कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

संस्थानको चामल एकै महिनामा सकियो

रुकुमपूर्व — नेपाल खाद्य संस्थानले चालु आर्थिक वर्षभरिका लागि भनेर पठाएको चामल एक महिना नपुग्दै सकिएको छ । चालु आर्थिक वर्षभर भनेर संस्थाले पठाएको ५ सय क्विन्टल चामल सकिएको हो । खाद्य संस्थानले रुकुमकोट डिपोमा पठाएको चामल कात्तिकमै सकिएको हो ।

ठेकेदार कम्पनीले गत असोज २८ मा यो आर्थिक वर्षको पहिलो चरणको चामल रुकुमकोट पुर्‍याएको थियो । पटकपटक गरी कात्तिकमा रुकुमकोटमा ५ सय क्विन्टल चामल पुर्‍याइएको थियो । ठेकेदार कम्पनीका एजेन्ट यज्ञप्रकाश मल्लले गत आर्थिक वर्षभन्दा कम चामल खाद्य संस्थाले पठाएको बताए । ‘गत आर्थिक वर्षमा यस क्षेत्रका लागि मात्रै २ हजार क्विन्टल पठाएको थियो,’ उनले भने, ‘ यस वर्ष ५ सय मात्रै पठायो, त्यो पनि एकै महिनामा सकियो ।’ उनका अनुसार गत वर्ष आएको २ हजार क्विन्टल चामल पनि अपुग थियो । अब रुकुमपूर्व छुट्टै जिल्ला बनेको छ । छुट्टै जिल्ला बनेपछि चामलको कोटा बढाउनुपर्नेमा घटाएर पठाएकामा जिल्लाबासी आक्रोशित छन् । ‘यहाँ अब छुट्टै जिल्ला भइसक्यो, तै पनि चामल बढाउनुको सट्टा घटाएर पठाउनु भनेको हामीलाई नपत्याउनु हो,’ सदरमुकाम रुकुमकोटका नलजंग समाल मल्लले भने ।

संस्थानले यस वर्ष उक्त क्षेत्रका लागि बंगलादेशी उसिनेको चामल पठाएको थियो । उक्त चामल सदरमुकाम आसपासका सर्वसाधारणले मात्रै पाएका छन् । प्रति ३० किलोको एउटा बोरालाई ९ सय ५० रुपैयाँमा बिक्री वितरण गर्ने गरिन्छ । एजेन्ट मल्लका अनुसार उक्त चामलको माग धेरै आइरहेको छ । सदरमुकाम, त्यस आसपास र टाढाका सर्वसाधारणको माग अत्यधिक छ । सदरमुकामभन्दा टाढाकाले यस वर्षको एक बोराभन्दा बढी चामल नलिएको उनको भनाइ छ । चामलको माग धेरै भएपछि थप चामल माग गर्ने तयारी भइरहेको छ । एजेन्टका तर्फबाट जिल्ला समन्वय समितिमा निवेदन पेस भएको छ । ‘कम्तीमा पनि २ हजार ५ सय क्विन्टल चामल चाहियो भनेर निवेदन आएको छ,’ जिल्ला समन्वय समितिका प्रमुख गजेन्द्रबहादुर ओलीले भने, ‘खाद्य संस्थानमा चामल मागको सिफारिस समन्वय समितिको बैठकबाट गर्नेछौं ।’

साविकको रुकुम जिल्ला हुँदा खाद्य संस्थानले रुकुमकोट डिपो भनेर चामल पठाउँदै आएको छ ।

प्रकाशित : मंसिर ४, २०७४ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?