संस्थानले धानको मूल्य तोक्यो

कान्तिपुर संवाददाता

गुलरिया — खाद्य संस्थानअन्तर्गत आधुनिक धान चामल कारखाना राजापुरले धानको मूल्य तोकेको छ । संस्थानले मोटो धानको मूल्य १ हजार ९ सय ५० र मकवानपुरको २ हजार २ सय रुपैयाँ निर्धारण गरेको हो ।

 

प्रजिअ अध्यक्षतामा कृषि विकास कार्यालयका प्रमुख, किसान प्रतिनिधि र खाद्य संस्थानका प्रमुख रहेको धान खरिद समितिले उक्त निर्णय गरेको हो । समयमा संस्थानले समर्थन मूल्य कायम नगर्दा किसानले सस्तोमा व्यापारीसँग धान बेच्न बाध्य भएका थिए । किसानको निकै दबाबपछि संस्थानले धानको मूल्य कायम गर्न बाध्य भए पनि चित्तबुझदो नभएको किसानको भनाइ छ । गत वर्षको तुलनामा यस वर्ष मोटो धान ५० रुपैयाँ वृद्धि भएको छ । तर, संस्थानले मकवानपुरको भने बढाएको छैन । 

हरेक वर्ष कात्तिकको पहिलो साता धानको मूल्य कायम गर्नुपर्नेमा केन्द्रको निर्देशन नआएको भन्दै संस्थानले समयमा निर्धारण नगर्दा किसान मर्कामा परेका थिए । प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईको अध्यक्षतामा बसेको बैठकले मोटो र मकवानपुर मध्यम धानको मूल्य तोकेको हो । संस्थानका प्रमुख भोजराज पाण्डेका अनुसार मोटो १ हजार ९ सय ५० र मकवानपुर २ हजार २ सय रुपैयाँ कायम गरिएको छ । गत वर्ष मोटो १ हजार ९ सय ५० र मकवानपुर २ हजार २ सयमा खरिद भएको थियो । कैलाली, बाँके र बर्दियामा संस्थानले एउटै मूल्य कायम गरेको पाण्डेले बताए । ‘बजार भाउभन्दा सय रुपैयाँ बढी छ,’ उनले भने, ‘छिमेकी जिल्ला र यहाँको बजार भाउ मूल्यांकन गरी तोकेको हो ।’ 

धानको मूल्य कायम गरे पनि खरिद प्रक्रिया बुधबारदेखि हुने संस्थानले जनाएको छ । संस्थानले मूल्य कायम गरेपछि व्यवसायीले ५० देखि सय रुपैयाँ बढाउन लागेका छन् । यस वर्ष ३० हजार क्विन्टल धान खरिद गर्न कारखानालाई केन्द्रले निर्देशन दिएको प्रमुख पाण्डेले बताए । किसानले भने लगानीअनुसारको धानको मूल्य नपाएको गुनासो गरेका छन् ।

यस वर्ष राजापुर क्षेत्रको १४ हजार ५ सय हेक्टर क्षेत्रफलमा गत वर्षको तुलनामा करिब ५ प्रतिशत बढी धानको उत्पादन बढेको कृषि विकास कार्यालयले जनाएको छ । यस क्षेत्रबाट बर्सेनि करिब ५ लाख टन धान काठमाडौं, नेपालगन्ज, नारायणघाट, सुर्खेतलगायत सहरमा निकासी हुने गरेको व्यापार संघका पूर्वअध्यक्ष रामकुमार वैश्यले जनाए ।

प्रकाशित : कार्तिक २८, २०७४ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?