुअघि यस क्षेत्रमा दैनिक जीवनयापनका लागि अति आवश्यक परम्परागत साधन तेल पेल्ने कोल, उखु पेल्ने कोल, ढिकी, जाँतो, ओखल र पानीघट्ट लोप हुँदै गइरहेका छन् । करिब तीन दशकअगाडिसम्म निकै चल्तीमा रहेका यी घरेलु मेसिनको प्रयोग बिस्तारै घट्दै गएपछि लोप हुन थालेका हुन् ।

विभिन्न आधुनिक घरेलु मेसिनको प्रयोगपछि अछाममा यी घरेलु मेसिन विस्थापनमा परेको सामाजिक अभियन्ता चन्द्रमणि भाटले बताए ।

घरेलु प्रविधिसँगै यहाँको मौलिक संस्कृति पनि धराशायी बन्दै जान थालेको छ । देउडा संस्कृतिमा ख्याति कमाएको अछामका देउडा भाका, पुतला, भैलो नाच पनि लोपोन्मुख अवस्थामा पुगेको गायिका डिक्रा गाइने बताउँछिन् ।

‘अछामका घरेलु मेसिनहरू हराइसके,’ भाटले भने, ‘हामी को हौं ? हाम्रो सभ्यता के हो ? भन्ने कुराको बोध गराउने यी चिजहरू नै हराएपछि हाम्रो मौलिक संस्कृति र सभ्यता पनि संकटमा परेको छ ।’ स्थानीय स्रोत, साधन एवं स्थानीय सीपबाटै निर्माण गरिने घरेलु प्रविधिबाट यस क्षेत्रको परम्परागत जनजीवन, कला र सामाजिक अवस्थाका विषयमा समेत अध्ययन गर्न सकिने उनले बताए ।

प्रकाशित : कार्तिक २५, २०७४ ०८:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्