३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

विमानस्थल अधुरै

सिमिचौर (गुल्मी) — यहाँ प्रत्येक चुनावका बेला सदरमुकामबाट दक्षिण सिमीचौर डाँडामा निर्माणाधीन विमानस्थलको काम छिटो सक्ने प्रतिबद्धता व्यक्त गरिन्छ । यसपालि पनि उम्मेदवारले उक्त प्रतिबद्धता दोहोर्‍याइरहेका छन् ।

स्थानीय चुनावका बेला राजनीतिक पार्टीले दसैंमा विमान उडने बताएका थिए । अहिले प्रतिनिधि र प्रदेशसभा निर्वाचनको रौनक बढेकै बेला दलहरूले आगामी माघसम्म यहाँबाट उडान भर्ने आश्वासन बाँडिरहेका छन् । जिल्लामा यो चालु ठूला आयोजनामध्येको हो । यहाँका सडक साँघुरा छन् । गाडीमा जोखिमपूर्ण यात्रा गर्नुपर्छ । त्यसैले पनि स्थानीयवासी विमानस्थल निर्माण चाँडो सकियोस् भन्ने कामना गरिरहेका छन् ।

रेसुङंगा नगरपालिका १० का दीपेश अर्याल दलहरूबीच आफू निकटको ठेकेदारलाई जिम्मा दिने लुछाचुँडीका कारण काममा ढिलाइ भइरहेको बताउँछन् । ‘यहाँ जुन दलका नेताले चुनाव जित्छन्, तिनैले आफू निकटको ठेकेदार रोज्छन्,’ उनले भने, ‘बर्सेनि बजेट आइरहेकै सुन्छौं तर काम पटक्कै अगाडि बढ्दैन ।’ अहिले डाँडो सम्याउने काम सकिएको छ । मजदुरले तालजालीमा ढुंगा भरेर किनारमा पर्खाल बनाइरहेका छन् । मैदानको दक्षिणपट्टि अझै ठूलो खाडल रहेको छ ।

नजिकै घर रहेका दिनेश अर्यालले ०३२ देखि विमानस्थल निर्माणको चर्चा सुनेको बताए । लामो समय काम नभएपछि यसको विकल्प खोज्न थालिएको थियो । ‘विकल्प खोज्न थालिएपछि हतारमा शिलान्यास गरियो,’ उनले भने, ‘त्यसपछि दलले आफू निकट निर्माण उपभोक्ता समिति बनाउने होड चलेपछि काम प्रभावित बन्यो ।’ यसपालि जिल्लाका सबै दलले घोषणापत्रमा यसको निर्माणलाई तीव्रता दिने उल्लेख गरेका छन् । विमानस्थलको निर्माण १३ वर्षअघि सुरु भएको हो । ९ करोड रुपैयाँ लागत अनुमानसहित रेसुंगा विमानस्थलको ०६१ मा विस्तृत सर्भे गरी काम थालिएको थियो । निर्माण सुरु गरिए पनि राजनीतिक विवाद, घरजग्गा मुआब्जा र रकम अभावले निर्माणमा ढिलाइ भएको हो ।

समयमै काम सम्पन्न हुन नसक्दा लागत बढेर झन्डै २० करोड रुपैयाँ पुगेको छ । निर्माण समिति अध्यक्ष मधुकृष्ण पन्तका अनुसार अहिलेसम्म झन्डै ११ करोड ७० लाख रुपैयाँ खर्च भइसकेको छ । ८० लाख रुपैयाँ मुआब्जा वितरणमा सकिएको उनले बताए । ‘सुरुमा मुआब्जा विवाद मिलाउन सकिएन,’ उनले भने, ‘त्यसपछि रकम अभावले काम समयमै हुन नसकेको हो ।’ पछिल्लो २ वर्ष लगातार रकम आएकाले अहिले मैदान सम्याउने र पर्खाल लगाउने काम तीव्र गतिमा भइरहेको उनले बताए ।

धावनमार्ग ६ सय १० मिटर लामो रहेको विमानस्थल ७८ रोपनी १० आना क्षेत्रफलमा फैलिएको छ । यहाँ टावर निर्माण, धावनमार्ग कालोपत्रे र भवन निर्माणका लागि कम्तीमा १० करोड रकम आवश्यक रहेको अध्यक्ष पन्तले बताए । विमानस्थल निर्माणका लागि तत्कालीन नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रदीप ज्ञवालीले प्रक्रिया अगाडि बढाएका थिए । सुरुमा बजेट नियमित थियो । स्थानीय समितिले अधिग्रहण गर्नुपर्ने १६ घरपरिवारबाट जग्गा लिन सकेन । पछि जग्गा अधिग्रहण भएपछि रकम आउन बन्दजस्तै भयो । पछिल्ला २ वर्षमा बल्ल तीव्र गतिले काम सुरु भएको समितिले जनाएको छ ।

अहिले जिल्लाको क्षेत्र नम्बर १ का लागि वाम गठबन्धनबाट एमाले सचिव प्रदीप ज्ञवाली र कांग्रेसका चन्द्र भण्डारी प्रतिस्पर्धामा छन् । दुवैले यहाँबाट यसअघि चुनाव जितिसकेका हुन् । क्षेत्र नम्बर २ का लागि वाम गठबन्धनबाट एमालेका गोकर्ण विष्ट र कांग्रेसबाट चन्द्र केसीबीच टक्कर छ । उनीहरूले विमानस्थललगायत जिल्लामा चालु रहेका ठूला आयोजना पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित : मंसिर ४, २०७४ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?