१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

आर्थिक एकता र सहकार्यमा जोड

दक्षिण एसिया आर्थिक सम्मेलन
कान्तिपुर संवाददाता

काठमाडौं — दक्षिण एसियाली राष्ट्रको आर्थिक समृद्धिका लागि क्षेत्रीय एकता र सहकार्य आवश्यक रहेको विज्ञले बताएका छन् । राजधानीमा मंगलबारदेखि सुरु भएको दसांै दक्षिण एसियाली आर्थिक सम्मेलनको उद्घाटन सत्रमा उनीहरूले यस्तो बताएका हुन् ।

आर्थिक एकता र सहकार्यमा जोड

दक्षिण एसियाली राष्ट्रको आर्थिक समृद्धिका लागि क्षेत्रीय एकता र सहकार्य आवश्यक रहेको विज्ञले बताएका छन् । राजधानीमा मंगलबारदेखि सुरु भएको दसौं दक्षिण एसियाली आर्थिक सम्मेलनको उद्घाटन सत्रमा उनीहरूले यस्तो बताएका हुन् । दक्षिण एसियाली राष्ट्रहरूमा पर्याप्त साधनस्रोत र सम्भावना रहे पनि बलियो क्षेत्रीय एकता र सहकार्य हुन नसक्दा अपेक्षित रूपमा आर्थिक विकास हुन नसकेको उनीहरूको भनाइ छ ।

कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दक्षिण एसियाको आर्थिक समृद्धिका लागि क्षेत्रीय एकता महत्त्वपूर्ण रहेको बताए । यो क्षेत्रको आर्थिक तथा व्यापारिक उन्नतिका लागि पारवहन र भन्सार अवरोध प्रमुख समस्याका रूपमा रहेको उनको भनाइ छ । ‘दक्षिण एसियाली राष्ट्रहरूमा उपलब्ध साधन स्रोतको अधिकतम उपयोग गरी आर्थिक समृद्धि हासिल गर्न सकिन्छ,’ उनले भने, ‘यो क्षेत्रमा आर्थिक वृद्धिको प्रचुर सम्भावना छ, प्राप्त गर्नका लागि सबै सदस्य राष्ट्रहरूबाट सहकार्य जरुरी छ ।’

सार्क क्षेत्रका मुलुकहरूमा जल, स्थल र हवाई पारवहन सम्बन्ध तथा गैरभन्सार अवरोधले आर्थिक सम्बन्धलाई फलदायी बनाउन नसकेको उनको तर्क छ । सार्क क्षेत्र विश्व आर्थिक शक्तिका रूपमा स्थापित हुन सक्ने भन्दै उनले भने, ‘गरिबी र असमानता घटाउनका लागि पनि आर्थिक समृद्धि जरुरी छ ।’ यो क्षेत्रको साझा मुद्दाका रूपमा जलवायु परिवर्तन रहेको उनले औंल्याए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णीम वाग्लेले अन्य छिमेकी राष्ट्रहरूमा राम्रो आर्थिक विकास भए पनि नेपाललगायत केही राष्ट्रले अपेक्षित रूपमा आर्थिक उन्नति गर्न नसकेको बताए । यसकारण दक्षिण एसिया क्षेत्रलाई आर्थिक रूपमा समृद्ध र प्रतिस्पर्धी बनाउन सबै मिलेर अघि बढ्नुपर्ने उनको भनाइ छ । यो क्षेत्रको आर्थिक विकासका लागि व्यापार लागतमा कमी, व्यापारमैत्री वातावरण सिर्जना, सडक, सञ्चारलगायत सुविधा र साधन स्रोतको अधिकतम उपयोग अपरिहार्य रहेको वाग्लेको तर्क छ ।

कार्यक्रममा भुटानका आर्थिक मामिलामन्त्री ल्योन्पो लेके दोर्जीले नेपाल र भुटानमा जलविद्युत्को राम्रो सम्भावना भएकाले दुवै देशले मिलेर सहकार्य गर्न सकिने बताए । ‘सदस्य राष्ट्रमा रहेको प्राकृतिक साधन स्रोतको भरपुर उपयोग गरी यो क्षेत्रमा आर्थिक समृद्धि ल्याउन सकिन्छ,’ उनले भने, ‘यसका लागि आपसी सहयोग र सहकार्य आवश्यक छ ।

मालदिभ्सका आर्थिक विकास राज्यमन्त्री अब्दुल लथिफ मोहम्मदले दक्षिण एसियाली क्षेत्रको सामाजिक आर्थिक र समावेशी विकास क्षेत्रीय एकताबिना सम्भव नभएको बताए । विगतका आर्थिक सम्मेलनहरूबाट त्यसको सुरुवात भइसकेको जनाउँदै उनले भने, ‘दसौं सम्मेलनले आर्थिक सम्भावनाका क्षेत्रहरू भmनै उजागर गर्नेछ ।’

विश्व बजारका लागि दक्षिण एसिया प्रमुख गन्तव्य रहेकाले यसको आधार बलियो बनाउनुपर्ने वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले बताए । समावेशी र दिगो विकास यो क्षेत्रका सबै राष्ट्रहरूको साझा लक्ष्य रहेको जनाउँदै उनले भने, ‘यसका लागि सबै राष्ट्रहरूको संयुक्त प्रयास अपरिहार्य छ ।’

बिहीबारसम्म चल्ने सम्मेलनमा अन्तर क्षेत्रीय व्यापार सम्भाव्यताको खोजी, दिगो विकासका लक्ष्य एवं समावेशी विकास, दक्षिण एसियामा विद्युतीय व्यापार तत्परताको आकलन, अन्तर क्षेत्रीय लगानी सम्भाव्यताको खोजी, व्यापार सहजीकरण, पारवहनलगायत विविध विषयमा छलफल हुनेछ ।

सम्मेलनमा सार्कका वाणिज्य मन्त्रीहरू, योजनाविदहरू, आर्थिक क्षेत्रसँग प्रबुद्ध व्यक्तिहरू तथा दक्षिण एसियाली मुलुकका उच्च पदस्थ सरकारी अधिकारीसहित २ सयभन्दा बढीको सहभागिता छ । राष्ट्रिय योजना आयोग, वाणिज्य मन्त्रालय तथा सावती (साउथ एसिया वाच अन ट्रेड इकोनोमिक्स एन्ड इन्भाइरोनोमेन्ट) को संयुक्त आयोजनामा सम्मेलन आयोजना गरिएको हो ।

प्रकाशित : कार्तिक २९, २०७४ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?