कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

डुबान क्षेत्रमा बढी धान

लीलावल्लभ घिमिरे

विराटनगर — बाढीले उत्पादन घट्ने अनुमान गरिएको भए पनि यो वर्ष पूर्वका १६ जिल्लामा १० प्रतिशतले धानको उत्पादन वृद्धि हुने क्षेत्रीय कृषि विकास कार्यालयले जनाएको छ ।

‘गत वर्षको तुलनमा केही कम क्षेत्रमा धान बाली लगाइए पनि राम्रोसँग फल लागेका कारण १० प्रतिशतभन्दा बढी वृद्धि हुन्छ,’ क्षेत्रीय कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत राजेन्द्र उप्रेतीले भने, ‘डुबान भएको क्षेत्रमा पहिलाको भन्दा बढी फलेको छ ।’

गत वर्ष पूर्व क्षेत्रमा ४ लाख ४६ हजार हेक्टर जमिनमा धान बाली लगाइएको थियो । त्यसबाट १६ लाख १२ हजार टन धान उत्पादन भएको थियो । अहिले यो क्षेत्रमा २० प्रतिशत धान काट्ने काम भएको छ ।

यो वर्ष खडेरी र अन्य कारणले ४ लाख १० हजार हेक्टरमा मात्र धान बाली लगाइएको उनले बताए । ‘कटान तथा डुबानले खासै असर गरेको देखिएन,’ उप्रेतीले भने, ‘डुबान भएको क्षेत्रमा झन् राम्रो फल लागेको पाएको छ ।’ डुबान तथा कटानका कारण यस क्षेत्रमा २ सय ५ सय हेक्टर जमिनमा लगाएको धानबाली नष्ट भएको थियो ।

डुबानको सबैभन्दा बढी असर सप्तरीमा देखिएको थियो भने सिरहामा खडेरीका कारण ७० प्रतिशत मात्र रोपाइँ भएको थियो । यो जिल्लामा सिँचाइको प्रबन्ध नहुँदा समयमा वर्षा भएन भने रोपाइँ गर्न कठिन हुने गर्छ । यो वर्ष पूर्व क्षेत्रमा धान खेतीयोग्य जमिनमध्ये ८३ प्रतिशतमा रोपाइँ भएको थियो ।
अन्न भण्डारका रूपमा चिनिने तराईका मोरङमा ६५ हजार, सुनसरीमा ५० हजार, झापामा ७७ हजार, सिरहा ४३ हजार र सप्तरी जिल्लामा ६० हजार हेक्टर जमिनमा रोपाइँ भएको थियो । कृषि कार्यालयका अनुसार उच्च पहाडी क्षेत्रमा २४ हजार र मध्य पहाडी क्षेत्रमा ९२ हजार हेक्टर जमिनमा रोपाइँ भएको थियो । वर्षात् राम्रो भएका कारण सबै क्षेत्रमा धान बाली सोचेभन्दा बढी फलेको छ ।

पछिल्लो समय धान खेती मासेर प्लटिङ गर्न थालेपछि तराईको अन्न भण्डार खुम्चिन थालेको हो । मोरङमा मात्रै २५ हजार बिघाभन्दा बढी खेतीयोग्य जमिन प्लटिङ भएको छ । पाँच वर्षअघिबाट यस क्षेत्रमा प्लटिङ हुन थालेको हो ।
मोरङमा १ लाख १६ हजार हेक्टर जमिन खेतीयोग्य छ । विराटनगर, बूढीगंगा, बेलबारी, पथरी, उर्लाबारी, सुन्दर हरैंचा, केराबारी, लेटाङलगायतका क्षेत्रमा व्यावसायिक रूपमा प्लटिङ गरिएको छ । जग्गा प्लटिङले खाद्यान्न उत्पादन घट्न थालेको छ । बस्ती बढदै जाँदा र नयाँ सडक खुल्न थालेपछि जग्गा प्लटिङमा वृद्धि भएको हो ।

रूपन्देहीमा घटयो
बुटवल (कास)– रूपन्देहीमा यो वर्ष उत्पादन घटेको छ । बाढी र डुबानका कारण झन्डै १० प्रतिशत उत्पादन घटेको कृषि विकास कार्यालयले अनुमान गरेको हो ।

बाली विकास अधिकृत विनोद ज्ञवालीले उत्पादकत्व राम्रो भए पनि बाढीका कारण झन्डै ५ सय हेक्टर धानबाली बाँझो हुनु र २ सय हेक्टर क्षेत्र घडेरीमा परिणत हुनुले उत्पादन घटेको बताए । अहिलेसम्म जिल्लाका करिब ९० प्रतिशत किसानले धान स्याहारिसकेका छन् । यो वर्ष करिब ६९ हजार हेक्टर क्षेत्रफलमा धान खेती थियो । यसबाट ३ लाख ४ हजार टन धान उत्पादन भएको छ । गत वर्ष ६९ हजार ६ सय हेक्टरमा लगाइएको धानबालीको उत्पादन ३ लाख ५२ हजार टन भएको थियो ।

समयमा पानी परेको, किसानले मलखाद पाएको र रोग तथा किराको संक्रमणसमेत नभएकाले योपालि धानको उत्पादकत्व भने राम्रो थियो । रूपन्देहीमा प्रतिहेक्टर धानको उत्पादकत्व ५ टन रहेको छ । यहाँ उत्पादित धानमध्ये ५० प्रतिशत बाहिरी जिल्लामा जाने गरेको छ । रूपन्देहीमा अगौटे जात, मध्यम जात र पछौटे जात गरी तीन जातका धानको खेती गरिएको छ । राधा ४, सावित्री, रामधाम र सावा मनसुली हाइब्रिडमा गोरखनाथ, लोकनाथ, मयुर र मनीषा किसानको रोजाइमा परेकाले यसको खेती बढी गरिएको छ ।

जिल्लामा सुख्खा ३, हर्दिनाथ १ मकवानपुर १, रामधाम, सावित्री, लोकतन्त्र, मिथिला, मनीषा, पृथ्वी, सुरज, चाँदनी सोणसावा १, सावा सव १, गोल्डेन मन्सुली, कालानमक धान खेती गर्ने गरिएको छ । पानी र मलको अभावले धान उत्पादन घट्दै गएपछि पछिल्ला वर्ष कम पानी र रूखो जमिनमा फल्ने जातका धान लगाउने लहर चलेको अधिकृत ज्ञवालीले बताए ।

प्रकाशित : कार्तिक ३०, २०७४ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?