कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साउदीले विदेशी दक्ष कामदार नलिने

होम कार्की

काठमाडौं — नेपाली कामदारको प्रमुख रोजगार गन्तव्यमध्येको एक साउदी अरेबियाले विदेशी दक्ष कामदार नलिने भएको छ । आउँदो जनवरीदेखि लागू हुने उक्त नीतिअनुसार १९ प्रकारका सीप क्षेत्रमा विदेशी नलिने निर्णय त्यहाँको सरकारकाले गरेको हो ।

साउदीले विदेशी दक्ष कामदार नलिने

यो निर्णयबाट तुलनात्मक रूपमा आकर्षक तलब पाउने दक्ष नेपाली कामदारले रोजगार अवसर पाउने छैनन् । कार्यरत दक्ष कामदारले समेत रोजगारी गुमाउने छन् । 

साउदीको श्रम तथा सामाजिक विकास मन्त्रालयका अनुसार एकाउन्टेन्ट, सेक्रेटरी, सेल्सम्यान, एडमिनिस्ट्रेटर, सेल्स म्यानेजर, सेल्स सुपरभाइजर, फाइनन्स म्यानेजर, चिफ एकाउन्टेन्ट, सिनियर एकाउन्टेन्ट, अफिस म्यानेजर, सेल्स एसिस्टेन्ट, एडमिनिस्ट्रेसन म्यानेजर, वेयरहाउस म्यानेजर, फोरकिल्प म्यानेजर, लजिस्टिक सुपरभाइजर र हयुमन रिसोर्स म्यानेजरजस्ता ‘हवाइट कलर जब’ मा विदेशीलाई रोक लगाइएको छ । यसैगरी अफिस ब्वाई, ड्राइभर, रिसेप्सनिस्टको पदमा विदेशी नागरिकलाई काममा लगाउन नपाउने नीति ल्याइएको छ ।

साउदीको अर्थतन्त्र ओरालो लाग्दै गएर बेरोजगारको संख्या बढ्न थालेपछि उक्त निर्णय आएको विज्ञ बताउँछन् । यसअघि साउदीले हरेक कम्पनीमा साउदी नागरिकका लागि कोटा छुटयाए पनि विदेशीलाई बन्देज भने गरेको थिएन ।

बन्देज लगाइएको पदमा कार्यरत कामदारको भिसा आउने जनवरीबाटै नवीकरण नगर्ने साउदीको नीति छ । कम्पनीले हरेक वर्ष कामदारको भिसा नवीकरण गर्नुपर्छ । नवीकरण नभए यी पदमा कार्यरत विदेशी कामदार स्वदेश फिनुपर्ने बाध्यता छ ।

साउदीको यो निर्णयबाट नेपालीको समेत रोजगार खोसिने भएको छ । १९ पदमध्ये नेपालीहरू एकाउन्टेन्ट, सेल्सम्यान, सेल्स सुपरभाइजर, म्यानेजर, अफिस ब्वाई र ड्राइभरका रूपमा धेरैजना कार्यरत छन् । ‘साउदी सरकारको लेबरमा मात्रै विदेशी कामदार ल्याउने योजना देखिन्छ,’ इन्जिनियर धरम केसीले भने, ‘यो निर्णयले विदेशी कामदारको माथिल्लो तहमा हुने रोजगारीको अवसर कटौती हुनेछ ।’

झन्डै दुई दशकदेखि साउदीमा कार्यरत केसीका अनुसार आप्रवासी घटाउने र स्थानीयलाई रोजगार अवसर बढाउने नीति यहाँको सरकारले लिएको छ । साउदीको भिजन २०३० अन्तर्गत आप्रवासी कामदारविहीन मुलुक बनाउने लक्ष्य लिएको जस्तो देखिएको केसीको बुझाइ छ ।

साउदीमा बेरोजगारी बढिरहेको छ । कामदारको बिमा गर्ने सरकारी निकाय गोसोका अनुसार हरेक दिन ३ हजार १ जनाको रोजगार कटौती भइरहेको छ । जसमा करिब १ हजार १ सय स्वदेशी र १९ सय विदेशी पर्छन् । 

साउदी अरबमा ८५ लाख आप्रवासी कामदारहरू कार्यरत थिए । सन् २०१७ को सेप्टेम्बरसम्ममा ३ लाख २ हजार ४ सय ७३ आप्रवासी कामदारको रोजगार कटौती भएर स्वदेश फिरेका थिए । हाल ८२ लाख विदेशी कामदार कार्यरत छन् ।

साउदीले विशेषगरी स्थानीय महिलालाई काम गर्न प्रोत्साहन गरेपछि रोजगारका क्षेत्रलाई फराकिलो बनाएको हो । हालै मात्र महिलालाई गाडी चलाउन पाउने नियम पनि ल्याएको छ । यो वर्ष मात्रै ९ लाख २३ हजार साउदी युवा श्रम बजारमा आएका छन् ।

साउदीमा झन्डै ५ लाख नेपाली कार्यरत छन् । जसको ३० प्रतिशत कामदार बजार, प्रशासनिक र प्राविधिक क्षेत्रमा कार्यरत रहेको अनुमान छ । कडाइका साथ यो नीति लागू गरे यी क्षेत्रमा कार्यरत नेपालीको रोजगारी कटौती हुनेछ ।

प्रकाशित : कार्तिक ३०, २०७४ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?