२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

चुनावी नारा –‘अबको पालो आर्थिक समृद्धिको’

लीलावल्लभ घिमिरे

विराटनगर — मोरङ ४ बाट कांग्रेसका प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका महेश आचार्य राजनीतिक स्थायित्वसँगै आर्थिक क्रान्तिको पालो आउने बताउँछन् । उनी यति बेला पुँजी पलायनलाई रोक्ने, उत्पानदनलाई बढावा दिने, सुनसरी मोरङ औद्योगिक करिडोरलाई विषेश आर्थिक क्षेत्र बनाउने, रुग्ण उद्योगलाई प्रोत्साहित गर्ने जस्ता चुनावी एजेन्डासाथ मतदातासँग पुग्ने गरेका छन् ।

‘अब धेरै राजनीतिक कुरा गरेर मात्र हुँदैन,’ आर्चायले भने, ‘जबसम्म जनताको आयस्तर बढदैन तबसम्म चेतनाको स्तर पनि बढ्न सक्दैन । त्यसैले अबको पालो आर्थिक क्रान्तिकै हो ।’ कांग्रेसको केन्द्रीय घोषणापत्र तयारी समितिको संयोजकसमेत रहेका आचार्य यसपटक कांग्रेसले आर्थिक एजेन्डालाई तल्लो तहसम्म उठाएको छ । ‘कांग्रेसले पुनर्जागरणको अभियान थालिसकेको छ ।

उद्योग र व्यापारलाई सहजीकरण गर्न एकीकृत उद्योग वाणिज्य मन्त्रालय र एउटा स्वायत्त राष्ट्रिय व्यापार प्राधिकरणको स्थापनालाई हामीले प्रमुखताका साथ उठाएका छौं,’ आर्चायले भने, ‘जिल्लास्तरमा निर्वाचन क्षेत्रअनुसारका आर्थिक एजेन्डा समेट्नसमेत भनेका छौं ।’

औद्योगिक सुरक्षा, पूर्वाधार विकास, नीतिगत स्थायित्व, सुशासन कांग्रेसको प्रमुख एजेन्डा भएको आचार्यको भनाइ छ । स्थिरता, निजी क्षेत्र र मजदुर युनियनहरूसमेतको सहमतिको जगमा औद्योगिक शान्ति स्थापना गरी लगानी आकर्षण गर्ने वातावरण सिर्जना मोरङ सुनसरीमा मात्र नभई देशैभर लागिपर्ने आचार्यले बताए । ‘उद्योग स्थापना गर्न जटिल हुँदै गएको जग्गा प्राप्तिको समस्या समाधान गर्न जग्गा चाक्लाबन्दी, लिज र विशेष आर्थिक क्षेत्रहरूको व्यवस्था गर्ने एजेन्डा कांग्रेसले लिएको उनले बताए । औद्योगिक विकासको मूल उद्देश्य निर्यात प्रवद्र्धन, स्थानीय कच्चा पदार्थको उपयोग र लाभदायी रोजगारी सिर्जना गरिने आचार्यले बताए ।

तराई–मधेसका विभिन्न सीमावर्ती सहर बजारहरूमा विशेष औद्योगिक घोषणा गर्ने । प्रत्येक प्रदेशमा कम्तीमा एक औद्योगिक क्षेत्र तोकी औद्योगिक पूर्वाधारको विकास । निर्यात प्रवद्र्धनका लागि प्रमुख औद्योगिक क्षेत्रहरूभित्रै सुक्खा बन्दरगाहको निर्माण र सञ्चालन । व्यापक निर्यात प्रवाह अभिवृद्धि गर्दै आयात व्यवस्थापनलाई चुस्त बनाइने कांग्रेसको घोषणापत्रमा उल्लेख छ । विराटनगरमा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र, सीप प्रदायक औद्योगिक स्थापना गर्नेजस्ता कुरालाई आचार्यले आफ्ना चुनावी एजेन्डा बनाएका छन् ।

वाम गठबन्धनका तर्फबाट उम्मेदवार भएका माओवादी केन्द्रका नेता अमनलाल मोदी आफ्नो निर्वाचन क्षेत्रमा धेरै उद्योग कलकारखाना पर्ने हुँदा आर्थिक एजेन्डालाई प्रमुखताका साथ चुनावी नारा बनाएको बताउँछन् । उत्पादनमा वृद्धि गर्दै सुनसरी–मोरङ करिडोरमा सरकारको नीतिका कारण बन्द हुनुपरेका उद्योगलाई सञ्चालन, रुग्ण उद्योगहरूलाई प्राथमिकता दिने उनले बताए । ‘स्वदेशमै युवालाई रोजगारी मेरो प्रमुख एजेन्डा हो,’ मोदीले भने, ‘त्यसका लागि औद्योगिक लगानीको वातावरण आवश्यक छ, त्यो स्थायी सरकारले मात्र दिन सक्छ ।’

मोरङ ५ का वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता शिवकुमार मण्डल देशकै सबैभन्दा पहिलो उद्योग विराटनगर जुट मिल सञ्चालनमा ल्याएरै छोड्छु । ‘यो हाम्रो प्रतिष्ठाको विषय हो । यो मिल क्षेत्र नम्बर ५ मै पर्छ । यसलाई जसरी पनि सञ्चालनमा ल्याउनका लागि मैले चुनावमा एजेन्डाकै रूपमा उठाएको छु ।’

कांग्रेस केन्द्रीय सदस्य क्षेत्र नम्बर ५ कै उम्मेदवार अमृत अर्याल औद्योगिक नगरी विराटनगरमा औद्योगिक पार्कदेखि वैदेशिक लगानीसम्मका एजेन्डाका साथ मतदातामाझ गइरहेका छन् । ‘अब धेरै लगानीका ठूला उद्योग मात्र होइन सानासाना घरेलु उद्योगहरूसमेत स्थापना गर्न सक्नुपर्छ,’ उनले भने, ‘यस्ता उद्योगले गाउँगाउँमा पुँजी, रोजगारी र सीप एकैपटक विपन्नको घरघरमा पुग्छ ।’

मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस केन्द्रीय सदस्य शेखर कोइराला र वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका लालबाबु पण्डितका पनि चुनावी एजेन्डाले आर्थिक क्षेत्रलाई समेटेको छ । मोरङका ६ निर्वाचन क्षेत्रमध्ये ४, ५ र ६ नम्बर क्षेत्रमा धेरै उद्योगहरू सञ्चालनमा छन् । उद्योगी र मजदुरसमेत धेरै मतदाताहरू रहेकाले उम्मेदवारहरूले उनीहरूको मत तान्नका लागि धेरै आर्थिक एजेन्डालाई उठाउने गरेका छन् ।

प्रकाशित : कार्तिक २८, २०७४ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?